arrow

भेनेजुएलामा नयाँ बैंक नोट जारी, सर्वसाधारणमा भ्रम सिर्जना

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
nicolas-maduro-president-venezula.jpg

काराकास। सङ्घर्षरत भेनेजुएलाबासीहरु राष्ट्रपति निकोलास मदुरोले देशभित्रको उच्च मुद्रास्फिती नियन्त्रण गर्न सार्वजनिक गरेको क्रान्तिकारी नयाँ योजनाबाट किंकर्तव्यबिमुढ भएका छन्। तेलको धनी तर नगदको कमी रहेको भेनेजुएला अहिले उच्च मुद्रास्फितीबाट बेचैन अवस्थामा छ।

यही परिस्थितिमा राष्ट्रपति मदुरोले नयाँ बैंक नोट जारी गरेका छन्। यी नोटमा पछिल्ला पाँचवटा शून्य हटाइएको छ। मुलुकभित्रको व्यापार व्यवसाय तथा उपभोक्ताहरु नोटमा गरिएको यो नयाँ व्यवस्थाबाट सन्देहमा परेका छन्। “उपभोक्ता र निजी क्षेत्रमा केही दिन ठूलै भ्रम सिर्जना हुने देखियो,” इकोएनालिटीकाका परामर्शदाता एस्ड्रुबाल ओलिभेरोसले बताए। “यहाँ अहिले अराजक परिदृश्य छ।”

गत शुक्रबार मदुरोले गरेको राष्ट्रव्यापी सम्बोधनमा उद्घाटित अरु उपायहरुमा न्यूनतम पारिश्रमिकमा ठूलै वृद्धि गरिने उल्लेख छ। यो वृद्धि यसै वर्षको पाँचौं हो। अहिलेकै अवस्थामा, महिनाको न्यूनतम ज्यालाले एक किलो मासु किन्न पनि पुग्दैछ। यसको मुख्य कारण नै बोलिभार (भेनेजुएलाको मुद्रा) मा गरिएको व्यापक अवमूल्यन र उच्चदरको मुद्रास्फिती हो।

पूर्व बस ड्राइभर एवं युनियन नेता राष्ट्रपति मदुरोले मुलुकमा “वित्तीय अनुशासन” कायम राख्न आवश्यक रहेको तथा पछिल्ला वर्षमा अति बढी गरिएको मुद्रा छपाईको कार्यलाई तत्काल रोक्नुपर्ने बताए।

तर अर्थशास्त्रीहरुको भनाईमा यी क्रान्तिकारी कदमले परिस्थितिलाई अझ खराब बनाउनेछ। राजधानी काराकासमा स्थानीयबासीहरु नयाँ उपायका बारेमा संदेहमा परेका छन्।

“सबै तौरतरिका पुरानै छ, मूल्य वृद्धि निरन्तर हुनेछ,” सडकमा खाद्यपदार्थ बिक्री गर्ने ३९ वर्षीय ब्रुनो चोयले बताए। अर्का ६७ वर्षीय एन्जेल एरिआसले नयाँ नोटलाई “झुठको खेती” को संज्ञा दिए।

मुलुकका तीनवटा मुख्य विपक्षी समूहहरु प्राइमेरो जस्टिसिया, भोलुन्टाड पपुलर र कउसा आरले सुधारको योजनालाई अस्वीकार गरेका छन् र यसका विरुद्ध मङ्गलबार प्रदर्शनमा उत्रन आह्वान गरेका छन्।

भेनेजुएलाको नयाँ मुद्रा चलनचल्तीमा रहेको संदेहात्मक र बदनामी कमाएको मुद्रा (क्रिप्टोकरेन्सी) पेट्रोभन्दा सशक्त हुने सरकारको दाबी छ। एक पेट्रोको मूल्य बजारमा करिब ६० डलर छ, र यो भेनेजुएलाको एक ब्यारेल तेलको मूल्य बराबर हो। नयाँ मुद्रामा गणना गर्दा यो ३,६०० बोलिभार हुन्छ, र यसले पनि बोलिभारको अवमूल्यन व्यापक हुने देखिन्छ।

तर, न्यूनतम ज्याला भने आधा पेट्रो (१८०० बोलिभार) तोकिएको छ। यो करिब २८ डलर हो। मदुरोका पूर्ववर्ती ह्युगो चाभेजले पनि सन् २००८ मा बोलिभार नोटबाट तीनवटा शून्य झिक्नु भएको थियो, तर त्यसले पनि उच्च मुद्रास्फितीलाई रोक्न सकेको थिएन। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ