arrow

पाल्पामा बाँदरको आतंक, विद्यार्थी सहित चार घाइते

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ साउन २५ शुक्रबार

पाल्पा (तानसेन) । जिल्लाका विभिन्न ठाँउहरुमा बादरले आतंक फैलाएको  छ । बाँदरको आक्रमणबाट तानसेन नगरपालिका १३ बौगागुम्बामा विद्यार्थी सहित तीन जना र बगनासकाली गाउँपालिकाको बराङदीमा एक जना गरी चार जना घाइते भएका छन् ।

सारदा मावि छेलुङ्गमा कक्षा ४ मा अध्ययनरत ११ वर्षी कल्पना माझीलाई विद्यालयबाट घर फर्कदै गर्दा बाँदरले आक्रमण गरेको हो । आक्रमणबाट उनी घाईती भएकी छिन् । त्यस्तै गरी  छेलुङ्ग निवासी ४० वर्षीय शान्ती बस्याल पनि घाइती भएकी छन् । घाँस काट्न गएको बेला बाँदरले  आक्रमण गरेर खुट्टामा चोट लागेको स्थानीय मीनबहादुर पाण्डेले बताए ।

 केही समय अघि सोही स्थानकी ४२ वर्षीय लक्ष्मी बस्याल पनि बाँदर आक्रमणबाट घाईते भएकी हुन् । बारीमा गहुँ काट्न गएका बेला बाँदरले आक्रमण गरी उनको टाउकोमा चोट लागेको थियो । त्यस्तै गरी तीन महिना अघि बगनासकाली गाउँपालिका ८ बराङदी घिउसिवासकी ४५ वर्षीय देवीसरा राना पनि  घाइते भएकी थिइन् ।

घरमा बसिरहेको अवस्थामा बाँदरले बच्चालाई आक्रमण गर्न खोज्दा लखेट्ने क्रममा रानालाई हातमा टोकेर घाइते बनाएको थियो । जिल्लामा बाँदरले उपद्रो गर्न थालेपछि विद्यार्थी र  किसानहरुले हैरानी खेप्नु परेको छ । बाँदर आंतककै कारण अभिभावक विना विद्यार्थीहरु विद्यालयमा आउन नसकेको राधाकृष्ण प्राविका प्रअ भेषराज पाण्डेले बताए ।

 उनले भने ‘विद्यालय आउने विद्यार्थीहरुलाई बाँदरले आक्रमण गर्ने भएकाले अभिभावक नभएका खण्डमा विद्यालय नै आउन छाडेका छन् ।’ सारदा माविका प्रअ देवीप्रसाद भट्टराईले विद्यालयमा अध्ययनरत विद्यार्थी बाँदर आक्रमणबाट घाइते भएकाले  विद्यार्थीहरुलाई एक्लै नहिड्न आग्रह गरेको बताए । बाँदरको आतंकका कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको किसानहरुको गुनासो छ ।

तानसेन नगरपालिका १३ बौगागुम्बाका  किसानले ढुक्कसंग अन्नबाली लगाउन समेत नपाएको झण्डै दुई  बर्ष वितेको स्थानीय मीनबहादुर पाण्डे बताउँछन् । दैनिक जसो बाँदरले दुःख दिन थालेपछि जङगल छेउका किसानहरुले मकै, कोदो, धान जस्ता अन्नबाली लगाउन छोडेको स्थानीय पाण्डेको  गुनासो छ ।

 बाँदरले मकै, कोदो, धान, तोरी जस्ता बालिमा दुःख दिन थालेपछि  जमिन बाँझै राख्न बाध्य भएको स्थानीयवासिन्दाहरु बताउँछन् ।  प्रायः अन्नबाली पाक्ने बेलामा बाँदरले दुःख दिन्छ स्थानीय  किशोर भट्टराईले भने – सधै ठूलो हुलमा आउने भएकाले किसानहरुले मात्र लखेट्न पनि समस्या, स्थानीय प्रशासन, नगरपालिका लगायतका सम्बन्धित निकायलाई गुर्हादा पनि सुनुवाई हुन सकेन ।

बाँदरले मकै, कोदो, धान, तोरी जस्ता बालिमा दुःख दिन थालेपछि अहिले किसानहरुले जमिन बाँझै राख्न थालेको उनले बताए । जिल्लाका बगनासकाली, रैनादेवी छहरा, तिनाउ लगाएतका स्थानीय तहहरुमा सबैतिर बाँदर आतंकले खेतबारीमा लगाईने अन्नबालिमा बाँदरले धेरै दुःख दिने गरेको पीडितहरुको गुनासो रहेको छ ।

स्थानीय तहमा बाँदरले हैरानी पार्न थाले पछि गाउँपालिकाकले विशेष सुरक्षाका साथ काम गर्न थालेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ