arrow

गाईजात्रा विशेषः रन्किए देउवा –‘पार्टी पो लोकतान्त्रिक त.....’

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसलाई लोकतान्त्रिक पार्टी भनिन्छ । नेपालको राजनीतिमा अहिले स्थायित्वमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस । अहिलेसम्मका राजनीतिक परिवर्तनका लागि नेतृत्व गरेको पार्टी काँग्रेस । 

काँग्रेसको लोकतान्त्रिक र समाजवादको नीतिको बखान गरेर सकिन्न । स्वतन्त्रताको बखान गरेर सकिन्न । पार्टीलाई लोकतान्त्रिक भनेर नथाक्ने नेताहरुले आफू भने लोकतान्त्रिक बन्न नसकेको गुनासो आइरहन्छ । 

यसै सन्दर्भमा गाईजात्रा विशेषमा काँग्रेस सभापति शेरबहादुर देउवासंग एक जना पत्रकारको जम्काभेट हुन्छ । अनि सुरु हुन्छ अन्तर्वार्ता –
पत्रकार– तपाईलाई स्वागत छ ।
देउवा– धन्यबाद, भनेर भन्दे’खीलाई ।

पत्रकार– सन्चै छ ? 
देउवा – देखेर पनि सोध्ने हो ? ठीकै छु त । 

पत्रकार– उपचार गरेर विदेशबाट फर्कनु भएको छ । सोध्न परेन त ? 
देउवा– भनेर भन्देखी विदेशै गएर उपचार गरेपछि ठीक भैहाल्छ नि । 

पत्रकार – उपचारै गराउन जानु भा हो त ? 
देउवा – विदेशमा राजनीति गर्न गएको भनेर कसैले पत्याउँछ ? 

पत्रकार – तपाई त नेपालको पुरानो दलको सभापति । पत्याइहाल्लान् नि । 
देउवा – देख्नु त भा’छ । भनेर भन्देखी पत्याइराछन् त । 

पत्रकार – चुनावमा त हावा खायो नि पार्टीले ? 
देउवा – हावा खायो कि पानी खायो । भोकै त बसेन नि । भनेर भन्देखीलाई अरु पार्टी मिलेपछि एक्लै सकिन्छ त ? 

पत्रकार – नसकेर भयो त ? तपाई त लोकतान्त्रिक पार्टीको प्रमुख पो त । 
देउवा – जित हार त भैहाल्छ नि । त्यही विषयलाई कोट्याएर बसिरहने ? 

पत्रकार – हारको समीक्षा त गर्न हुन्छ होला नि ? 
देउवा – समीक्षा पत्रकारले गर्ने हो र ? हामीले गरिसक्यौं नि भनेर भन्देखीलाई । 

पत्रकार – काँग्रेस त पत्रकारितालाई सम्मान गर्छ नि हैन र ? 
देउवा – विवादमा ल्याउन खोज्ने ? पत्रकारितालाई काँग्रेसले सधै सम्मान गरेकै छ नि । गर्छ नि भनेर सोध्ने हो ? 

पत्रकार – अनि पत्रकारसंग किन रिसाउनु हुन्छ नि ?
देउवा – पत्रकारितालाई सम्मान गर्छ भनेको हो पत्रकारलाई भनेको हो र ? पत्रकारलाई सम्मान गरेर साध्य चल्छ ? आफ्नो काम गर्नु नि खुरुखुरु । 

पत्रकार – पार्टी लोकतान्त्रिक भन्ने अनि जनतालाई सम्मान नगर्ने ? 
देउवा –पार्टी लोकतान्त्रिक भन्या हो । नेता लोकतान्त्रिक हुन्छन् भन्या हैन । मेरा अग्रजले यही सिकाए । म फेरि हाम्रा अग्रजलाई बिर्सने ? 

पत्रकार – त्यही भएरै हो त तपाईले सरकारलाई अधिनायकवाद भयो भन्ने अनि पार्टी नेतृत्वमा आफै अधिनायकवाद लाद्न खोज्ने ? 
देउवा – तपाई बढी बोल्दै हुनुहुन्छ । मैले अधिनायकवाद लगाएँ । म सभापति भएपछि मेरो पार्टीमा अधिकार चल्दैन ? मैले निर्णय गर्न नपाउने ? हरुवाहरुका मात्र कुरा मैले सुन्नु पर्छ ? के मैले राजनीति अरुका लागि गर्दिएको हो ? भनेर भन्देखिन्लाई तपाईले नियोजित प्रश्न गर्दै हुनुहुन्छ । 

पत्रकार –प्रश्न सोध्नै नहुने भयो त नेताज्यू ? 
देउवा – अहिलेसम्म मसंग देउडा खेल्नु भएको थियो ? 

पत्रकार – पार्टीलाई अब कता लैजानु हुन्छ ? 
देउवा – विक्री हुन्छ र विदेशतिर बेच्नलाई । यहीं छ कतै लैजान्न । ऽऽऽ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ