arrow

हवाइ सेवा प्रभावित हुँदा खुम्बुको पर्यटनमा असर

logo
प्रकाशित २०७५ असोज १० बुधबार
lukla_airport.jpg

सोलुखुम्बु । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो ।

असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् ।

काठमाडौंदेखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाडौँबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ ।

फाप्लुबाट यात्रु पाए पनि काठमाडौँबाट सोलुखुम्बु आउने यात्रु नहुँदा उडान हुन नसकेको समिट एयरलाइन्स फाप्लुका इन्चार्ज मिङमार शेर्पाले जानकारी दिए । काठमाडौँबाट यात्रु पाएको खण्डमा नियमित उडान तालिका राख्ने उनको भनाइ छ ।

मौसम प्रतिकूलताका कारण हवाई उडान प्रभावित हुने भएपछि काठमाडौंबाट सोलखुम्बु आउने यात्रुको सङ्ख्यामा कमी आएको विमान कम्पनीका कर्मचारीको भनाइ छ । यता तारा एयरलाइन्सले भने मौसम प्रतिकूलता भएको समय बाहेक अरु समयमा नियमित उडान गरिरहेको दाबी गरेको छ । तारा एयरलाइन्सले हप्तामा दुई दिन नियमित उडान गरिरहेको तारा एयरलाइन्स फाप्लुका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिए।

यसअघि सदरमुकाम नजिकै रहेको उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, समिट एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए । उक्त समयमा समेत टिकट पाउन मुश्किल हुने गरेको यात्रुको भनाइ छ ।

बर्खा लागेसँगै निजी कम्पनीको समिट एयरलाइन्सले नियमित उडान रद्ध गरेको नागरिक उड्डयन प्राधिकरण फाप्लुका एयर ट्राफिक कन्ट्रोलर एवं निमित्त इन्चार्ज विकास झाले जानकारी दिए। करीब पाँच महिनादेखि समिट एयरले उडान गरेको छैन, झाले भने, “कहिलेकाँही कार्गो गर्छ, किन हो नियमित उडान गरेको छैन ।”

तारा एयरलाइन्सले भने नियमित उडान गरिरहेको जनाएको छ ।

आन्तरिक विमानको क्षमता १३ देखि १४ सम्म यात्रु बोक्ने भएकाले टिकट पाउन मुश्किल परेपछि यहाँका स्थानीयको रोजाइ सडक यातायात बनेको पेमदोर्जी शेर्पाको भनाइ छ ।

यता तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समेत मौसम प्रतिकूलतको कारण नियमित उडान हुनसकेको छैन । पर्यटकीय सिजन शुरु भए पनि मौसममा सुधार नआउँदा उडान प्रभावित बनेको गाउँपालिका अध्यक्ष ङिमजोर्दी शेर्पाले जानकारी दिए।

दैनिक ९० सम्म उडान हुने उक्त विमानस्थलमा अहिले २५ देखि ३० सम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । उडान सेवा प्रभावित भएपछि यहाँको पर्यटनमा प्रत्यक्ष असर परेको गाउँपालिका अध्यक्षको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ