arrow

स्वाइन फ्लु र हङकङ फ्लुले पाँच जनाको ज्यान लियो, प्रकोपग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
swine-flu1.jpg

राजविराज । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।

सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको प्रमुख मिश्रले बताए ।

सो रोगबाट कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो । 

भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, र्याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

रगत परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण फेला परेको उक्त प्रयोगशालाको रिर्पोटमा उल्लेख छ । 

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका छ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले जानकारी दिए । साथै आठ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उनले बताए । 

एकपछि अर्को गर्दै लगातार बिरामीको सङ्ख्या थपिँदै गएपछि स्थानीय त्रसित भएको सोही कञ्चनरुप नगरपालिकाका रोहित देवले बताए । 

यता जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवालाले भने पाँचै जनाको मृत्युको कारण स्वाइन फ्लु नै भएको अहिले भन्न सक्ने अवस्था नरहेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ