arrow

ओलीले बिम्स्टेक घोषणापत्रको बुँदा अंग्रेजीमा सुनाउँदा सांसद ‘ट्वाँ’ !

‘कन्फ्यूज नहोस् भनेर म अंग्रेजीमा जस्ताको त्यस्तै सुनाउँछु’

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
oli-samsad.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनले क्षेत्रीय कुटनीतिमा नेपालको क्षमता बढेको र अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा बढेको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै ओलीले काठमाडौँमा भएको चौथो शिखर सम्मेलनबारे जानकारी दिए । 

बिम्स्टेको चौथो शिखर सम्मेलनले एउटा स्पष्ट दिशा निर्देश गरेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने, ‘यो अंश,, यो १ नम्बर बुँदामा लेखिएको मौलिकप्रति अंग्रेजीमा जस्ताको त्यस्तै यस गरिमामय सदनमा कन्फ्यूजन नहोस् भनेर सुनाउन चाहन्छु ।’ 

उनले पहिलो बुँदा अंग्रेजीमा जस्ताको त्यस्तै पढेर सुनाए । सांसदहरु ट्वाँ परे । उनले अंग्रेजीमा पढे । र, सकिएपछि नेपालीमा भने यो यति स्पष्ट छ, ‘सार्वभौम समानता, भौगोलिक अखण्डता, राजनीतिक स्वाधीनता, आन्तरिक मामिलामा अहस्तक्षेप, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सिद्धान्तलाई सम्मान गर्दै त्यसमाथि आधारित रहेर हाम्रा सम्बन्ध अघि बढ्नेछन् ।’ यो भन्दा प्रष्ट के हुन सक्छ । 

क्षेत्रीय सङ्गठनको प्रभावकारी गतिविधिबाट एकार्का राष्ट्रबीच भावनात्मक सम्बन्धको विकास, समस्या समाधानमा एकताको जागृति र सामूहिक काममा सहकार्यको भावना कायम भएको बताउँदै प्रधानमन्त्री ओलीले कनेक्टिभिटी, व्यापार, लगानीको विषयमा केन्द्रीत रहेर सन् २०३० सम्म बिम्स्टेक क्षेत्रको गरिबी अन्त्य गर्ने प्रतिवद्धता गरिएको सुनाए । 

यो एउटा जमघट मात्रै हो, यसपछि सबै सेलाउँछन् भन्ने गुनासो नसुनियोस् भनेर स्थायी कार्यकारी समिति बनाउने सहमति भएको र बिम्स्टेक चार्टर्डको मस्यौदा बनाउने जिम्मा दिईसकिएको जानकारी दिए । 

बिम्स्टेक शिखर सम्मेलन समापनपछि म्यानमार, श्रीलङ्काका राष्ट्रपति तथा भारतका प्रधानमन्त्रीसँग द्विपक्षीय हितका विषयमा कुरा भएको र त्यसैलाई औपचारिक भ्रमणको रुप दिईएको ओलीले बताए । 

सम्मेलनमा जारी १८ बुँदे घोषणापत्र कार्यान्वयनमा बिम्स्टेक राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग बेग्लाबेग्लै औपचारिक छलफल हँुदा एक देशविरुद्ध हुने आतङ्कवादी क्रियाकलाप हुन नदिने, पञ्चशीलको सिद्धान्तमा अडिग रहने र अहस्तक्षेपकारी सिद्धान्तलाई परिपालन गर्ने महत्वपूर्ण विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले बताए । 

सम्मेलन पछि रक्सौल–वीरगञ्ज–काठमाडौँ रेलमार्ग अध्ययन गर्न भएको समझदारी, नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला उद्घाटन, अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा र सामथ्र्य स्थापना र नेपालको क्षेत्रीय कूटनीतिमा थप प्रभावकारिता बढेको कुरा पनि प्रधानमन्त्री ओलीले सुनाए ।  

प्रधानमन्त्री ओलीले भने, ‘सहयोगका १४ क्षेत्र पुनःसंरचना गर्ने, बौद्ध परिपथ स्थापना गर्ने, सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्ने सहमति हुनुले सम्मेलन सफल भएको बताउँछ ।’ प्रधानमन्त्री ओलीले सीमित स्रोत र साधनका बीच अधिकतम रुपमा परिचालन भई छोटो समयमा सफलता हासिल गर्न सहयोग गर्ने नेपाली जनता, सुरक्षा निकाय र बौद्धिक वर्गको महत्वपूर्ण भूमिका रहेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ