arrow

नेपालका कवितामा श्रीमती र ड्राइभर

logo
शर्मिला पाठक,
प्रकाशित २०७५ साउन १७ बिहिबार

काठमाडौँ ।
उनी नहुँदा कोठामा
हावा पनि निसास्सिएर चल्छ
एलइडीको उज्यालो पनि अँध्यारो अँध्यारो बल्छ
ड्रेसिङ टेबुलको अडेसो लागेर
ऐना उदासी लयमा मलाई हेर्छ
माहुरीले रानोलाई झैँ
उनको अनुपस्थितिले मलाई घेर्छ
र कोठा फगत कोठामा खुम्चिन्छ
श्रीमतीजी साथै हुँदा
केही लेख्नुपर्‍यो भनेर म कलम लिएर बसेँ
पछि उनी माइत गएपछि केही पनि लेखिँदैन
त्यसो हो र, लेख्नै सकिँदैन । (श्रीमतीजी माइत गएपछि)

कवि गोविन्द नेपालले आज आफ्नी पत्नी माइत गएको वेदना पोखेर नारीशक्तिलाई छर्लङ्गै उजागर गरिदिए । स्रोताले पहिलो कवितामै वाहवाह गरेपछि यी पुराना कवि झन् झन् हौसिएर ‘सखी फर्कने दिन’ निकै फर्‍याकफुरुक गरिरहे । सांस्कृतिक संस्थानले पाँच महिनादेखि गर्दै आएको एकल कविता वाचनअन्तर्गत आज पाँचौँ संस्करणमा नेपाललाई प्रस्तुत गरेको थियो ।

नेपालले ‘आगो’, ‘किस्ने, तिम्रो माया र बाडुली, दुकन्दार, कविता र उद्देश्य, शहर, साहिँलादाइ र लोकल बस, खोला र गीत, भेल, नदी र समुद्र तथा शब्द चित्रमा एक सूर्तीसेवी शीर्षकका कविता वाचन गरे । उनलाई किशोर पहाडी, श्रवण मुकारुङ, श्याम रिमाल, छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय, प्रकाश गफाडीले वाचनमा सहयोग गर्नुभएको थियो । उनका कवितामा नारीसँगको सहकार्य, श्रमको सम्मान, मानिसका वेदना, सहज जीवनयापन, जिन्दगीप्रतिको न्याय जस्ता विषय आएका थिए । पछिल्लो समय इन्टरनेटको दुरुपयोग र मोह जस्तो समयसापेक्ष विषय पनि कवितामा आएको छ जसमा स्टयाटस लाइक गरेकी पत्नीले आफ्नो निधारमा ठोकेको कुरालाई व्यङ्ग्यात्मक रुपमा उनले प्रस्तुत गरे ।

विसं २०२६ मा सिन्धुपाल्चोकमा जन्मिएका नेपाल हाल जोरपाटीमा बस्छन् । उनका ‘अक्षर लेख्ने आँगनमा’ कवितासङ्ग्रह, ‘ढुङ्गाको मन’ गजलसङ्ग्रह र फुटकर रुपमा निबन्ध प्रकाशित छन् ।

वाचित कवितामाथि समीक्षा गर्ने क्रममा वासुदेव अधिकारीले नेपालका प्रत्येक कविता सामाजिक संवेदना र दिनदिनै भोगिएका विषय आएको बताउँदै कविको पाठकलाई पनि सँगसँगै लिएर जाने क्षमताको प्रशंसा गरे । भाषा वैज्ञानिक प्रा डा माधवप्रसाद पोखरेलले साना साना विषयलाई कविता बनाउन सक्ने नेपालको खुबीको प्रशंसा गरे।

संस्थानका महाप्रबन्धक राजेश थापाले गत वैशाखदेखि महिनादेखि संस्थानमा एकल कविता वाचन, वाद्यवादन, गायन र कविता¬–नाटक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ