arrow

निर्मला घटना नेकपालाई बदनाम गर्न गराइएको हो र प्रचण्ड ज्यू ? 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
pm-puspa-kamal-dahal-2017-1.gif

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजमा बढ्दै गएको हत्या, हिंसाका घटनाहरु नियोजित हुनसक्ने आशंका गरेका छन् ।

प्रचण्डले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा समृद्धिको यात्रामा अघि बढेको दुई तिहाइ बहुमतको सरकारलाई नराम्रो देखाउने कोशिश स्वरुप यस्ता घटनाहरु गराइरहेको हुनसक्ने आशंका व्यक्त गरे । 

उनले समाजमा अहिले भइरहेका घटनालाई राजनीतिक रुप दिन खोजे । सीधा अर्थ लगाउँदा अहिले भइरहेका घटनाहरु उनको पार्टी नेकपालाई बदनाम गराउन खोजिएको प्रचण्डको विश्लेषण छ । 

आरोप कि नियत ? 
प्रचण्डको यो भनाइले उनको आलोचना भइरहेको छ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा नेकपालाई बदनाम गराउने कुरा कहाँबाट आयो ? 

घटनालाई निष्कर्षमा पुर्याउन स्थानीय प्रतिनिधिदेखि सरकारले मद्धत गर्नुपर्ने ठाउँमा नेकपाबाट भएको प्रत्यक्ष असहयोगले नै बरु नेकपाले बलात्कार र हत्यालाई प्रोत्साहन गरेजस्तो देखियो । 

बलात्कार, हत्या र हिंसा सामाजिक विषय हुन् । यी विषयमा कुनै पनि राजनीतिक रंग लगाइनु हुँदैन । निर्मला हत्याकाण्डसँग जोडिएको बिषयमा नेकपाका नेता भीम रावलले चर्को विरोध गरे । उनले जानीजानी घटनालाई बढाइचढाइ गरिएको आलोचना गरे । 

उनले राजनीति गरिएको भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यही कुरा दोहोर्याए । राजनीति गरिएको भने । प्रचण्डले पनि पार्टी र दुई तिहाईको सरकारलाई बदनाम गर्न यस्ता घटना गराइएको भने ।

यदि त्यस्तो हो र विपक्षीले यस्ता घटना गराएका हुन् भने सरकार त्यस्ता अपराधीलाई कार्वाही गर्न किन डराउँछ ? 

प्रचण्डले बदनाम गर्न खोजिएको बताइरहँदा नेकपाका कार्यकर्ता नै मुछिएका रहेछन् भने तिनीहरुलाई के गर्ने ?  

तीन विषय महत्वपूर्ण
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबार संसद अवरुद्ध गर्यो । काँग्रेसले तीन वटा मुद्धा उठाएको थियो । निर्मला हत्याकाण्ड, रोल्पामा नेपाल तरुण दलका जिल्ला नगर सभापति रोहित पुनको हत्या र ललितपुरका पत्रकार राजु बस्नेत पक्राऊ । 

निर्मला हत्या –
निर्मला हत्या भएको काण्डमा प्रधानमन्त्रीले नै अन्टसन्ट बोल्नु, प्रहरीले नै घटनालाई दबाउन खोज्नु र विभिन्न दवावपछि सिडियो नै फेरिनु र पनि हत्यारा पत्ता नलाग्नु । शंकाको घेरामा भएपछि घटनामा जोडिएकाहरुको डीएनए परीक्षण गरिने घटनासम्म पुग्नु खेलाँचीको विषय हैन । 

सरकार यसमा नराम्ररी चुकेको छ । प्रहरी प्रशासन निकम्मा ठहरिएको छ । सानो गल्ती हुँदा सर्वसाधारणले कार्वाही भोग्नुपर्छ । तर यति ठूलो गल्तीमा समावेश हुँदा दुई तिहाईको दम्भमा बसेको सरकार र प्रहरी प्रशासनलाई किन कुनै कार्वाही हुँदैन अहिले आम जनमानसमा उव्जिएको प्रशन हो यो। 

रोहित पुनको हत्या

प्रचण्डले हत्याहिंसामा नेकपालाई बदनाम गराउन खोजेको भनेका छन् । त्यसोभए रोल्पामा काँग्रेसका कार्यकर्तालाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको घटना कसलाई बदनाम गराउन ? यसमा आँखा चिम्लिने की कार्वाही गर्ने ? 

सत्ता र सुरक्षाको आडमा जे पनि गर्न सक्छु भन्ने भ्रम पाल्नु हिंश्रक मानसिकता बाहेक अरु के हुन सक्छ ? सशस्त्र द्धन्द्धमा पनि यस्ता घटना गराइएका थिए । त्यतिबेला हतियारको दम्भले गर्दा सर्वसाधारण डराएका थिए । के अहिले पनि त्यही स्थिति छ भनेर तर्साउन खोजिएको हो त अध्यक्ष प्रचण्डज्यू ? 

पत्रकार राजु बस्नेत पक्राऊ

पत्रकार राजु बस्नेतले कम्युनिष्ट निकटको पत्रिका ‘दृष्टि साप्ताहिक’ को समाचारलाई साभार गरेर प्रकाशन गरेका थिए । दृष्टिलाई सोधियो मात्र साभार गर्नेलाई सरकारले थुनेर राख्यो । 

प्रचण्डज्यू के नेकपा बाहेकका सबै सरकारका शत्रु हुन् ? अनि मुलुकका दिनानुदिन भइरहेका बलात्कारका घटना नेकपालाई नै बदनाम गर्न गरिएका हुन् त ? 

फितलो विष्लेषण गर्नुभन्दा यस्ता घटना हुन नदिन सरकार चलाइरहेको दलका एक जिम्मेवार नेता लाग्नु पर्ने थियो । सुरक्षा प्रशासनलाई गम्भीर निर्देशन दिनु पर्ने थियो । 

तर हरेक घटनामा आफ्नो पार्टीलाई र सरकारलाई सुरक्षित गर्ने बाहेक अन्त नलाग्ने हो भने जुनसुकै बेला पनि सर्वसाधारण विद्रोहतिर नलाग्लान् भन्न सकिन्न ।  

दुई पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति यसै पनि समाजको लब्धप्रतिष्ठित हो । त्यसको गरिमा राख्ने जिम्मा भने आफ्नै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ