arrow

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २ करोड ४० लाखका मेशिनहरु थन्किए 

उपचारका लागि ४ सय जना लाइनमा 

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
sahid-dharma-bhakta.JPG

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको २० वटा डायलाइसिस मेशिन काम नलाग्ने अवस्थामा पुगेको छ । अहिलेसम्म ६५ वटा डायलाइसिस मेशिन भित्राइसकेको यस केन्द्रका २० वटा मेशिनले भने काम गर्न छाडेको अस्पतालको प्रशासन शाखाले जनाएको छ ।

साथै केन्द्रले जनकपुर अस्पताल र सेती अञ्चल अस्पतालमा बिरामी चापलाई मध्यनजर गर्दै केन्द्रकै कर्मचारीसहित २–२ वटा मेशिन त्यसतर्फ पठाएको छ ।  

अहिले दैनिक ३० देखि ३५ वटा मेशिनले मात्र नियमित काम गरिरहेको हुँदा यसले दैनिक रुपमा कम्तीमा ९० देखि १५० जनासम्मलाई मात्रै डायलाइसिस सेवा दिन सम्भव भएको केन्द्रका नेफ्रोलोजी बिभागका प्रमुख बरिष्ठ चिकित्सक कल्पना श्रेष्ठले बताए । 

मेशिन राख्ने स्थानको कुरा गर्ने हो भने ४० भन्दा बढी अटाउने स्थान नै छैन । नयाँ मेशिन नै कसैले वा कहीबाट उपलब्ध गराए पनि राख्ने स्थान नै छैन, डा कल्पना श्रेष्ठ बताउँछन । 

केन्द्रमा अहिले पूर्वदेखि पश्चिम महाकालीसम्मका मिर्गौला फेल भएका बिरामीहरु उपचारका लागि आउने गरेकाले पनि सबैलाई सेवा दिन स्रोत साधन भन्दा पनि स्थानकै अभाव भएको केन्द्रका कार्यकारी निर्देशक तथा मिर्गौला प्रत्यारोपण बिशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए । 

अहिले पनि डायलाइसिस सेवाका लागि यस केन्द्रमा ४ सय जना लाइनमा रहेको र उनीहरुको माग तथा आबश्यकता अनुसार सेवा दिन नसकेकोमा कार्यकारी निर्देशक डा. श्रेष्ठले  दुःख व्यक्त गरे  ।  

एउटा मेशिनले दैनिक ३ सिफ्ट गरी १५ देखि २२ घण्टासम्म काम गरिरहेको हुन्छ । एउटा मेशिनले एक बिरामीलाई डायलाइसिस गर्न अघि आधा घण्टादेखि ४५ मिनेटको समय लिन्छ त्यसपछि ४ घण्टा सेवा दिने समय  भएकाले दैनिक १५ देखि २२ घण्टासम्म काम गरिरहेको हुन्छ । 

सामान्यतया एउटा मेशिनको २० देखि २५ हजार कार्यक्षमता हुन्छ । अर्थात यस्ता मेशिनको आयु भनेको २० देखि २५ हजार घण्टा काम गर्न सक्ने हुन्छ  । यो हिसाबले पुर्ण क्षमता नै प्रयोग गरे पनि ३ बर्षमात्र आयु रहेको देखिन्छ तर केन्द्रले ५ बर्ष भन्दा बढी समय प्रयोग गरिसकेको छ ।  

राख्ने स्टोर नहुँदा केन्द्रको प्रशासन शाखा बाहिर अलपत्र परेका डायलाइसिस मेशिनहरु नेपालमा यो मेशिन बनाउन प्राबिधिक नेपालमै मगाइसकेपनि आबश्यक पार्टपुर्जा बिदेशबाट मगाउनुपर्ने भएकाले त्यसको फेरी प्रयोग गर्ने भन्दा पनि लिलामी गर्नु नै उपयुक्त रहेको केन्द्रको प्रशासनले जनाएको छ ।

एउटा मेशिनको खरिद गर्दा ८ देखि १२ लाख खर्च हुन्छ । यो हिसाबले कम्तीमा पनि २ करोड ४० लाख मुल्यका मेशिनहरु केन्द्रमा थन्किएका छन् ।  

यी थन्किएका मेशिनहरुलाई रिप्लेस गर्न नमिल्ने भएकाले डिस्पोज गर्ने तयारी भएको डा कल्पनाको भनाइ छ । तैपनि मिलेसम्म केही मेशिन पुनःप्रयोग गर्ने उनको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ