arrow

संयुक्त सैन्य अभ्यासबारे उत्तर दिँदा किन झोंकिए ओली ?, यस्तो छ उनले दिएको जवाफ 

'बिम्स्टेकलाई मिलेट्री प्याक्ट बनाउन खाेज्या हाे र ?, ‘विदेशी सेना इन्भेड गर्न वा कब्जा गर्न आएको हैन’

logo
प्रकाशित २०७५ भदौ १९ मंगलबार
PM_oli1.JPG

काठमाडौं । बिम्स्टेककै छेकोमा बाहिर आएको संयुक्त सैन्य अभ्यासबारे प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोल्न बाध्य भएका छन् ।  आफ्नै दलभित्र यो विषयमा चर्काचर्की भएपछि ओली संसदमा बोल्न बाध्य भएका हुन् । ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्नु अघि नेकपाकै सांसद एवं पूर्व गृहमन्त्री समेत रहेका भीम रावलले सरकारले यो विषयमा सरकारले जवाफ दिनु पर्छ, भने । 

पछि संसदमा पनि नेपाली कांग्रेससहित प्रतिपक्षी सांसदहरुले समेत त्यसको जवाफ मागे । बिम्स्टेकको चौथो शिखर सम्मेलनबारे जानकारी गराउन प्रतिनिधिसभामा उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १४ जना सांसदले प्रश्न गरेका सोधे ।

सांसद दिव्यमणि राजभण्डारीले सैनिक अभ्यासले सशंकित बनाएको भन्दै सार्क राष्ट्रबीच पनि यस्तो अभ्यास नभएको कुरा राख्दै नाकाबन्दीको बेलाको राष्ट्रवादी अडान आँच त आउने हैन ? भनी प्रश्न गरे । 

सांसद प्रेम सुवालले भारतको नेतृत्वमा सुरक्षा छाता बनाउने कुरा के हो ? भनी प्रश्न राखे । यस्तै, पूर्वमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले चुनावमा मित्रराष्ट्रसित आँखामा आँखा मिलाउने नेतालाई जिताएकोमा किन सैनिक अभ्यास आवश्यक भयो ? भनी प्रश्न सोधे । 

सांसद एवं पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले भारतीय प्रधानमन्त्री वायुसेनाको जहाजसहित काठमाडौँ उत्रँदा अरु देशमा कस्तो सन्देश गयो ? भनी सोधे ।  

सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा ९–१० पटक सम्मेलन सफल भएको भनी भनेको कतै असफल भएकोमा पीडा भएको त हैन ? भनी प्रश्न राखे ।  सैनिक अभ्यासले देश सैनिकीकरण तिर जाने त हैन?, उनले भने, ‘बिम्स्टेकका कयौँ देशमा सैनिकीकरण भएकै हो ।’ 

सांसद भरतकुमार शाहले सैनिक अभ्यासले नेपालको तटस्थ नीतिमा प्रभाव त पर्दैन ? भनेर प्रश्न सोधे । यस्तै, सांसद सञ्जयकुमार गौतमले सैनिक अभ्यासले शंका उब्जायो, भने । सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संयुक्त सैन्य अभ्यासबाट त्रसित हुनु पर्दैन भने । जवाफ दिँदा ओली झोंकिए पनि । 

यस्तो छ, उनको पूरा जवाफ
प्रतिप्रश्नबाट उनले जवाफ दिन सुरु गरे । अचम्म के भने, यो सैन्य अभ्यास कहाँबाट आयो ? हामी विभिन्न देशकाबीचमा सैनिक ट्रेनिङका प्रोग्रामहरु अहिलेदेखि होइन, उहिल्यैदेखि हुँदै आएका हुन् । मलाई मन्त्री भइसकेका माननीयहरुले पनि कुरा राख्दा पो छक्क लाग्छ त ? ओलीले यत्ति भन्दा सत्ताधारी दलका केही सांसदले ढ्याप ढ्याप गरे । 

हाम्रा मिलेट्री कलेजमा विभिन्न देशका मिलेट्री पढ्न आउँछन् । पढ्छन् । पढेर डिग्रि लिएर जान्छन् । अब हामी डिफेन्स युनिभर्सिटिको बारेमा सोच्दैछौँ । मिलेट्री पढ्ने त अहिले पनि छँदैछ । यत्ति भन्दा सांसदहरु कानेखुसी गर्न थाले । 

ओलीले अगाडि भने, ‘ब्याचलर लेभलमा पढाई भईराखेको छ । ब्याचलर डिग्रि लिएर गईराखेका छन् । हाम्रा पनि अन्त गएर पढ्छन् । ट्रेनिङका लागि पनि जाने गरेका छन् । हामी सैन्य अभ्यास भारत, पाकिस्तान, चीन, अनि अमेरिकासँग गर्ने गरेका छौँ । राष्ट्र संघमा पठाउनुअघि ट्रेनिङ लिने दिने गर्नु पर्छ, यो त तपाईहरुलाई नै थाहा भएको कुरा हो । 

त्यस बाहेक अहिले कुनै सैनिक अभ्यासको कुरा छैन । र, बिम्स्टेकलाई कुनै मिलेट्री प्याक्टमा बदल्न खोजेको हो र ? ओली झोंकिए, ‘सम्मेलनको घोषणापत्रमा कहीँ लेखेको देखिन्छ र ? सम्पूर्ण कुरा विकासको गरेको छ ।’

कनेक्टिभिटीको कुरा गरेको छ । पिपुल टु पिपुल कनेक्टिभिटीको कुरा गरेको छ । वातावरणको कुरा गरेको छ । मिलेट्री प्याक्टको कुरा गरेको हो र ? नेपाल यस्तो मिलेट्री प्याक्टको कुरा गर्दा पनि गर्दैन । र, त्यस्तो प्याक्टभित्र पस्दा पनि पस्दैन । यो कुनै सरोकारको विषय होईन । थाहा हुनु पर्ने भारतमा नयाँ सेनापति आउनेवित्तिकै हाम्रो सेनाले बोलाउँछ । मानार्थ प्रधानसेनापति दिन्छ । र, हातमा (मुस्कानका साथ) एउटा तरवार दिन्छ । हाम्रोमा प्रधानसेनापति हुनेवित्तिकै भारतले बोलाउँछ । भारतीय सेनाको मानार्थ सेनापति दिन्छ । र, हातमा एउटा तरवार दिन्छ । 

यी डेकरेटमका कुरा हुन् । एउटा सम्मानको कुरा हो । यो सम्मान दिने पहिलेदेखि चलन छ । यस्तै कुरा आउँछन् भनेर म घोषणापत्र नै लिएर बसेको छु । यो फेरि गोप्य पनि होईन । बजारभरी फुलटेक्स्टमा आएको छ । उनले बुँदा ४ मा अंग्रेजीमा लेखिएको कुरा पनि सुनाए । 

विदेशी सेना किन ?–यसको जवाफ 
प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनका क्रममा विदेशी नेताहरुको सुरक्षार्थ आएका सुरक्षाकर्मीको विषयलाई अनावश्यक चर्चा गरिएको बताए । उनले भने, ‘कतिपय विषयलाई अनावश्यक ढंगले उछाल्नु उचित हुन्न । सुरक्षाको विषयलाई हामीले ठीकै ढंगले उठाउनु पर्छ ।’

उनले,  ‘विदेशी सेना इन्भेड गर्न वा कब्जा गर्न आएको हैन’ पनि भने । प्रधानमन्त्रीले नेपालले पनि विदेश भ्रमणमा जाँदा सुरक्षाकर्मी लिएर जाने गरेको बताए । ‘सुरक्षा गच्छे अनुसार हामी पनि बाहिर जाँदा सेनालाई युनिफर्ममा लिएर गएका हुन्छौँ । गैर युनिफर्ममा लिएर गएका हुन्छौँ । यो स्वभाविक कुरा हो’ओलीले जवाफमा दिने क्रममा भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ