arrow

प्रतिपक्षीबिना चल्यो संसद, सभामुखले 'घुसपैठ गरे'पछि कांग्रेस सांसदहरुको सिरिङ्गो तातियो 

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
sabhamukh.JPG

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा विहिबार गृहमन्त्रीसँगको प्रश्नोत्तरकाबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोल्न दिएपछि विपक्षी दल कांग्रेसका सांसदले बैठक बहिस्कार गरे । 

सभामुखले कार्यसूची विपरित परराष्ट्रमन्त्रीलाई बोल्न दिएर घुसपैठ गरेको कांग्रेस सांसदहरुको आरोप छ।गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न कांग्रेस सांसदहरुले माग गरे । त्यसको ठीक विपरीत सभामुख महराले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय उपलब्ध गराए । कांग्रेस सांसदहरु जंगिए । र, उठे । ज्ञवालीले आफ्नो विदेश भ्रमणबारेमा सदनलाई जानकारी गराएसँगै सभामुख कृष्णबहादुर महराले उठिरहेका कांग्रेस सांसदहरुलाई बस्न अनुरोध गरे । 

त्यो बेला उनले अर्को दिन प्रश्न गर्ने समय दिने आश्वासन दिँदै बसेर संसदको काम कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरे । कांग्रेस सांसदहरुले सभामुखको आग्रह मानेनन् । सभामुख महरा के कम ? विरोधकैबीच संसद बैठक अगाडि बढाए । त्यहीबीचमा उनले प्रतिनिधिसभाको विषयगत समितिमा रहने सांसदहरुको नाम पढेर सुनाए । कांग्रेस सांसदहरु बसेको स्थानबाट उठिरहेकै थिए । सभामुख महराले नाम पढेर सक्काए र समितिका सदस्यहरुको नाम मनोनयनको लागि प्रस्ताव गरे । कांग्रेस सांसदलाई बस्न फेरि आग्रह गरे, उनीहरु बसेनन् । संसदको कारबाही बने उनले अघि बढाईरहे । लगत्तै अर्थमन्त्री युवराज खतिवडालाई बीमा विधेयक पेश गर्न आग्रह गरे ।

कांग्रेस सांसदहरुको सिरिङ्गो तातियो । उनीहरुले आफूहरुलाई समय नदिएको र एकलौटी ढंगले सदन सञ्चालन गरेको भन्दै बैठक बहिस्कार गरे । सदन छाडेर बाहिरिए । कांग्रेस बैठकबाट बाहिरिए पनि बैठकमा रहेका सत्तापक्ष र प्रतिपक्षी राजपा र अन्य स्वतन्त्र सांसदले बीमा विधेयकको लागि सैद्धान्तिक छलफल गर्न अनुमति दिए ।अर्थमन्त्री खतिवडाले बीमा विधेयकमाथि छलफलको लागि प्रस्ताव गरे । तर, छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । पछि, सभामुख महराले बैठक शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए । 

कुरा के हो ?
कांगेसले प्रतिनिधिसभा नियामावली २१९ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ भन्दै सभामुख कृष्णबहादुर महरासमक्ष बारम्बार माग गरे । तर, सभामुख महराले विशेष समय र शून्य समयमा उठेका सवालका उत्तर मात्रै मन्त्रीले दिने भन्दै बैठक अगाडि बढाए । 

उनले भने, ‘नियमावालीको नियम १५ अनुसार मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था छैन । कांग्रेस सांसदलाई बस्न आग्रह गर्दछु । अर्को बैठकमा बोल्ने समय दिन्छु आजको बैठक अघि बढ्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ