arrow

केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
kcc-price.JPG

काठमाडौं ।केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार मोहन मैनाली र माया पकुवाललाई प्रदान गरिएको छ। कान्तिपुर सिटी कलेज (केसीसी) द्वारा स्थापित केसीसी व्यावसायिक पत्रकारिता पुरस्कार २०७५ आइतबार  वरिष्ठ पत्रकार मोहन मैनाली र मोफसलबाट झापाका पत्रकार माया पकुवाललाई प्रदान गरिएको हो।

पत्रकारद्वयलाई २५ हजार रूपैयाँ र ताम्रपत्रसहितको उक्त सम्मान नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्य तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदादेवी तिम्सिनाले प्रदान गरे ।

पत्रकार मोहन मैनाली र माया पकुवालले पुरस्कारका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा व्यावसायिक कार्यहरूमा थप उत्साह मिलेको बताए ।

वरिष्ठ पत्रकार मोहन मैनालीले विगत २८ वर्षदेखि अनुसन्धानमूलक रिपोर्टिङ्ग, वातावरण बिट, ग्रामीण क्षेत्रमा फिल्ड रिपोर्टिङ्ग, डकुमेन्ट्री र मिडिया तालिमकर्ताका रूपमा काम गर्दै आएका छन्। त्यसैगरी, पत्रकार माया पकवाल झापाबाट प्रकाशित वरुण साप्ताहिक प्रधान सम्पादक हुन् ।

कार्यक्रममा बोल्दै आयुक्त यशोदादेवी तिम्सिनाले दुबै पुरस्कृतहरू उत्कृष्ट र विवादरहित भएको बताइन्। उनले सूचनाको हक सबैले प्रयोग गर्नुपर्ने तथा मिडियाले सो हकका लागि कार्य गर्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले पत्रकारिता आफैमा सुधार हुनुपर्ने पक्षहरू भएता पनि नयाँ आएका कानूनी व्यवस्थाले नेपाली पत्रकारहरूलाई सशङ्कित बनाएको बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा मिडिया शिक्षक डा. कुन्दन अर्यालले प्रेसलाई जिम्मेवार बनाउन अघि बढ्नुपर्ने र कानूनले यसलाई सहयोग नै गर्ने बताए ।

कान्तिपुर सिटी कलेजले नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक अभ्यासमा लाग्दै देश र जनताको सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने दुईजना क्रियाशील पत्रकारलाई सम्मान गर्ने उद्देश्यले सो अवार्ड स्थापना गरेको हो ।

सन् २००१ देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर विषयमा अध्यापन गर्दै आएको कान्तिपुर सिटी कलेज पत्रकारितामा स्नातकोत्तर शिक्षणमा अग्रणी मध्ये एक हो । केसीसीबाट पत्रकारिताका गरेका करिब ३५० भन्दा बढी विद्यार्थीहरू देश–विदेशमा प्रतिष्ठित सञ्चार माध्यम तथा विश्वविद्यालयमा कार्य गर्दै आएका छन् ।  

सोही कार्यक्रममा केसीसी मिडिया जर्नल अङ्क २ को विमोचन पनि गरिएको छ । जनार्दन विष्टको सम्पादन, राजीव तिमल्सिनाको संयोजकत्व तथा आभास धरानन्द राजोपाध्यायको सह–सम्पादन रहेको उक्त जर्नल कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागले प्रकाशन गरेको हो ।

पत्रकारका लागि आत्मनिरीक्षणसम्बन्धी प्रा. रामकृष्ण रेग्मी, टिभी कार्यक्रममा मानवीय भावना विरुद्ध जनजाति भावनाबारे डा. भानुभक्त आचार्य, मिडियाले अभियुक्तलाई अपराधी लेखिदिनेबारे डा. दीपेश केसी, सूचनाको हकको अडिटबारे एकराज पाठक, भूकम्पपछि रेडियो भूमिकाबारे जनार्दन विष्ट, धरहरा र काष्ठमण्डपबारे कभरेजले दिएको मिडियाको शिक्षाबारे आभास धरानन्द राजोपाध्याय, विकास पत्रकारिताबारे सुजिना शाक्य र मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्धबारे राजेश कुमार पाठकका नौवटा अनुसन्धानमूलक आलेखहरू उक्त जर्नलमा समावेश छन् ।  

कार्यक्रममा कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वर्ण पदक प्राप्त गर्ने ओमप्रकाश गोयल, माधव थापा क्षेत्री तथा चिरञ्जीवि देवकोटालाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ