arrow

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समितिमा ग‌ृहबाट रहेका ४ जना सुरक्षित, केसी असुरक्षित ? (कुराकानीसहित)

केसी किन भागे थाहा छैन : संयाेजक मैनाली

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
nirmala1.JPG

निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिका सदस्य बीरेन्द्र बहादुर केसीले समितिमा नरहेको घोषणा गरेका छन् । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव रहेका केसीले पत्रकार सम्मेलन नै गरेर समितिको सदस्यबाट अलग्गिएको घोषणा गरेका हुन् । उनले छानबिनबारे थप भएको म्यादमा असन्तुष्टि जनाए । त्यतिमात्रै होईन उनले आफू त्यो समितिमा बस्दा अरक्षित महसुस गरेपछि अलग्गिएको बताएका छन् । हामीले उनीसँग संक्षिप्त कुरा गरेका छौँ । 

० छानविन समितिको सदस्यबाट राजीनामा दिनु भा हो ?
– समितिमा नबस्ने वा अलग भएको घोषणा गरेको हुँ । अर्को अर्थमा राजीनामा भन्दा पनि हुन्छ । 
० समितिबाट अलग हुनुको कारण भन्न मिल्छ ? 
–म कर्मचारी हुँ । कर्मचारीको मर्यादामा रहनु पर्छ । तपाईले सोधेको प्रश्नको सोझो उत्तर दिन सक्दिन । म यत्ति भन्नु त्यो समितिमा बस्न आफुलाई असुरक्षित ठाने र अलग हुने निर्णय लिए । 
० असुरक्षित भन्नाले के धम्की आयो ? 
–त्यति धेरै बोल्न नलगाउनुस् । मलाई अझै कर्मचारीको रुपमा रहन मन छ । 
० कृपया भन्न मिल्ने भए मात्रै,,, तपाईले दिएको वक्तव्यमा शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहयो भन्नु भएको छ नि ? 
–मेरो वक्तव्यमा भएको कुरा ठिक साँचो हो । अहिलेलाई यत्ति भनौँ । 
० धेरै कुरा नभन्नुस्,,, तर कुन तहबाट कस्तो धम्की आयो ? तपाईले भन्न खोज्नु भएको के हो ? 
–त्यो चैँ नभनौ । मलाई अरुले बरु मन्त्रीलाई भनेको भए हुन्थ्यो । सचिवलाई भनेको भए हुन्थ्यो । सुरक्षाको लागि गुहारेको भए हुन्थ्यो । किन भागेको भनेर पनि भने । म सँग विकल्प एउटै मात्र थियो । समितिबाट अलग्गिनु । मैले आफू असुरक्षित भएकै कारण हतारमा निर्णय लिएको हुँ ।, दायाँ बाँया केही सोचिन । 
० छानविन समितिमा त पाँच जना थिए । तपाई मात्रै भाग्नु पर्ने कारण ? 
–अरु सबै गृहमन्त्रालय अन्तर्गतका पर्नु भो । त्यो पनि प्रशासनिक । म चैँ न्यायसेवाको परेँ । म न्याय सेवाको भएकै कारण सुरक्षित ठानिँन । म असुरक्षित थिए यत्ति भनाैँ ।
० कसैलाई भन्नु भो म समितिबाट अलग हुँदैछु भनेर ? 
–मैले मेरो संयोजकलाई भने । म अब समितिमा बस्दिन । १५ दिनको म्याद सकियो । थपिएको म्यादमा अब म बस्दिन । 
० काम कति भएको थियो ?
–१५ दिनमा धेरै काम भएको थियो । प्रतिवेदन तयार पार्ने काम मात्रै बाँकि थियो । 

छानविन समितिका संयोजक–सहसचिव हरिप्रसाद मैनाली 
छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले वीरेन्द्र केसी बाहिरिएको खबर चैँ सुनेछन् । तर, के कारणले बाहिरिए भन्ने चैँ भेउ पाएको छैन भन्छन् उनी । हामीले उनीसँग पनि संक्षिप्त कुरा गरेका छौँ । 
० वीरेन्द्र केसी तपाई संयोजक रहेको समितिको मान्छे हो ? 
– हो हो । 
० राजीनामा दिनु भएको हो ? 
–हैन । तर, मैले उहाँ बाहिरिएको सुने । आधिकारिक रुपमा अर्थात् उहाँकै मुखबाट सुनेको छैन । 
० उहाँले त तपाईलाई भनेको भन्नु भएको छ
–त्यस्तो केही भन्नु भएको छैन । उहाँ किन बाहिरिनु भो भन्ने पनि मैले राम्ररी बुझिन । 
० काम गर्दा वा छलफल गर्दा असहमति थियो ? 
–त्यस्तो केही थिएन । 
० कञ्चनपुर कति दिन बस्नु भो ? 
–पूरै १५ दिन । 
० काम कति सकियो ? 
–लगभग सकियो । अहिले केन्द्रमा तानेका अधिकारीहरुलाई सोधपुछ गर्ने काम भईरहेको छ । कञ्चनपुरबाट सबै पक्षको कुरा हामीले ल्याईसकेका छौँ । 
० कति दिनमा दिनु हुन्छ, प्रतिवेदन ? 
–चार–पाँच दिनमा प्रतिवेदन लेखिसक्छौँ । कञ्चनपुरबाट केन्द्रमा तानिएकाहरुको विवरण लिएपछि प्रतिवेदन पूरा हुन्छ । 

केसीले निकालेको विज्ञप्तमा उल्लेख व्यहोरा 
केसीले विज्ञप्तीमार्फत भनेका छन्, ‘नेपाल सरकारको मिति २०७५ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार २०७५ भदौ २५ गतेदेखि लागु हुनेगरि १५ दिन म्याद थप गरेको पत्र प्राप्त भएकोले यस सन्दर्भमा निर्मला पन्तको बर्वरतापूृक जघन्य अपराधको विरुद्धमा उभिई निर्मलाको आत्मालाई र निजको परिवारलाई यस समितिको सदस्यबाट न्याय दिन मेरो तर्फबाट असम्भव देखेर आज मिति २०७५ भदौ २५ गतेदेखि समितिबाट अलग रहेको व्यहोरा नेपाल सरकार, प्रदेश नम्बर ७ सरकार लगायत सम्बन्धित निकायहरुलाई जानकारी गर्दछु ।’

यस्तै, ‘घट्नाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागीपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाईडेट नेशन ह्युम्यान राईट्स अफिस अफ द हाई कमिशन, मानव अधिकार सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत नागरिक समाज र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाको लागि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछु’ विज्ञप्तिमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ