बढ्याे स्राेत नखुलेको रकम : पुर्व गर्भनर भन्छन्-विदेशीकाे काम गर्ने एजेण्टका लागि अाएकाे पाे हाे की ?

(अन्तर्वार्ता)

प्रकाशित मिति : २०७५ भदौ ७ बिहिबार
वेब: तस्वीर

उच्च दरमा स्रोत नखुलेको रकम भित्रिने क्रम बढेको छ । गएको आर्थिक वर्षमा मात्रै एक खर्ब १२ अर्ब स्रोत नखुलेको रकम भित्रिएको छ । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७४–०७५ मा विविध शीर्षकमा यो रकम भित्रिएको हो । जो आर्थिक वर्ष २०७३–०७४ मा ३३ अर्ब ४२ करोड थियो । त्यो भन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा २३५ प्रतिशत बढी रकम विविध शीर्षकमा नेपाल भित्रियो । यही विविध शीर्षकमा आर्थिक वर्ष २०७२–०७३ १६ अर्ब ८५ करोड नेपाल भित्रिएको थियो । लगातार उच्च दरमा विविध शीर्षकको रकम  बढ्नुमा विभिन्न निकायले राख्ने विदेशी मुद्रा आर्जनको हिसाबकिताव त्रुटीपूर्ण भएको देखिएको छ । यसरी निरन्तर उच्च दरले विविध आय बढ्नु राम्रो नभएको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । के हो, त यो स्रोत नखुलेको रकम भनेको ? भनि हामीले नेपाल राष्ट्र बैंकका गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीलाई सोधेका छौँः 

० उच्च दरमा स्रोत नखुलेको रकम भित्रिने क्रम बढ्यो भनेर नेपाल राष्ट्र बैंकले तथ्याङ्क दियो । यो स्रोत नखुलेको रकम भनेको के हो ? 
–सम्भवतः तपाईले देशको सोधनान्तर स्थिति भन्ने तथ्याङ्कबाट लिनु भएको होला यो कुरा । त्यो सोधनान्तर तथ्याङ्कमा दुईटा कुरा रहन्छन् । एउटा चालु खाता भन्छौँ हामी । त्यो चालु खातामा बस्तु व्यापार, सेवा क्षेत्रको व्यापार, रकम ट्रान्सफर गर्ने र वित्तीय व्यवस्था अन्तर्गत बाहिरबाट आउने आप्रवाह रेमिट्यान्स लगायत । यस्तै, सरकारण ऋण । यस्तै, फाइनान्सियल अकाउन्ट भनेर तलपट्टी राखिएको हुन्छ । त्यसमा कतिपय शीर्षकहरु कस्तो हुन्छ भने, कसैले विदेशबाट कसैको नाउँमा उपहारको रुपमा पठायो । एक हजार डलर । नेपालमा घुम्न आएको थियो । उसको मित्रता बढ्यो । घुम्न आएको बेला कसैले हाम्रो यहाँ अभाव छ, समस्या छ, यसो भईदिएको खण्डमा मैले सानो एउटा मेसिनरी किन्थे भन्ने कुरा सुनाएको खण्डमा विदेशीले एक हजार डलर पठाउँछ । त्यो एक हजार डलर के को लागि भनेर उसले भन्दैन ? खाली त्यो उपहार मात्रै भन्छ । के उद्देश्यको लागि हो भन्दैन । यस्तो रकमहरु एकुमुलेटेड एकिकृत भएर रहयो भने जस्तो १० लाख डलर मात्रै भयो भने पनि करिब करिब १० करोड रुपैँया जस्तो देखिने भयो ।

त्यस्तै, अलिक ठूल–ठूलो रकम कसैले पठाएछ भने, राज्यले नै पठाएको हो भने परियोजनाहरु भनौ, जस्तै सिक्टामा विदेशी ऋण प्रयोग गरेका छौँ । आवश्यक भयो भने उनीहरुले छिटो छरितो गरेर पठाउँछन् । तर त्यहाँ उल्लेख गर्ने बेलामा सबै डिटियल हुँदैन । ट्रान्सफर गर्दा अहिले त सजिलो छ । स्वीकृत कार्यक्रम हो भने दुई, तीन मिनेटमै आउँछ । तर, त्यसमा सबै उल्लेख हुँदैन । कुन शीर्षकको लागि हो, भन्ने कुरो नहुने भएपछि त्यो पत्ता लगाउनलाई अलिकति समय लाग्छ । हाम्रो नेपाली मुद्रा अहिले स्खलित भएर एक डलर बराबर ११२, ११३ पुग्यो । यसमा तपाईले एक खर्ब भन्नु भयो करिब करिब एक अर्ब डलर जस्तो पर्न गएछ भने, ठूला ठूला परियोजनाहरुमा अरब अरब डलर आउन सक्ने भयो । त्यो क्षणिक रुपमा के उद्देश्यको लागि हो भनेर राम्ररी तय गर्न नसक्दै त्यो तथ्याङ्क बाहिर ल्याउनु पर्ने परिस्थिति हुन्छ । त्यो तथ्याङ्क बाहिर ल्याउँदा विसल्यानिएस भनिन्छ त्यति बेला । विविध भनिन्छ । त्यो विविध भनेकै के त भन्दा स्रोत नखुलेको भन्न आउँछ । त्यस कारण, यस्तो पनि हुनसक्छ भन्ने मलाई लाग्छ ।  

दोस्रो कुरा नेपालमा राजनीतिक अस्थिरता ल्याउनको निमित्त यहाँ विभिन्न एजेण्टहरुले काम गरिराखेका हुन्छन् । विदेशबाट यहाँका एजेण्टको पालन पोषणको लागि उनीहरुले पैँसा पठाउँछन् । पैसा पठाउनको लागि बैंकिङ क्षेत्रबाटै पठाउनु पर्ने हुन्छ । पठाउँदा खास स्रोत राजनीतिक उद्देश्यको लागि हो भनेर पठाउन त मिलेन । त्यसले खर्च गर्नको लागि भनेर पठाईदिन्छन् । त्यसको स्पष्टसँग उद्देश्य कायम हुन नसक्ने कारणले गर्दा तत्काल त्यो थाहा हुँदैन । तर, छानविन गर्दै गयो भने पत्ता लाग्छ । तत्कालको लागि तथ्याङ्क बाहिर निकाल्ने क्रममा विविध भनेर राखिएको हुन्छ । यसले शंका उत्पन्न गरेको हुनसक्छ भन्ने मलाई लाग्छ । 

० यसलाई नियमन गर्ने भन्ने चैँ हुँदैन ? 
–नियमन त पक्कै हो । एउटा बैंकबाट अर्कोमा पठाउनलाई निश्चित किसिमको नियम छ । मनि लउण्ड्रिङ पनि त भन्छन् नि ! जस्तै, नो योवर क्लाईन्ट, केवाईसी छ त । कसलाई पठाएको भन्ने कुरो पनि पारदर्शी हुनुपर्छ भन्ने पनि छ । त्यसरी आएको रकमको विषयमा यतापट्टिकोले सोध खोज गरेर पठाउने सम्भावना पनि रहन्छ । तर, एउटा कुरा के भने, हजारौँ एकाउन्टहरुमा लाख, डेढ लाखको दरले आएको रहेछ भने त, त्यो एकैमा जोडिन पुग्दा ठूलो रकम देखिने र विविध शीर्षक नखुलेको भनेर जाँदा कता कता आशंका रहन्छ । केन्द्रीय बैंकले अर्थात् नेपाल राष्ट्र बैंकले यस्तो रकम मध्ये अलिक ठूलो ठूलो एमाउन्ट आएको रकम जे हो, छानविन एवं खोजतलास गर्ने हो भने पत्ता लगाउन सक्छ । 

० यो प्राय सबै देशमा हुन्छ, भनिन्छ, विविध शीर्षकमा आम्दानी र खर्च गर्ने कुरा । यसले राज्यलाई के घाटा गर्छ ? 
–घाटा त कस्तो हो भने,, बाहिरबाट नेपालमा पैसा आउनु राम्रो हो । सरल हिसाबले हेर्दा त्यस्तो हो । तर, बाहिरबाट पैसा आर्थिक विकासको निमित्त आएको भए त ठिक हो । यहाँको शान्ति, अमन चयन खल्बल्याउनको निमित्त कसैले पठएको छ भने, यहाँका कुत्सित तत्वहरु हावी हुन्छन् । सबै राम्रो उद्देश्य भएका त छैनन् । तपाईले थाहा पाउनु भो नि हैन, अस्ति भरखरै विराटनगरमा बम काण्ड भयो । त्यसलाई कसैले पनि राम्रो हो भनेर त भन्न सक्दैन । यस्ता गतिविधिलाई प्रश्रय दिनको निमित्त यदि बाहिरबाट फण्डिङ गरिएको छ भने, त्यो त राष्ट्रको हितमा हुन सक्दैन भनेर लिनु पर्छ । 

० भन्नाले यस विषयमा निगरानीमा राख्नु पर्ने भयो ? 
–निगरानीमा त राख्न सकिन्छ नै । त्यही कारण त अहिले मुद्रा निर्मलिकरण मनि लउण्ड्रिङ भनेर भनिन्छ नि ! त्यसमा पैसा पठाउँदाखेरी पनि बैंकिङ च्यानल प्रयोग गर्नु पर्ने भनिएको छ । कसैले बोकेर आएको छ भने पनि डिक्लियर गर्नु पर्दछ । दुई हजार डलर बढी छ भने एयरपोर्टमा पन डिक्लियर गर्नु पर्दछ । अथवा भन्सारको नाकामा डिक्लियर गर्नु पर्दछ । फर्केर जाँदा पनि मसँग यति बाँकि रहयो भनेर भन्नु पर्दछ । त्यस्तो भन्न नसकेको खण्डमा प्रहरीले त्यस्ता विन्दुमा खानतलासी गरेर रकम सिज गर्न सक्छ । त्यस्ता घटनाहरु भएको पनि छ । नियमन गर्न त बैंक र सुरक्षासँग सम्बन्धित रहेका निकायहरु छन् । ओभरसाइड बढीहरु हुन्छन् । उनीहरुले हेर्दा हाम्रो जस्तो मुलुकमा त्यति गाह्रो हुँदैन । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ