arrow

ट्रम्पले वित्तीय नियमको उल्लङ्घन गरेको अदालतको ठहर, दुई सहयोगीलाई जेल सजाय

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
trump.jpeg

न्यूयोर्क। अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ। राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन्।

अमेरिकाकै दुई सहरमा सन् २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरिरहेका छन्। ट्रम्पका लामो समयदेखिका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ।

कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालत समक्ष जानकारी गराएका छन्। भुक्तानी गरिएका दुवैसँग ट्रम्पको नाजायज सम्बन्ध रहेको बताइन्छ। विगतदेखि नै चर्चामा रहेको यो मुद्दाको राजनीतिक र कानुनी महत्व रहिआएको छ । यस खुलासाले ट्रम्पमाथि चर्को दबाब सिर्जना हुने अड्कलबाजी गरिएको छ।

कोहेनले राष्ट्रपति ट्रम्पमाथि नै औंला ठड्याएका छन् । राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाई छ । “यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो,” न्यायाधीश समक्ष कोहेनले भने। खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए ।  यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ।

ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले अमेरिकी सञ्चार माध्यममा पठाएको वक्तव्यमा भनेका छन् , “राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन्।”

कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ। उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ। यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट “असल मानिस” रहेको प्रतिक्रिया दिएका छन्।

“मलाई अति दुःख लागेको छ,” ट्रम्पले पश्चिम भर्जिनियामा आयोजित मध्यावधि चुनावी सभाकै क्रममा संवाददाताहरुलाई भने। “जे भएको छ त्यो ज्यादै दुःखद छ, र चुनावका समयमा रुससँग कुनै साँठगाँठ थिएन ।” तर पछिल्लो समय ट्रम्पले म्यानाफोर्टसँग आफूलाई टाढा राख्न थालिसकेका छन्।

अमेरिकी कानुनी परम्परामा राष्ट्रपतिमाथि अदालतमा मुद्दा लाग्दैन, तर अभियोगहरु यदि प्रमाणित भएमा संसदमा महाभियोग लाग्न सक्दछ। आगामी नोभेम्बरमा हुने कङ्ग्रेसको मध्यावधि चुनावमा यो मुद्दा पेचिलो बन्नेछ।

“मध्यावधि चुनावमा महाभियोगको विषयले प्रमुखता अवश्य पाउनेछ,” रिपब्लीकन रणनीतिकार तथा ट्रम्पका आलोचक रोब स्टजम्यानले भने। “डेमोक्रेटहरुले त यो विषय अवश्य जनतासमक्ष जोडतोडले राख्नेछन्।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ