arrow

गाईजात्रा विशेषः ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटेपछि... 

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
oli-homnath.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक सन्देश फैलाउने किसिमले तस्वीर सामाजिक संजालमा सेयर गरेर काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का सचिव होमनाथ सिग्देल पक्राउ परे । के झोंक चलेछ कुन्नि सिग्देलले बाँदरको शरीरमा ओलीको टाउको राखेर सेयर गरे । 

उनलाई प्रधानमन्त्रीको सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखलाई फोन गरेरै पक्राउ गर्ने ठाडो आदेश दिइएपछि प्रहरीले पक्राउ गर्यो । 

गत भदौ १ गते फौजदारी संहिता लागू भएपछि पक्राउ पर्ने सिग्देल पहिलो हुन् । 

जब प्रधानमन्त्री ओलीले सिग्देललाई भेटे, त्यसपछि के भने, के भयो संवाद, यो गाईजात्रा प्रस्तुति–

ओली –हैन के भनेर बाँदरको शरीरमा मेरो टाउको मिलायौ ? 
सिग्देल– खोइ दिमागमा त्यही आयो अनि सेयर गरें । 

ओली –तिमीलाई थाहा थिएन भदौ १ देखि तिमीले मलाई गाली गर्न पाउँदैनौ भनेर ? 
सिग्देल – गाली नै गर्न नपाउने पनि नियम बनाउने हो त ? मन नपर्नेलाई गाली नगरेर के माया गरिरहनु ? अहिलेसम्म जनताले गरेको मायाको कहिल्यै कदर गरेको भए पो । 

ओली– के गरिन है मैले जनतालाई ? गरेकै त छु नि । कसैले नबाँडेको आश्वासन भए पनि बाँडेकै त छु । जे सक्यो त्यही गर्ने त हो नि । 
सिग्देल – काम चाहिं केही गर्न नपर्ने ? 

ओली– त्यो पनि कामै त हो नि । बिहान उठेदेखि त्यत्रो भाषण तिमीले गर्न सक्छौ ? यत्रो औषधि खाएर बोलेको बोल्यै छु । त्यसको कदर गरेका छौ ? 
सिग्देल – कदर नगरेको भए बोलीमा मात्र ओली राष्ट्रवादी हो भन्ने थाहा पाएर पनि दोस्रो पटक प्रधानमन्त्री बनाउँथे त जनताले ? 

ओली – अनि म के कारणले बाँदर भएँ ? 
सिग्देल –बाँदर भन्न पनि कारण चाहिन्छ र । बाँदरको जस्तो व्यवहार गरेपछि बाँदर नभनेर के भन्ने त ? 

ओली– बाँदरले त घर बनाउँदैन । मेरो त दुई दुई वटा घर छ । बाँदरले त खोसेर खाएको छ । मैले खाएको छु ? 
सिग्देल – सर्वहारा नेताका घर के काम ? मानसिकता त भ्रष्ट देखिइहाल्यो नि । कम्युनिष्ट भन्ने अनि निजी सम्पत्ति जोड्ने ? बाँदर र कम्युनिष्टमा के फरक छ र ? बाँदरको पनि आफ्नो घर हुँदैन । कम्युनिष्टको पनि आफ्नो घर हुँदैन । मैले त गहन भएर सोचेर पो तपाई सच्चा कम्युनिष्ट हो भनेर ‘बाँदर’ को संज्ञा दिएको हुँ । तर तपाईले मलाई उल्टै पक्राउ गर्न लगाउनु भो । के तपाई कम्युनिष्ट हैन ? 

ओली – ओहो ! मैले त तिमी काँग्रेस नै हौ त्यसैले मेरो अपमान गर्यौ भनेर पो विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कार्वाही गर्न खोजेको त । 
सिग्देल – तपाईले मान्छे नचिनेरै दुःख पाउनु भइरहेको छ । अहिले पनि के नौलो भयो र । 

ओली– मैले त विपक्षीलाई तर्साउनका लागि पो यो कदम चालेको । तिमी त आफ्नै पुर्खाको सोचबाट आएका परेछौ । लौ धन्यबाद है । मेरो आँखा खोलिदियौ । 
सिग्देल – अनि मलाई गरिएको कार्वाही ? 

ओली– त्यो त नियममा भएको कुरो । पख । दुई तिहाईको सरकार छ यसो साइत हेरेर तिम्रो व्यवस्था मिलाई हाल्छु नि। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ