arrow

दुर्भाग्य ! हात–हातमा बेचिन्छन्, नेपाली महिला

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
human-trafficking1.jpeg

बाँके । बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।

दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन । रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंगालीको कोठाबाट अरबीले उनलाई लैजादा १ हजार ५ सय केडी अर्थात सात लाख ८० हजार रुपैया गनेर दिएको थियो ।

एक जना नेपाली महिला खाडीमा पुग्दा कति ठाउँमा बिक्री हुँदोरहे छ भन्ने यो एउटा उदाहरणमात्र हो । गत माघ ११ गते नेपालगञ्ज हुँदै दिल्ली जाने बसमा गएकी रामकली १२ गते दिल्ली पुगेकी थिइन् । उनी त्यही दिन दिल्लीबाट दुबई उडिन । दिल्ली एयरपोर्टसम्म रामकलीलाई पु¥याउन श्रीमान समेत गएका थिए ।

दुबईमा तीन घण्टा रोकिएपछि जहाज कुवेत पुग्यो । कुवेतमा रामकलीलाई ६ दिनपछि एक जोडी अरबी आएर किनेर लग्यो । दलालले रामकलीलाई घरमा काम गर्ने हो । झाडु, पोछा, खाना पकाउने, बच्चा हेर्नुपर्छ भनेका थिए । 

त्यसवापत उनलाई मासिक ५० हजार नेपाली मिल्छ भनिएको थियो । अरबीले घरमा लगेपछि ‘आठ लाखमा किनेर ल्याएको हो, जे भन्छु त्यही गर’ भन्दै कुटपिट र हिंसा गर्न थाल्यो ।

६ दिनपछि रामकली त्यो घरबाट भागेर बंगालीको कोठामा आइन् । नराम्रो काम परेको गुनासो गरिन् । त्यसपछि बंगाली एजेन्टले अर्को घरमा काम गर्न पठायो । त्यो घरमा तीन दिन बस्दा पनि त्यस्तै हिंसा भयो ।

त्यहाँबाट पनि भागेर पुनः त्यही आइन् । बंगाली एजेन्टले फेरि अर्को घरमा पठायो । त्यो घरमा सात दिन बस्दा पनि रामकलीमाथि हिंसाले निरन्तरता पायो । यो घरका साहुले त एकतलाबाट तल फालिदिए ।

तेस्रो घरबाट पनि भागेर आएपछि रामकलीलाई बंगाली एजेन्टले चौथो घरमा काम गर्न पठायो । एवं रीतले रामकलीले सात महिना कुवेतमा बस्दा ६ वटा घर चाहारिन् ।

शुरुका तीन वटा घरमा नराम्रो काममा परेपछि उनले घरमा श्रीमानलाई फोन गरेर ‘उद्धार’ गर्न भनेकी थिइन् । श्रीमानले पनि स्थानीय दलालमार्फत उद्धारको प्रक्रिया अघि बढाएका थिए ।

रामकलीले कुवेतमा सात महिना काम गरिन् । तीन महिनाको मात्रै तलव पाइन् । त्यो पनि २७ हजार पाँच सयको दरले । दुःख सहेर पनि उनले ९० हजार रुपैया घरमा पठाइन् ।

रामकलीका श्रीमानले २०७५ बैशाख २४ गते केआई नेपालमा उद्धारका लागि निवेदन दिएका थिए । त्यही निवेदनलाई आधार मानेर केआई नेपालले परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित नेपाली दुताबाससँग समन्वय गरेर रामकलीलाई नेपाल झिकाएको छ ।

साउन ७ गते काठमाडौं आइपुगेकी रामकलीलाई लिन श्रीमान पनि एयरपोर्टमा पुगेका थिए । ३४ हजार साथमा लिएर आएकी रामकली र श्रीमान त्यो दिन काठमाडौंकै एक होटलमा बसे ।

रामकलीसँग भएको पैसाले घरमा पंखा हाल्नेदेखि श्रीमानका जेठी श्रीमतीतर्फका छोराछोरीलाई कपडा किनियो । पैसा सकियो । पैसा सकिएपछि श्रीमानले रामकलीलाई ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ भनेर कुटपिट गर्न थाले । एक ठाउँमा सुत्न पनि छोडे ।

विदेशमा दुःख पाएर आएकी रामकलीलाई यतिबेला घरपरिवारले पनि कष्ट थपिदिएको छ । स्थानीयदेखि काठमाडौंका दलालविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाएकी रामकलीलाई घरपरिवारले उल्टै पीडा थपिदिएको छ । ‘अब म श्रीमानसँग सम्बन्ध बिच्छेद गर्छु र दलाललाई कारबाही गराउँछु, रामकलीले भनिन् । 

रामकलीको पनि दोस्रो विवाह हो । उनका पहिलाका पतिबाट पाँच सन्तान छन् । दोस्रो विवाह गरेको साढे पाँच वर्ष भएपनि बच्चा भइसकेको छैन । रामकलीलाई काठमाडौंको दलालसमक्ष पु¥याउने दलबहादुर श्रीमानका आफन्त नै हुन् । आफन्तलाई बचाउन श्रीमान लागेका छन् । केआई नेपालको सहयोगमा यतिबेला रामकली दलाललाई कारबाही गराउन लागि परेकी छन् । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ