arrow

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी 

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २२ मंगलबार
83.jpg

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरी सुरु गरेको छ । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको तिलोत्तमाले वडा नं. ७ स्थित सेमरा बजार माविबाट विद्युतीय हाजिरी सुरु गरेको हो । 

विद्युतीय हाजिरी मेसिन क्रमशः सबै सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याउने नगरपालिकाको योजना छ । शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने उद्देश्यका साथ विद्यालयमा हाजिरीको आधुनिक प्रविधि अपनाइएको नगरपालिकाले जनाएको छ । 

विद्युतीय हाजिरी मेसिन सुभारम्भ कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हाजिरीलाई प्रविधिमैत्री बनाउन यस प्रकारको कार्यक्रम अघि सारिएको बताए । 

सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले विभिन्न योजना अघि सारेको बताउँदै नगर प्रमुख घिमिरेले विद्यालयहरु प्रविधिमैत्री हुँदा काम छिटो छरितो हुने उल्लेख गरे । 

उनले आगामी दिनमा शिक्षण सिकाई क्रियाकालपलाई समेत प्रविधिमैत्री बनाउने योजना नगरपालिकाको रहेको जानकारी समेत दिए । गुणस्तर सुधारले मात्र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले हाजिरी मेसिनको सदुपयोग गर्न र गुणस्तरीय शिक्षामा अनुकरणीय बन्न बिद्यालय परिवारलाई आग्रह गरे  । 

यस्तै नगर उप—प्रमुख जागेश्वरी चौधरीले समग्र शिक्षाको सुधार अभियानमा विद्युतीय हाजिरी एउटा सुरुवात भएको उल्लेख गरे । यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख हरि ज्ञवालीले विद्युतीय हाजिरी मेसिनको महत्वका बारेमा प्रकाश गर्दै यसको प्रयोगले शैक्षिक सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।  

विद्यालयका प्रधानाध्यापक खेमराज पाण्डेले विद्यालयका गतिविधि तथा वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै नगरपालिकाको सोंचअनुसार विद्युतीय हाजिरी मेसिनको बहुआयामिक प्रयोग गरिने बताए । कार्यक्रममा नगर प्रवक्ता सुरेन्द्र श्री, विद्यालय निरीक्षक सुदीप गिरी, सेमरा बजार मावि बिद्यालयका अध्यक्ष शंकर गुरुङ, आईटी अधिकृत सुदिप ढकाललगायतले बोलेका थिए । 

यो वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्ष भित्र नगरका सबै सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयका स्तरमा पु¥याउने लक्ष्य लिएको छ । यहीँ लक्ष्यअनुसार नगरपालिकाले बालविकास कक्षामा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई दिवा खाजा दिने अभियान सुरू गरेको छ । 

यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन टिफिनकारी समेत वितरण गरेको छ । नगर प्रमुख घिमिरेले आफूले प्राप्त हुने पारिश्रमिक रकम पनि छात्रवृत्तिमा लगाएका छन् । चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ