arrow

असमञ्जसमा अजय अलौकिक

असमञ्जस’ नामक काव्यात्मक अभिव्यक्तिको सङ्ग्रह लिएर आए अजय अलौकिक

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
aiay-alaukik-cover.jpg

काठमाडौं। हाम्राकुराका स्तम्भकार, कवि तथा पत्रकार अजय अलौकिक भर्खरै ‘असमञ्जस’ नामक काव्यात्मक अभिव्यक्तिको सङ्ग्रह लिएर आएका छन्। यो उनको ‘यही उल्झनमा म पनि’ २०६१ पछिको यस्तै प्रकारको सङ्ग्रह हो। उनले गत वर्ष चीन बसाइको अनुभव सङ्गालो ‘अलौकिक चीन’ पनि पाठकमाझ प्रस्तुत गरिसकेका छन्।

करिब ७० वटा गीत तथा कविता सङ्ग्रहीत यस ‘असमञ्जस’ सङ्ग्रहमा जीवन भोगाइका क्रममा देखिने, भेटिने र आइपर्ने मायाप्रेम, दुःख, पीडा, लोभ, उत्साह र क्षणिक सुखको नै वर्णन पाइन्छ। केहि वर्षयता चीनको राजधानी पैचिङमा अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा कार्यरत् उनी विदेशमा रहेर मातृभूमिको सम्झना गर्दै यसो भन्छन् –
सास फेर्न देश या परदेश त्यस्तै हो जहिले
हो देशमा आफन्त बीच निसासिन्थ्यो पहिले
परदेशमा एक्लोपनामा निसासिन्छ अहिले
सास फेर्न देश या परदेश त्यस्तै हो जहिले

प्रीति कौरले आवाज भरेको चर्चित गीत ‘परेवाको जोडी उडेको देख्दा’ का गीतकार उनी आफू गीतकार हुनुको पीडाबोध गर्दै लेख्छन् –
मेरो गीत मेरै रानी
मेरो गीत मसँगै खरानी
आफ्ना रचनाहरूलाई काव्यात्मक अभिव्यक्तिमात्र भन्न रूचाउने कवि अजय अलौकिकले एक ठाउँमा यसरी उतारेका छन् आफूलाई –
गर्भमा रहँदा अन्धकार
न आकार न प्रकार
न त केहि याद
ज्ञान बिना पनि अन्धकार
ज्ञान अनि अहंकार
स्वत अन्धकार

वि.स. २०४५ सालबाट कविता तथा गीत लेख्न शुरू गरेका उनले यस ‘असमञ्जस’ सङ्ग्रहमा २०४५ सालताकाकै गीतरचनाहरू पनि समावेश गरेका छन्। गीतकार तथा प्रा डा कृष्णहरि बराल अजयका यी अभिव्यक्तिलाई सबै पाठकको मन हर्नसक्ने क्षमता रहेको भन्दै वैयक्तिक भएर पनि निर्वैयक्तिक बन्ने सामर्थ्य राख्नेमा पूर्ण विश्वस्त रहेको बताउँछन्।

यस असमञ्जस सङ्ग्रहको आवरण पनि निकै नै चित्ताकर्षक छ र यस आवरण चित्र बनाएका छन्, वरिष्ठ डिजाइनर सुन्दर श्रेष्ठले। यस सङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ र यसको मुल्य १०१ रूपैंया रहेको छ। विशेष लोकार्पण कार्यक्रम नगरिएको यस ‘असमञ्जस’ सङ्ग्रहको जबजब पाठकको हातमा पर्नेछ तबतब पाठकको हातबाट विमोचित हुने कविको भाव छ।

समग्रमा अजय अलौकिकको यस ‘असमञ्जस’ सङ्ग्रहमा सङ्ग्रहीत गेयात्मक तथा गद्यात्मक कविताहरूले पाठकको मनलाई दुःखको अन्धकारमा र आँसुको सागरमा लैजाने छ र साथै खुशीको सगरमा पनि उडान भराउने छ।
पोखिने चाहना छ
मेरो संसारमा भने
पोखाऊ, बग तिमी
रहर जाग्यो मलाई पनि।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ