arrow

वार्ता गर्न गएकी महागढीमाई नगरपालिकाका उपमेयर तारादेवी कानुमाथि हातपात

logo
मुकेश यादव,
प्रकाशित २०७५ भदौ २८ बिहिबार
bara_dy-mayor.jpg

बारा। महागढीमाई नगरपालिका बरियारपुरका उपमेयर तारा देवी कानुमाथि बिहिबार मध्यान्ह हातपात भएको छ। गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि आग्रह गर्न गएकी उपमेयर कानुमाथि हातपात भएको हो। 

उपमेयर कानुमाथि विद्यार्थीहरुको आडमा केही व्यक्तिहरुले गढीमाई मन्दिर नजिक हांतपांत गरेका छन्। विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले काज सरुवा भएको शिक्षक मनोज साह गोंढलाई फिर्ता गर्न माग गर्दै मंगलबार विद्यालयमा आगजनी, तोडफोड गर्दै आन्दोलनमा उत्रेका थिए। गढीमाई मन्दिर नजिक विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरिरहेको बेला वार्ता समिति बस्दा समेत विद्यार्थीहरु नआएपछि विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि उपमेयर कानुले आग्रह गर्न जाँदा विद्यार्थीसंगै रहेका केही व्यक्तिहरुले हातपात गर्दै दुव्र्यवहार गरेका थिए।

उपमेयर माथि विद्यार्थीहरुको आडमा केही व्यक्तिहरुले हातपात गर्दै दुव्र्यवहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए। उपमेयर माथि हातपात गर्दै दुव्र्यवहार गर्नेलाई पहिचान गरी कानुनी कारवाही गर्ने प्रजिअ भट्टराईले बताए। विद्यार्थीको माग पुरा हुने बेलामा पनि विद्यार्थीहरुलाई उचालेर केही व्यक्तिहरुले आफनो नीजि स्वार्थतर्फ लागेको खुल्न आएको भट्टराईले बताए।

विद्यार्थीहरुले गत मंगलबार विद्यालयमा आगजनी गर्दै तोडफोड गरेपछि नगरपालिकाले वडा नं. १ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदसिय छानबिन तथा समन्वय समिति गठन गरेको थियो। आन्दोलित विद्यार्थीहरु र विद्यार्थीहरुसंग रहेका केही व्यक्तिहरुले बरियारपुर बजार, ईनर्वा बजार बन्द गराएका छन।

विद्यार्थीहरुले माग राखी गरेको आन्दोलनको लागि छानबिन तथा समन्वय समिति गठन गरेको र समितिले दिएको प्रतिवेदन अनुसार मांग पुरा गर्ने सार्वजनिक रुपमै पटक पटक प्रतिबद्धता दिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए।

कक्षा १० का एक सय आठ जना विद्यार्थी र तिनका अभिभावकहरुलाई विद्यालयबाट पत्राचार गरी छलफलमा बोलाईएको नगर प्रमुख यादवले बताए। विद्यार्थीहरु आन्दोलित भएपछि आफुले आन्दोलनको दिन देखि नै विद्यार्थीहरुको माग पुरा गर्ने आश्वासन दिदै आएपनि विद्यार्थीको नाममा केही व्यक्तिहरुले राजनीतिकिरण गर्न खोजेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ