arrow

निर्मल निवास खाली हुँदै, यस्तो छ पूर्वराजाको तयारी 

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
ganendra_ex-king.jpeg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन्।

जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर ज्ञानेन्द्र बुधबार १६ गते बुधबार थाइल्यान्ड जान लागेका हुन् । उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका हुन् । 

दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न पुगेकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेका हुन् । 

रविभवनस्थित लिंकन स्कुलमा माध्यमिक शिक्षा सकेकी कृतिकाले दिदी पूर्णिकासँगै उच्च शिक्षा अध्ययन गर्न चाहेकाले पूर्वराजा ज्ञानेन्द्रले दुवैलाई एउटै कलेजमा भर्ना गराउन लागेका हुन् । 

अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकी छिन् । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगेकी हुन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने भएका छन् । 

पछिल्लो समय धर्मकर्ममा लागेका पारस साउनभर विभिन्न शिवमन्दिर दर्शन गर्न व्यस्त देखिएका छन् । पारस दर्शनका लागि खप्तड जाने तयारीमा रहेका छन् । पारसबाहेकका सपरिवार थाइल्यान्ड जाने भएपछि केही समय निर्मल निवास खाली हुने भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र भदौ २ गते नेपाल फर्कने गरी थाइल्यान्ड जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । भदौ ४ गते आमा रत्नको जन्मोत्सव मनाउने गरी ज्ञानेन्द्र, कोमल र हिमानी नेपाल फर्कन लागेका हुन् । 

नेपाल फर्केको केही दिनपछि पूर्वराजा ज्ञानेन्द्रको पुनः विदेश यात्रा तय हुने भएको छ । नितान्त व्यक्तिगत भ्रमणमा थाइल्यान्ड जान लागेका पूर्वराजा केही राजनीतिक भेटघाट हुन सक्ने सम्भावना रहेको छ ।

नेपालबाट अन्य देशको भ्रमण जाँदा विभिन्न राजनीतिक शंका उब्जने भएकाले अधिकांश समय पूर्वराजा थाइल्यान्ड हुँदै भारतलगायत अन्य मुलुक भ्रमण गर्न थालेका छन् । थाइल्यान्डमा पूर्वराजाको परिवार फ्ल्याटमा बस्ने भएको छ । 

उता १६ वर्ष लागेका पारस पुत्र हृदयन्द्रको जन्मोत्सव थाइल्यान्डमै मनाइएको छ । हृदयन्द्र सोमबारदेखि १६ वर्ष लागेका हुन् । पछिल्लो समय नेपालका विभिन्न स्थानमा भ्रमण गरी नेपाली जनताको मन जित्ने कोसिस गरिरहेका पूर्वराजाको अबको भ्रमण विदेशको हुने भएको छ ।

पछिल्लो समय देश दौहाडमा लागेका ज्ञानेन्द्रले आफू निकटका दललाई एकीकृत बनाउने तयारीमा रहेका उनी पछिल्लो समय भारतको साथ लिएर अघि बढ्ने तयारी गरिरहेका छन् । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ