arrow

के पाक्दैछ सिंगापुरमा ?

प्रचण्ड, ज्ञानेन्द्र पछि देउवा पनि सिंगापुरमा

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
prachanda-gyanendra-sherbahadur.jpg

काठमाडौं । नेकपाका नेता प्रचण्ड करिब महिना दिनअघि सिंगापुरमा थिए। उनी आफ्नी पत्नी सीता विरामी भएको निहुँ पारेर त्यहाँ पुगेका थिए। हुन त सीता विरामी नै थिइनन् भनेर यहाँ प्रमाणित गर्ने आसय यस आलेखको होइन। उनको उपचार पनि त्यहाँ भएको थियो । तर प्रचण्डको काम भने उनको उपचार मात्र त्यहाँ थिएन । किनभने उनी १२ दिनभन्दा लामो समय त्यहाँ सीताकै उपचारका लागि बसेका थिएनन् ।

प्रचण्डले त्यहाँ दुई दिन त भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग बिताए। समाचार स्रोत भन्छ उनीहरुले सिंगापुरमा चार छाक खाना सँगै खाएका थिए । त्यस क्रममा भारतीय जनता पार्टीका अर्का एकजना वरिष्ठ नेता पनि थिए, जो आफै बिरामी भएर उपचारको लागि भन्दै त्यहाँ पुगेका थिए ।

प्रचण्ड सिंगापुरमै हुँदा केही पाक्न खोजेको थियो भन्ने अनुमान उनी नेपाल फर्किएको करिब २० दिनपछि खुलेको छ । उनले नेपाल आएपछि पुष्पलाल स्मृति प्रतिष्ठानमा केही बोले नत्र अहिलेको राजनीतिक विषयमा खासै धेरै बोलेका छैनन् । दिनमै तीन चारवटा कार्यक्रम भ्याउँने र बोल्दै हिँड्ने नेता अहिले किन मौन छन् भन्ने प्रश्न आजपनि काठमाडौँमा उठेकै छ । तर उनले चार दिन अघि पूर्वको एक सभामा यस्तो बोले कि त्यसले सिंगापुरमा केही भएको थियो भन्ने छनक दिएको छ ।

प्रचण्डले नेपालमा संघीय व्यवस्थालाई बाइसे चौबिसे राज्यजस्ता भए कतै यो असफल हुने त होइन भनेर सार्वजनिक टिप्पणी गरेका थिए । प्रचण्डजस्तो व्यक्तित्वले बोलेको यो कुराले धेरै ठूलो अर्थ राख्छ किनभने माओवादी आन्दोलनको विश्राम नै संघीयता र गणतन्त्रमा आएर भएको हो । सायद उनी र अजित डोबलबीच नेपालको संघीय व्यवस्था र हिन्दू अधिराज्यका बारेमा कुरा भएको अनुमान छ । यो अनुमान गर्ने नेपालका विश्लेषकहरुको संख्या पनि थोरै छैन ।

प्रचण्ड नेपाल फर्किएपछि सिंगापुरमा पूर्व राजा ज्ञानेन्द्र पुगेका छन् । सिंगापुर भ्रमण पछि उनी अहिले पनि सपरिवार थाइल्याण्डमा छन्। उनी त्यहाँ पुगेको पनि केही दिन पुगेको छ । समाचार स्रोतले राजा ज्ञानेन्द्रसँग भेट्नका लागि भारतीय जनता पार्टीका अर्का नेता तथा हिन्दू धार्मिक अभियन्ता सुव्रमण्यमं स्वामी पुगेका थिए । उनले सिंगापुरको एक होटलमा राजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेका थिए । अति गोप्य बनाइएको सो भेटमा पनि नेपालमा हिन्दू अधिराज्यका बारेमा नै धेरै कुराकानी भएको थियो ।

त्यस कुराकानीको क्रममा भारतीय नेताले नेपालका प्रजातन्त्रवादी राजनीतिक शक्तिहरु एकै ठाउँमा आउन नसकेको किन होला भनी प्रश्न गरेका थिए । यस विषयमा आगामी दिनमा केही पहल लिनुपर्ने सुझाव पनि उनको थियो । नेपाललाई हिन्दू धार्मिक अधिराज्य बनाउन अबका दिनमा के कस्ता कार्यक्रमहरु नेपाल र भारतले गर्न सक्छ भन्ने विषयमा पनि त्यहाँ कुराकानी भएको स्रोतले बताएको छ । स्रोतका अनुसार त्यस कुराकानीका क्रममा यतिखेर नेपालमा धर्म प्रचारको होइन कि धर्म परिवर्तनको बलजफ्तीपुर्ण काम भएको, पैसा बाँडेर धर्म परिवर्तनको काम गराइएको र सरकारले यस्ता कामलाई रोक्ने नभएर झन प्रश्रय दिएको आसय राजा ज्ञानेन्द्रले राखेका थिए ।

त्यही सिंगापुरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो पुगेका छन् । हुनत उनी पनि उपचार गराउन नै गएका हुन् । नेपालमा प्रधानन्यायाधीश छान्नका लागि प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएपछि नेता देउवा उपचारका लागि सिंगापुर पुगेका छन् । उनको कसैसँगको भेटघाटको बारेमा केही सूचना आएको त छैन तर पनि सिंगापुरमा महिना दिनयतादेखि जारी रहेका राजनीतिक घटनाक्रमहरुलाई गहिरोसँग  अध्ययन गर्नेहरुले भने देउवाको पनि त्यहाँ कोही उच्चस्तरिय भेटघाट हुनसक्ने अनुमान गरेका छन् ।

केही समययतादेखि नेपालमा कम्युनिष्ट सरकारको अलोकप्रियताका कारण प्रजातान्त्रिक शक्तिहरुबीचको एकीकरण र सहकार्यको विकल्प खोजिएको बेला भएका यी सिंगापुर बैठकहरुको परिणाम गएको जुन १२ मा अमेरिका र उत्तर कोरियाबीचको भेटपछिजस्तो अकल्पनीय नआउला भन्न पनि सकिन्न । त्यसैले पनि नेपाल र भारतको राजनीतिलाई भित्रैदेखि बुझेका विश्लेषकहरुले पनि यतिखेर राजधानीमा एउटा प्रश्न गरिरहेका छन्– के पाक्दैछ सिंगापुरमा ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ