arrow

कर र सेवा शुल्क नबढाउँदा पनि बन्छ स्मार्ट सिटी (अन्तर्वार्ता)

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
waling1.JPG

स्याङ्जाको वालिङ नगरपालिकाले इनोभेटिभ ल्याव चलाइरहेको छ । कुनै पनि विषयमा फरक वा सहज ढंगले काम गर्ने शैली नै इनोभेटिभ हो । वालिङमा यतिसम्म कि बाँदर धपाउन मान्छे धाइरहनु पर्दैन । अल्ट्रासोनिक प्रविधिमार्फत् बाँदर धपाउने प्रणालीको विकास गरिएको छ । हाइड्रोलिक प्रविधिबाट वाटरलिफ्टिङ गरिन्छ । ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को विस्तार गरिदैछ । पछिल्लो समय देशभरका स्थानीय तहले जनताबाट अत्याधिक कर असुलिराखेका छन् भन्ने चर्चा चलिराखेको बेलामा स्याङ्जाको वालिङ नगरपालिकाले गरेको कामको सन्दर्भमा हामीले वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणसँग कुरा गरेका छाैँ । 

० सेवाभन्दा बढी कर विवादमा फस्यो नि स्थानीय निकाय ?
– हाम्रो नगरपालिका विवादमा छैन, गत वर्ष जेजुन अवस्थामा थियो, अहिले हामी त्यही अवस्थामा अगाडि बढेका छौं । हाम्रो उद्देश्य प्रत्येक घरमा रोजगारी लैजाने हो । हामी एक गाउँ एक उत्पादनको नीति लिएर अघि बढेका छौं । नगरपालिकाले विशेष गरी कृषि क्षेत्र, घरेलु उद्यमी र घर–घरमा उद्यम गर्नेलगायत हामीसँग भएका ३ सय १० वटा टोल (गाउँ) छन् । एक गाउँ, एक उत्पादन गरेर हामीले स्मार्ट भिलेजको कन्सेप्टमा अघि बढेका छौं । बजार क्षेत्रमा त्यस्तै काम गरेका छौं । विशेष गरेर व्यापारिक केन्द्र, उद्योग अगाडि बढोस भनेर त्यही हिसाबले हामीले काम गरिराखेका छौं । यो वर्ष उहाँहरुको आम्दानी बढाउने, सक्षम बनाउने र पछि उहाँहरु सक्षम भइसकेपछि करको दायरा फराकिलो पार्ने सोचेका छौं ।

० पहिला उहाँहरुको क्षमता बढाउने सोच्नुभएको छ ?
– हामी स्थायी विकास चाहन्छौं । त्यसका लागि जनता बलियो हुनुपर्छ । आर्थिक हिसाबले उहाँहरुमा मजबुतीपन ल्याउँ । उहाँहरुमा चेतना पनि विकास हुन आवश्यक छ । चेतना र आर्थिक विकास सँगसँगै जान आवश्यक छ । त्यसका लागि हामीले गाउँ गाउँमा चेतनामूलक कार्यक्रम राखेका थियौं । वालिङ नगरपालिका धेरै चेतनशील भइसकेको छ । आर्थिक रुपले उहाँहरुलाई सक्षम बनाउने, विशेष गरेर गाउँमा उत्पादन गर्ने र बजारमा खपत गर्ने नीति हामीले लिएका छौं । यसलाई अझ विकसित रुप दिँदैछौं । त्यसपछि मात्र हामी करका बारेमा सोच्न सक्छौं ।

० सेवा शुल्क वृद्धि भएको छैन ?
– वृद्धि भएको छैन, हाम्रो वार्षिक आम्दानी २ करोड बढी हुन्छ । वालिङको विकासका लागि बाह्य क्षेत्रबाट सहयोग लिन्छौं ।

० वालिङकाे आन्तरिक श्रोत चाहिँ के हो ?
– व्यवसाय कर, सम्पत्ति कर हुन् । पहिलेको तुलनामा घटेको छ ।

० जनसंख्या कति हो ?
– पुरानो तथ्यांक ५२ हजार हो, हाम्रो आन्तरिक सर्वेअनुसार ८० हजार जनसंख्या पुगेको छ ।

० व्यवसायी कति छन् ?
– पहिले जे थियो, त्यसैलाई अघि बढाइरहेका छौं । नयाँ कर केही लिएका छैनौं । पहिले जति उठ्थ्यो, त्यही तथ्यांक भनेको हुँ । पुरानो दर रेटमा जे उठ्थ्यो, त्यत्ति मात्र हो । हामीले करदातालाई सक्षम बनाउँ, गाउँ गाउँमा आम्दानी श्रोत बढाउँ, उद्यमशिलता विकास गरौं त्यसपछि करको दर र दायरा बढाएर हामीले यसलाई अझ राम्रो गर्न सक्छौं ।

० ठूलाे काम गर्न पैसा चाहियो भने कहाँबाट ल्याउने ?
– सीमित साधन र श्रोतलाई परिचालन गर्यौ भने हामी धेरै काम गर्न सक्छौं । हाम्रो वालिङ नगरपालिकाको कूल बजेट करिब ७० करोडको छ । विशेष गरेर हामीले यही विकास गरेका प्रविधि विकास गरेका छौं । फोहोर मैलामा हामी जिरो वेस्ट कन्सेप्टमा गएका छौं ।

० कर नबढाउँदा पनि काम गर्न सकिदो रहेछ ?
– काम गर्नलाई कर नै बढाउनुपर्छ भन्ने छैन । सबै स्थानीय तहले कर बढाएका छैनन् । दुई चार नगरपालिकाले बढाए होलान् तर हल्ला बढी भयो । भइरहेको आम्दानीलाई व्यवस्थापन गर्न सकियो भने प्रर्याप्त हुन्छ । करै लिन हुँदैन भन्ने होइन । किनकि त्यो नगरको अपनत्व पनि हो । एउटा नागरिकले नगरलाई म यति कर तिर्छु भनेर गर्व गर्ने ठाउँ रहन्छ । त्यसरी उठेको करलाई पारदर्शीरुपमा सदुपयोग गर्नुपर्छ । जनताले मैले तिरेको करले यो काम भयो भनेर उसलाई हामीले क्लियर गर्न सक्यो भने करको विरोध हुँदैन । उठेको करलाई हामीले गलत प्रयोग गर्यो भने त्यसको विरोध हुन्छ ।

० अहिलेसम्म के काम गर्नुभयो ?
– निर्वाचित भएर आएपछि कसरी विकास गर्ने भनेर हामी आफैले नगरको खाका बनायौं । त्यसपछि अढाइ महिनापछि वालिङमा एउटा कार्यशाला गरियो । त्यो कार्यशालामा निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दलका साथीहरुलाई सहभागी गरायौं । उक्त कार्यशालामा साढे ३ सय साथीहरुलगायत वालिङका बुद्धिजीवी, सामाजिक कार्यकर्तालाई सहभागी गरायौं । त्यसपछि काठमाडौंबाट सहरी विकासमा दख्खल व्यक्ति, आईटीको क्षेत्रमा दख्खल व्यक्तिहरु हामीले पाँच दिने वार्कसप गर्यौं । त्यो वर्कसपबाट हामीले वालिङलाई स्मार्ट सिटी कसरी बनाउन सक्छौं भन्न विषयमा थियो । त्यो वर्कसपबाट वालिङको विकास कसरी अघि लैजाने निष्कर्ष निकाल्यौं ।

०वालिङ पहिलाे स्मार्ट सिटी हुन्छ ?

-हुन्छ । हामी त्यसैमा लागेका छाैँ । 

०तपाइकै कार्यकालमा ? 

-त्याे भन्दा अघिनै पनि हुन सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ