arrow

शंकाको घेरामा पर्‍यो ‘इन्काउन्टर’

logo
प्रकाशित २०७५ साउन २३ बुधबार
encounter.jpg

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले पेसेवर गुन्डाबाहेक गरेका दुईटा ‘इन्काउन्टर’ विवादित बनेका छन्। २०७४ साउन २३ मा ललितपुरको कुसुन्तीमा लागूऔषधको कुलतमा फसेका युवक प्रवीण खत्री र यही साउन २१ (सोमबार) गते भक्तपुरमा बालक अपहरणपछि हत्या गरी भाग्दै गरेका दुईजनामाथि गरिएको ‘इन्काउन्टर’ विवादमा परेको छ।

भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर प्रहरीले आफू ‘पपुलर’ हुन मात्रै गरेको देखिन्छ । 

आइतबार साँझदेखि अपहरणमा परेका बालक खड्कालाई प्रहरीले सकुशल अपहरणमुक्त गर्न सकेन । प्रहरीले बालकको अपहरणपछि हत्या गर्नेलाई पक्राउ गरी सूर्यविनायकको जंगलमा लगेर गोली हान्यो र त्यसलाई ‘इन्काउन्टर’ भनिदियो।

तामाङद्वय डेरा गरी बसेको भक्तपुरको ठिमीस्थित घरमा सोमबार बिहान ९ बजेतिर पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुकै सहयोगमा बालकको शब बरामद गरेको थियो।

‘तीनवटा गाडीमा सादा पोसाकमा आएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । यहाँबाट ११ बजेतिर प्रहरी कार्यालयमा लगेका हुन’, गोपालका घरधनी श्याम लबटले भने । उनका अनुसार १०–१५ जनाको संख्यामा आएका प्रहरीले उनीहरुलाई समातेर लगेका थिए । १० बजेतिर प्रहरीले बालकको शव गाडेको अवस्थामा बरामद गरेको थियो।

 नेपाल प्रहरीले पछिल्ला वर्षमा ‘मुम्बई इन्काउन्टर’ (गुन्डालाई जहाँ देख्यो त्यहीं गोली हानेर मार्ने) जस्तै गर्न खोजिरहेको छ । भारतमा प्रहरीले पेसेवर गुन्डालाई मात्र सफाया गर्न इन्काउन्टर अभियान चलाउँदै आएको छ । तर नेपालमा पेसेवर गुन्डालाई मात्र इन्काउन्टर गरिएको छैन।

अपराध महाशाखाले बालकको शव बरामद र अपहरणकारी नियन्त्रणमा लिएको जानकारी पाएपछि खोजीमा काठमाडौं परिसरबाट खटिएका प्रहरीलाई फिर्ता हुन महानगरीय प्रहरी आयुक्तको कार्यालयले आदेश दिएको थियो।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा दिउँसो १२ः३० मा बालकको शव भेटिएको र १ः२० मा अपहरणकारी प्रहरीमाथि आइलागेका कारण इन्काउन्टर भएको उल्लेख छ । 

स्थानीय बासिन्दा तथा गोपालका घरधनीको दावीलाई आधार मान्ने हो भने प्रहरीको यो दाबी पत्यारिलो छैन । अपहरणकारी फेला नपरेको समयमा त्यस इलाकामा प्रहरीले कसैलाई पनि घरबाट निस्कन दिएको थिएन । 

अपहरणकारीकारीलाई नियन्त्रणमा लिएपछि प्रहरीले बालक खड्काको शव बरामद गरेकाले पनि उनीहरु सूर्यविनायकको जंगलमा आफैं गए भन्ने प्रहरीको भनाइमा दम देखिँदैन।

एक वर्षअघि ललितपुरको कुसुन्तीमा खत्रीमाथि प्रहरीले एकाएक गोली चलाएको थियो । उक्त घटना इन्काउन्टर थियो वा सुनियोजित भन्ने पुष्टि अझै हुन सकेको छैन । त्यो घटना देख्ने प्रहरीबाहेक अरु कोही पनि थिएन । 

तर तामाङद्वयको हक भने फरक छ । गोपालका घरधनी र स्थानीय बासिन्दाहरुले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । तामाद्वयको डेरा घर र बालकको शव भेटिएको घर ९लबटकै निर्माणाधीन० ५ मिनेटको दुरीमा पर्छ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरीका अनुसार कतिपय सन्दर्भमा यस्ता घटनाले प्रहरीको विश्वसनीयतामाथि प्रश्नचिह्न उठ्ने गरेको बताउँछन् ।

 ‘इन्काउन्टर भन्नेबित्तिकै दोहोरो मुठभेड वा जम्काभेटमा दुवैतर्फको भिडन्त भन्ने बुझिन्छ तर पछिल्ला घट्नाक्रमले प्रहरी ‘फेक इन्काउन्टर’ तर्फ जान थाल्यो भन्ने प्रश्न उठेको छ , यो दूभाग्यपूर्ण हो’, ठकुरीले भने, ‘तत्कालको घट्नाक्रममा सही जस्तो देखिएला तर यसलाई पछिसम्म सही मान्न सकिँदैन।’

उनका अनुसार प्रहरीले अब इन्काउन्टरको ‘क्लियर भिजन’ दिनुपर्नेछ । प्रमाण नष्ट गर्नेतर्फभन्दा अपराधीलाई कानुनी दायरामा ल्याउनु नै प्रहरीको पहिलो कर्तव्य भएको उनको भनाइ छ । ‘कहिलेकाहीं प्रहरी र अपराधीबीच साँच्चिकै जम्काभेट भयो, मुठभेड भयो भने पनि सर्वसाधारणले त्यसलाई फेक इन्काउन्टर भन्ने छन् । यस्तो बेला प्रहरी संगठनको मात्र होइन सरकारकै विश्वसनीयतामाथि प्रश्न उठ्छ’, उनले भने । उनका अनुसार यस्तो बेला पीडिततर्फबाट हेर्दा ठिक भएजस्ता देखिए पनि यसले कालान्तरमा प्रहरी संगठनलाई नै कमजोर बनाउनेछ।

भदौ १ देखि लागू गर्ने भनिएको फौजदारी संहितामा अपहरण तथा शरीर बन्धकको कसुर ठहरे १५ वर्ष कैद र डेढ लाख रुपैयाँसम्म जरिवाना तथा अपहृतको हत्या गरेको प्रमाणित भए सर्वस्वसहित जन्मकैद हुने व्यवस्था गरिएको छ । 

तामाङद्वयलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउँदा नयाँ कानुन लागू हुन्थ्यो । सोही कानुनअनुसार अपहरणकारीले पीडित पक्षलाई क्षतिपूर्ति पनि दिनुपथ्र्यो।

इन्काउन्टर किन
प्रहरीले तराईमा भूमिगत समूहले चलाएको द्वन्द्व तथा माओवादी सशस्त्र द्वन्द्वका बेला ‘मिस्टर जोन’ लाई इन्काउन्टर गरेको थियो । मुलुकभर मिस्टर जोनका कारण १६ जनाको ज्यान गएको भन्दै रौतहट प्रहरीले उनको इन्काउन्टर गरेको थियो । त्यसपछि तराईमा प्रहरीले कुनै न कुनै बहानामा इन्काउन्टर गरिरह्यो।

काठमाडौं उपत्यकामा भने २०७१ साउन २१ देखि इन्काउन्टर सुरु भयो । गुण्डाविरुद्धको अप्रेसनमा अपराध महाशखाका तत्कालीन प्रमुख एवं हालका डिआइजी पुस्कर कार्कीले गुण्डाविरुद्ध इन्काउन्टर गर्नुपर्छ भन्दै सुरुवात गरेका हुन् । 

काठमाडौंमा राजनीतिक संरक्षणमा संगठित अपराधमा लागेकालाई ‘सफाया’ गर्ने उद्देश्यले प्रहरीले सुरुमा दिनेश अधिकारी (चरी) लाई भीमढुंगामा इन्काउन्टर गरेको थियो । दोस्रो इन्काउन्टरमा अर्का गुन्डानाइके कुमार घैंटेलाई सामाखुसीमा गोली हानेर मारियो।

उनी ३ भदौ २०७२ मा महाशाखाको कारबाहीमा मारिएका थिए । हालका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले त्यसको नेतृत्व गरेका थिए । 

प्रहरीको दाबी चरीकै इन्काउन्टरमा जस्तै थियो– प्रहरीमाथि आक्रमण गरेकाले सुरक्षाका लागि जवाफी गोली चलाउँदा उनी मारिए । घैंटेको इन्काउन्टरमा प्रत्यक्षदर्शी पनि थिए । सो इन्काउन्टर अन्य २ जना घाइते पनि भए । प्रहरीले सार्वजनिक गरेको विवरण, घटनास्थलको प्रकृति र प्रत्यक्षदर्शीको भनाइले घैंटे इन्काउन्टरमा प्रहरीको दाबी कमजोर बनेको थियो।

राज्यकै मौन स्वीकृतिमा चरी र घैंटेको इन्काउन्टर भएको थियो तर २३ साउन २०७४ मा खत्रीमाथि भएको इन्काउटरको विषयमा भने प्रहरीको ठूलै कमजोरी देखियो । खत्रीको पृष्ठभूमि र अवस्था हेर्दा उनी चल्तीका लागूऔषध तस्कर थिएनन् । उनी दुर्व्यवहारमात्रै थिए । उनी आफैंले पेस्तोल दागेर आत्महत्या गरे वा प्रहरीको पेस्तोल लागेर मरे भन्ने अझै स्पष्ट हुन सकेको छैन । उनलाई गोली हानेर मार्नुपर्ने अवस्था नभएको विभिन्न तथ्यले देखाउँछ तर प्रहरी यसबारे बोल्न चाहन्न।

अपराध महाशाखाले २०७४ माघ १५ गते पनि चोरीडैकतीका नाइके टीकाबहादुर मगर भन्ने टिके डनलाई इन्काउन्टर गरेको थियो । तर त्यतिबेला उनी बाँच्न सफल भए । त्यस्तै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न भएको आरोप लागेका मनोज पुन पनि प्रहरी इन्काउटरमै मारिएका थिए । प्रहरीका अनुसार पुनसँगको इन्काउन्टरमा १२ राउन्ड गोली खर्च भएको थियो।

नेपाल प्रहरीले पछिल्ला वर्षमा ‘मुम्बई इन्काउन्टर (गुन्डालाई जहाँ देख्यो त्यहीं गोली हानेर मार्ने)’ जस्तै गर्न खोजिरहेको छ । मुम्बई इन्काउन्टरको प्रारम्भ नेताको संरक्षणमा कानुनको छिद्र प्रयोग गरेर सुरक्षित रहेका गुन्डालाई कानुनको त्यही कमजोरीमा खेलेर सफाया गर्ने प्रहरी रणनीतिअन्तर्गत भएको थियो।

भारतका बिहार, मुम्बई, तमिलनाडुलगायत राज्यमा ‘इन्काउन्टर स्पेसलिस्ट’ प्रहरी अधिकृत छन् । ती राज्यमा इन्काउन्टर सेलसमेत छन् । भारतमा प्रहरीले समाजमा चर्चित पेसेवर गुन्डालाई मात्र सफाया गर्न इन्काउन्टर अभियान चलाउँदै आएको छ । तर नेपालमा पेसेवर गुन्डालाई मात्र इन्काउन्टर गरिएको छैन।

यसैबीच भक्तपुरमा अपहरणपछि मारिएका खड्काको पोस्टमार्टमा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको छ । बाबु मलेसियाबाट आएपछि उनको अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। (नागरिक दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ