arrow

२० जीबीको फाइभजी इन्टरनेट : चीन र अमेरिकामा कसले ल्याउला पहिला ?

logo
प्रकाशित २०७५ असोज ३ बुधबार

काठमाडौं । अहिले पाँचौं पुस्ताको इन्टरनेट फाइभजी विस्तारको काम भइरहेको छ । यो इन्टरनेट कसले पहिला ल्याउने भन्ने विषयमा पनि विश्वका शक्तिराष्ट्रहरुको विषयमा रस्साकस्सी सुरु भएको छ । प्रविधिको विषयमा अगाडि देखिएका अमेरिका र चीन नै यो मामिलामा अगाडि देखिन्छन् । 

चीनले सबैभन्दा पहिला फाइभजीको सेवा ल्याउने तयारी गरिरहेको अवस्थामा अमेरिका भने सशंकित देखिएको छ । सधैंजसो अमेरिकामा चिनियाँ उत्पादनहरुको प्रयोगले सुरक्षामा चुनौती थपिएको भन्दै आलोचना हुने गरेको छ । अमेरिकाले पनि यस किमिसको समस्या आउनसक्ने भन्दै चीनभन्दा पहिला यो प्रविधि ल्याउने तयारी सुरु गरिसकेको छ । नयाँ प्रविधिमा चीन अगाडि आउनसक्ने देखिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिनाअघि सिँगापुरको ब्रोडकम कम्पनीले क्वालकोमलाई खरिद गर्ने सम्झौता रोकिदिएका थिए । यो सम्झौता एक खर्ब १७ अर्ब डलरबराबरको थियो । यो सम्झौताले क्वालकोमको फाइभजीको क्षमतामा प्रभाव पार्नसक्ने भन्दै अमेरिकाबाट यस्तो योजना आएको हो । 

वास्तवमा के हो फाइभजी ? 

यो पाँचौं पुस्ताको इन्टरनेट सेवा हो । विज्ञहरुका अनुसार यसमा अत्यधिक डाउनलोडिङ स्पिड हुन्छ । यसको स्पिड २० गिगाविट्स प्रति सेकेण्डको रहने बताइएको छ । यो स्पिडमा कुनै पनि एचडी क्वालिटीको मुभी एक सेकेण्डभित्र डाउनलोड गर्न सकिन्छ । यो इन्टरनेट सेवामा छोटो समयको अन्तरालमा धेरै डाटाहरु दिनसक्ने क्षमता हुन्छ । 

पछिल्लो समयको इन्टरनेटमा सुधार आवश्यक रहेको देखिएसँगै यो इन्टरनेट सेवाको अवधारणा ल्याइएको हो । यस किसिमको प्रविधि स्वचालित कार, स्मार्ट सहर, भर्चुअल रियालिटी (भीआर) र रिमोट सर्जरीका लागि निकै उपयुक्त हुने बताइएको छ । फाइभ जी इन्टरनेटको मापदण्ड दुई प्रमुख अन्तर्राष्ट्रिय कम्पनीहरु मिलेर बनाएका हुन् । आईटीयू र ३जीपीपी मिलेर यसको विशेषता तय गरेका हुन् र यो सेवा सन् २०२० सम्म बजारमा आउने अनुमान गरिएको छ । यसको विषयमा एक वर्षअघि मात्र अन्तिम मापदण्ड तय गरिएको थियो । 

फाइभजी प्रविधिको लागि उच्च फ्रिक्वेन्सीको सिग्नल आवश्यक हुन्छ । यद्यपि अहिले विश्वका धेरै मुलुकहरुमा निकै कम फ्रिक्वेन्सीमा चल्ने डिभाइसहरु बढी रहेका छन् । त्यसैले नयाँ प्रविधिको प्रयोगका लागि आफ्नो क्षमतामा पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । साथै उच्च फ्रिक्वेन्सी वर्षा, हुस्सु, भवन तथा रुखहरुबाट प्रभावित बन्नसक्छ । जसको कारण अहिलेको तुलनामा धेरै एन्टेनाहरु सिग्नलका लागि आवश्यक हुने देखिन्छ । यसले अहिलेको तुलनामा इन्टरनेटको खर्च भने बढाउन सक्छ । यसको भार विश्वका दूरसञ्चार कम्पनीहरुलाई केही मात्रामा पर्नसक्ने देखिन्छ । 

अहिलेसम्म तोकिएको सीमाअनुसारको नयाँ प्रविधि बजारमा आउने वा नआउने भन्ने विषयमा भने टुङ्गो लागिसकेको छैन । वास्तविक जीवनमा यसले कसरी काम गर्ला भन्ने आशंकाहरु भने अझै मेटिएका छैनन् । अहिले पनि धेरै मानिसहरुको लागि फोरजीको विबेषताअनुसारको सुविधा उपलब्ध हुन सकेको छैन । फाइभजीमा पनि यसै किसिमको समस्या देखिन सक्छ । तोकिएको अनुसारको मापदण्ड वास्तविक जीवनमा पनि उपलब्ध भने नहुन पनि सक्छ । 

फाइभजी सबैभन्दा पहिले ल्याउने विषय किन महत्वपूर्ण बन्यो ? 

फाइभजी सेवा बजारमा ल्याउनु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसमा पनि सबैभन्दा पहिले बजारमा यो प्रविधि ल्याउनुले छुट्टै अर्थ राख्ने गर्छ । जसले सबैभन्दा पहिला यो प्रविधि बजारमा ल्याउँछ, उसलाई यसको बौद्धिक सम्पत्तिको पनि हक लाग्ने हुन्छ । जसले आर्थिक हिसाबमा ठुलो फाइदा हुनसक्छ । सबैभन्दा पहिला यो प्रविधि ल्याउनेले यो प्रविधि प्रयोग गर्ने कम्पनीहरुबाट रोयल्टी उठाउन पाउँछन् । अहिले अमेरिका र चीनको सरकारले फाइभजी सेवालाई सहयोग तथा विस्तारको लागि उत्प्रेरित गरिरहेका छन् । 

केही समयअघि चीनको आधिकारिक विभागले सार्वजनिक गरेको विवरणअनुसार यो सेवाले सन् २०३० सम्मको अवधिमा चीनको आर्थिक उत्पादनमा ६३ खर्ब युआन थप हुनेछ र ८० लाख मानिसहरुले रोजगारी पाउनेछन् । त्यसका साथै यो सेवा बजारमा सबैभन्दा पहिला ल्याउनेलाई यसले कसरी काम गर्छ भन्ने विषयमा सबै कुराको जानकारी हुन्छ, जसको कारण आगामी दिनमा इन्टरनेटको माध्यमबाट कुनै पनि अवैध कामहरु पनि हुनसक्ने देखिन्छ । त्यसैले अमेरिका चीनसँग सशंकित देखिएको हो । पछिल्लो समय अमेरिका फाइभजी सेवामा नेतृत्व गर्न केही कमजोर रहेको देखिएसँगै अमेरिकालाई चिन्ता परेको हो । 

फाइभजीका लागि चीनको बाटो 

चीन सरकारले लगाताररुपमा फाइभजी प्रविधि आफूले ल्याउने प्रतिबद्धता जनाउँदै आएको छ । उसले आफ्नो १३ औं पञ्चवर्षीय योजनामा पनि यसलाई समावेश गरेको छ । प्रधानमन्त्री लि खछ्याङले सार्वजनिक गरेको वार्षिक विवरणमा पनि चीनमा फाइभजी सेवाको विषयमा चर्चा भएको थियो । साथै चीन फाइभजीको मापदण्डअनुसार नै यो प्रविधि ल्याउनका लागि उत्सुक देखिएको छ । यसअघि फोरजी बजारमा ल्याउने मामिलामा चीन पछाडि रहेको थियो, जसको कारण यो प्रविधिमा सबैभन्दा अगाडि आउने प्रयास चीनको छ । ३जीपीपीको मापदण्डको ४० प्रतिशतमा चीन अगाडि देखिइसकेको छ । साथै चीनले ३जीपीपीलाई ८७ सय विवरणहरु पठाएको छ अर्थात् ३२ प्रतिशत विवरणहरु पठाइसकेको छ । 

विशेषगरी चिनियाँ कम्पनी हुवावे फाइभजी इन्टरनेटको अनुसन्धानमा अगाडि देखिएको छ । न्युयोर्क टाइम्सको एक विवरणमा हुवावेले सन् २००९ यता फाइभजीको अनुसन्धानको लागि ६० करोड डलरबराबरको रकम खर्च गरिसकेको छ । सन् २०१८ का लागि मात्र उसले ८० करोड डलर छुट्याएको छ । चीनले पनि केही समयसीमा तोकेर फाइभजीको विस्तारको योजना अघि सारेको छ । अहिले चीनका केही सहरहरुमा फाइभजी प्रविधिको परीक्षणको काम पनि चलिरहेको छ । यस्तोमा केही विश्लेषकहरु चीनले नै फाइभजी प्रविधि सबैभन्दा पहिला ल्याउनेमा विश्वास गर्छन् । 

फाइभजी पक्कै पनि सानो विषय होइन । यसले विश्वको प्रविधिको भविष्यको केही आधार तयार पार्नेछ । यसले आगामी दिनमा कस्तो किसिमको मेसिन, मानिसहरुको जीवनशैलीमा व्यापक परितर्वन हुनसक्ने देखिन्छ ।  अहिलेसम्म यसको अन्तिम रुप तथा यो कसको योजना हो भन्ने कुराको जानकारी भने आइसकेको छैन । यस विषयमा अझै पनि निर्णय हुन बाँकी नै छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ