arrow

कर्मचारी बेथितिः सरुवा नगरेको भन्दै मन्त्रालयमै कुटिए उपसचिव 

logo
प्रकाशित २०७५ साउन २८ सोमबार
singhadarwar.jpg.jpeg

काठमाडौं । सरुवाको विषयलाई लिएर देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारी कुटपिटमा उत्रिएका छन् । कर्मचारी नेताको दादागिरी कर्मचारी सरुवामा कस्तो हुन्छ भन्ने कुरा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा घटेको घटनाले देखाउँछ ।

आइतबार दिउँसो सरुवाको विषयलाई लिएर एक कर्मचारीले अर्का कर्मचारीमाथि हातपात गरेका छन् । आफूले भनेको ठाउँमा आफ्नो कर्मचारीलाई सरुवा नगरिएको झोकमा एक कर्मचारी नेताले मन्त्रालयका उपसचिवमाथि हातपात गर्दै मन्त्रालयभित्र ताण्डव मच्चाएका हुन् । 

दिउँसो ३ बजेतिर निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले स्थानीय कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिव ऋषि आचार्यमाथि हातपात गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

‘भण्डारीले एक जना कर्मचारीको स्थानीय तहमा सरुवा मागेका थिए,’ उनले भने, ‘तर त्यहाँ रहेका कर्मचारीले नगरेपछि हात हालेका हुन् ।’ 

हात हालाहालबाट उनलाई सामान्य चोट लागेको छ । उपाध्यक्ष भण्डारीले एक जना विद्यालय निरीक्षकको सरुवा गर्न नमानेपछि उपसचिव आचार्यमाथि कुटपिट भएको हो । डोल्पामा कार्यरत शाखा अधिकृत नेत्रराज गिरीलाई अनुकूल स्थानमा सरुवा गराउनुपर्ने भन्दै भण्डारीले दबाब दिँदै आएका थिए ।

आधिकारिक ट्रेड युनियनका मोहन घिमिरेले सरुवाको विषयलाई लिएर कुटपिट हुनु दुःखद् भएको बताए । उनले नियमित प्रक्रियाबाट सरुवा हुने कुरालाई लिएर हात हालाहाल गर्न नहुने बताए । 

भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नुका साथै मन्त्रालयको कुर्सी, टेबल र गमलासमेत तोडफोड गरेका छन् । संघीयता कार्यान्वयनसँगै आफूलाई पायक पर्ने स्थानीय तहमा सरुवाका लागि मन्त्रालयमा घुइँचो लाग्ने गरेको छ । पछिल्लो घटनाका विषयमा छानबिन सुरु भएको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।

कर्मचारीका संगठनका नेताहरूले आआफ्ना मान्छेलाई मालदार ठाउँमा पठाउने गरेको पाइएको छ । धेरै नेताहरूले पैसाको लेनदेनबाट सरुवा गर्ने गरेको कर्मचारीले आरोप लगाउँदै आएका छन् । काम नगर्ने सरुवा बढुवामा त्यस्ता संगठनका नेता क्रियाशील रहेको पाइएको छ ।

कर्मचारीतन्त्रमा ट्रेड युनियन हाबी भएको भन्दै अहिले नयाँ बन्न लागेको संघीय निजामती सेवा ऐनमा एउटा मात्र ट्रेड युनियन राख्ने तयारी सरकारले गरेको छ । तर, आफूहरूले अन्य संगठन खोलेर राजनीतिक र सरुवामा चलखेल गर्नका लागि एउटा नभई अहिले भइरहेका संगठन यथावत् हुनुपर्ने कर्मचारी संगठनले माग राख्दै आएका छन् । 

अहिले राजनीतिक दलैपिच्छे संगठन रहेका छन् भने नयाँ खोलिएका पार्टीले पनि यस्ता संगठन निर्माण गर्दै आएका छन् । (सौर्य दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ