arrow

बर्षे अधिवेशन अन्त्यमा चलखेल, चिकित्सा विधेयक पारित नै गरिएन 

logo
प्रकाशित २०७५ असोज १२ शुक्रबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन (बर्षे अधिवेशन) चिकित्सा विधेयक नै पारित नगरी बिहीबारबाट अन्त्य भएको छ। प्राडा गोविन्द केसीसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद् अन्त्य भएको हो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अधिवेशनको अन्तिम दिन चिकित्सा विधेयक पारित गर्न दबाब दिएको थियो । तर सत्तापक्षले मानेन । कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सत्तापक्षका कारण चिकित्सा विधेयक पारित नभएको भन्दै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सत्तापक्ष हुने चेतावनी दिएका छन् । 

नेता गच्छदारले प्रतिनिधिसभा बैठकमै भने, ‘हामीले ४–५ वटा बैठक गरेर भए पनि चिकित्सा विधेयक पारित गरौं भन्यौँ। तर सत्तापक्षले मानेन’, ‘डा केसी फेरि अनशन बसे त्यसको जिम्मेवार सरकार नै हुनेछ ।’

डा केसीले पनि यसअघि नै विज्ञप्ति जारी गरेर १६ औं पटकको आमरण अनसन बस्ने चेतावनी दिइसकेका छन् । 

हुनत संसद सचिवालयका अनुसार अधिवेशन अन्त्य गर्ने दिन विधेयक पारित गर्ने बिजनेस राख्ने प्रचलन छैन। र पनि काँग्रेसले प्रयास गर्यो । 

१ सय ३५ दिन सञ्चालन भएको संघीय संसद्को अधिवेशनमा प्रतिनिधिसभाका ७९ पटक र राष्ट्रियसभाको ६१ पटक बसेका थिए। 

काँग्रेस सांसद गगनकुमार थापाले बुधबार चिकित्सा विधेयक पारित गर्नका लागि पनि केही सांसदको साथमा पहल गरेका थिए । महत्वपूर्ण विधेयकहरु चरणबद्ध छलफल गरेर पारित गर्नुपर्नेमा उनको जोड थियो । 

सत्ताधारीले टेरेनन् । यस अधिवेशनभित्र २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सम्बन्धित मन्त्रालयबाट फिर्ता भएको, ६ वटा विधेयक सम्बन्धित समितिहरूमा विचाराधीन रहेको र राहदानी विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइसकेको प्रतिनिधिसभाका सभामुख कृष्णबहादु महराले संसदमा जानकारी गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ