arrow

बूढेसकालमा पुस्तकालय धाउँदै आमाहरु

logo
राजकुमार पराजुली,
प्रकाशित २०७५ असोज ५ शुक्रबार
library.jpg

काभ्रेपलाञ्चोक । पोखरीचौरी गाउँपालिका–५ की ५५ वर्षीया चन्द्रा गौतम गाउँको पुस्तकालय धाउन थालेको चार वर्ष भयो । बढीजसो धार्मिक किताक पढ्न रुचाउने गौतम अहिले रामायण किताब घरमै लगेर पढ्छिन् ।

घरमा काम नभएको र भएको बेला सकेरै पुस्तकालय धाउने उनको दैनिकी हो । उनि भन्छिन् , “अक्षर चिन्न थालेदेखि नै गाउँको पुस्तकालय गएर केहीबेर यहाँका किताब पढ्छु, नयाँ र धेरै कुरा सिकिन्छ भनेर घरको काम सकेर जाने गरेको छु ।”

चन्द्रा मात्र होइन, उनको सङ्गतकी ४७ वर्षीया शारदा चौलागार्इंको पनि फुर्सद्को समय पुस्तकालय आएर किताब पढ्ने दिनचर्या नै भइसक्यो । ‘‘फुर्सदको बेला पुस्तकालय आउँछु, नभए साँझ बिहान पढ्न घरमै किताब लैजान्छु’’ चौलागार्इंले उत्साहित हुँदै भनिन्, “घरको काम सकेर साँझपख र काम नभए दिउँसै पुस्तकालय आउने बानी परिसक्या छ ।”

पोखरीचौरी गाउँपालिका–५ सुलिकोटमा समुदायद्वारा स्थापित पुस्तकालयमा बसेर गौतम र चौलागाईंबाहेक छिमेकी गाउँका ४० वर्ष उमेर नाघेका अनुता घिमिरे, तारा ढकाल, सविना गौतम अहिले दैनिक किताब पढ्नेमा पर्‍छन् । उनिहरु पुस्तकालयमा भएको किताब छानीछानी पढ्न पाएकामा खुशी पनि देखिन्छन्  । ‘‘सबैखाले किताब छन्, मन लागेको किताब यहीँ पढ्छु नभए घर लैजान्छु’’ घिमिरेले भने ।

यहाँका गृहीणीको पुस्तकालय मोह देखेर अक्षर सग्ला चिनेका अन्य महिला पनि आउन थालेको पुस्तकालयकी सहयोगी सावित्री चौलागार्इं बताउछिन्  । उनि भन्छिन् , “पहिल्यै पढ्न सक्ने केही महिला र गाउँमा प्रौढ कक्षा पढेका आमाहरु पनि पुस्तकालयमा आउनु हुन्छ,, कुन किताब पढ्ने भन्ने उमेरमा पनि भरपर्दो रहेछ ।” उहाँका अनुसार पुस्तकालयमा महिलाको तुलनामा पुरुष धेरै कम आउँछन् ।

स्थानीय सहयोगी सामुदायिक अध्ययन केन्द्रले चार वर्षअघि पुस्तकालय व्यवस्थापन गरेको हो । यो पुस्तकालय जिल्लाको कोशीपूर्व अर्थात् दुईवटा गाउँपालिका एक मात्र सामुदायिक पुस्तकालय पनि हो । पुस्तकालयमा साहित्य, मानवअधिकार, राजनीतिक, धार्मिक–ग्रन्थ र कृषिका गरी करीब दुई हजार ५०० वटा पुस्तक छन् । पुस्तकालयमा जिल्लाका केही पत्रिका पनि उपलब्ध हुन थालेका छन् ।

केन्द्रका अध्यक्ष यादव चौलागार्इं पढ्न जाने अघिकांश गृहिणी पुस्ताकालयप्रति आकर्षित देखिएको बताउछन् । उनले भने, “घरमा लैजान चाहानेलाई एक हप्ताको म्याद दिएर पठाउने गरिन्छ ।” उनले छिट्टै कम्प्युटर र किताब थपेर पुस्तकालयलाई अझ व्यवस्थित बनाउने बताए ।

गाउँका महिला पुस्तकालय जान थालेपछि गाउँको शैक्षिक विकासमा टेवा पुग्ने पुराना शिक्षक विष्णु चौलागार्इं बताउछन्। उनि भन्छन् “हामीले महिलालाई लक्षित गरेरै पुस्तकालय व्यवस्थित गर्‍यौँ, आफ्नै गाउँ र छिमेकी गाउँका सबै गृहिणीलाई पुस्तकालयसम्म ल्याउने प्रयासमा जुटिरहेका छौँ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ