arrow

चीनले नेपाललाई चाहिनेजति बन्दरगाह प्रयाेग गर्न दिने (कुराकानीसहित)

माल सामान भारतीय बन्दरगाहकाे तुलनामा द्रुत गतिमा नेपाल पुग्ने

logo
प्रकाशित २०७५ भदौ २१ बिहिबार
rabisankar.JPG

नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकल (कार्यविधि) सम्बन्धी छलफलमा चीन नेपाललाई खुला बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक भएकाे छ ।  चिनियाँ पक्षले जुनसुकै खुला बन्दरगाह प्रयोग गर्न दिने संकेत समेत गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले बताए । तर नेपालले प्रयोग गर्ने बन्दरगाह तोकेर छलफल अन्त्य गर्ने तयारी रहेको प्रवक्ता सैंजुले बताए । हामीले बन्दरगाहकाे प्रयाेग र वार्ताकाे प्रगतिबारे प्रवक्ता सैजुसँग कुरा गरेका छाैँ । 

० चिनियाँ पक्षसँग अब छलफल गर्न के बाँकी छ ?
– स्मरण रहोस्, यो तेस्रो चरणको छलफल हो, पहिलो चरणको छलफल हामीले तिब्बतमा गरेका थियौं । दोस्रो चरणको छलफल बेइजिङमा भएको थियो । यो तेस्रो चरणको छलफल हो । विशेष गरी हामीले प्रयोग गर्न बन्दरगाहका बारेमा छलफलमा गरेका थियौं । उनीहरुले हामीलाई प्रयोग गर्न कतिवटा बन्दरगाह दिनसक्छन् भन्ने विषयमा छलफल केन्द्रित थियो । हामीले चारवटा बन्दरगाह मागेका थियौं, तर जुनसुकै बन्दरगाह नेपाललाई प्रयोग गर्न दिनसक्ने कुरा आइरहेको छ । यही बाटो भएर मात्र आउनुपर्छ भन्ने पनि छैन । जुन अनुकूल हुन्छ, वा हाम्रा आयत वा निर्यातकर्ताले यो बाटो चाहिँ हाम्रा लागि सबभन्दा सहज हुन्छ भन्ने लाग्छ, त्यही बाटो दिने किसिमको कुरा भइरहेको छ । सबै खुला बन्दरगाह भए पनि हामी प्रयोग गर्न सक्दैनौं । दुईतिनवटा बन्दरगाह हाम्रा लागि उपयुक्त हुन्छ । यातायातको विधिबारे हामी छलफल गर्दैछौं । चीनको बन्दरगाह हामीबाट २२ देखि ५ हजार किलोमिटर टाढा पर्छ ।

० हाम्रो आवश्यकता हेरेर चिनियाँ बन्दरगाह प्रयोग गर्न सकिन्छ ?
– बन्दरगाहकै नाम तोक्ने प्रस्ताव हामीले गरिरहेका थियौं, कुन बन्दरगाह र बाटो प्रयोग गर्ने भन्ने विषय अनुसूचिमा बस्ने भयो । अहिले हामीले मागेको बन्दरगाह सबै अनुसूचिमा रहने भए । बन्दरगाह किटान पनि गरिन्छ । उनीहरुले सबै खुला बन्दरगाह दिए पनि दुविधा नहोस भनेर किटान गर्नुपर्ने देखिन्छ ।

० किन यति धेरै समय लागेको ?
– हामीलाई एक दुईवटा चिनियाँ बन्दरगाह प्रयोग गरेको अनुभव छ । बन्दरगाहको सिस्टम, त्यसको मेकानिजम उच्च प्रविधियुक्त छ । त्यसका सुरुका दिनमा हामीले जुन किसिमको प्रोटोकल ड्राफ्ट लगेर गएका थियौं, त्यो भारतको अनुभव अनुसार तयार पारेका थियौं । त्यसमा हामीले परिवर्तन गर्नुपर्ने भएको छ । त्यसकारणले केही बढी समय लागेको हो ।

० अब कति समय लाग्छ ?
– अब धेरै पर्दैन, मेरो विचारमा आज बिहीबार हुने छलफलमा लगभग सबै कुरा टुगिन्छ होला । यो प्रोटोकलमा हस्ताक्षर भएपछि कार्यान्वयनमा जान्छ । त्यसलाई कानुनी रुप दिन हामी तत्काल प्रोटोकलमा हस्ताक्षर गर्दैनौं । मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रोटोकलमा हस्ताक्षर हुन्छ । अहिले हामी माइनोटमा पनि हस्ताक्षर गछौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ