arrow

विद्युतीय बसका लागि भौगोलिक अध्ययन गरिने

केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्

logo
शर्मिला पाठक, काठमाडौँ
प्रकाशित २०७२ फागुन ९ आइतबार
Electric-Bus.jpg.jpeg
चीनबाट ल्याइने भनेको अपाङ्गमैत्री विद्युतीय बस (इ–बस) ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याइन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउदो छ वा छैन भनेर भौगोलिक अध्ययन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । “केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्” महानगरपालिकाअन्र्तगत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने ।

काफ्लेका अनुसार अध्ययनपछि मात्र सिआरआरसीटीले इ–बस उपलब्ध गराउन लागेको हो । सुरुमा ३० वटा बस ल्याउन लागिएको छ । ल्याउने बसमध्ये २० वटा महानगरले किन्ने छ भने १० वटा चीन सरकारले अनुदानमा दिने छ । इ–बस ल्याउनका लागि महानगरको प्राविधिकसहितको टोलिले चीन भ्रमणसमेत गरिसकेको छ । 

उक्त टोलिले नेपाली सडक सुहाउँदो अपाङ्गमैत्री बस प्रदान गर्न निर्माता कम्पनीलाई आग्रह गरेको अध्ययन टोलिमा संलग्न शिव अधिकारीले जानकारी दिए । सो विद्युतीय बस एक पटक चार्ज गरेपछि दुई सय किलोमिटरसम्म चल्छ । उक्त बस पूरा चार्ज गर्न तीन घण्टा लाग्ने बताइएको छ । एउटा चार्जिङ पम्पबाट दुईवटा बस चार्ज गर्न मिल्छ । चौध इन्चको ग्राउण्ड क्लियरेन्सको माध्यमबाट अपाङ्गले ह्विल चियरबाट बसमा चढ्न सक्छन् । बसभित्र ह्विलचियर अट्ने छुट्टै ठाउँको व्यवस्था गरिने छ । 

बसका केही सिट अपाङ्गमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारीले बताए । चीनले ३५ सिट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेकोमा महानगरले भने कम्तीमा ४० सिट भएको बस उपलब्ध आग्रह गरेको छ । सानो बस ल्याउँदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सिट भएको बस ल्याउनको लागि गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ । 

शारीरिकरुपमा असक्षम व्यक्तिले पनि प्रयोग गर्नुपर्ने भएकाले सहजताको लागि महानगरपालिकाले उक्लने तथा ओर्लने गरी दुईवटा ढोकासहितको बस माग गरेको छ । महानगरले माग गरेको विद्युतीय बस कम्तिमा ११ मिटर लामो हुने बताइएको छ । विद्युतीय बसको मूल्य करिब रु एक करोड हुने छ । 

महानगरपालिकाका अनुसार ती अत्याधुनिक एवम् ठूला इलेक्ट्रिक बस पहिलो चरणमा साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा काठमाडौँ उपत्यकामा प्रयोग हुनेछन् । समय समयमा हुने गरेको इन्धन अभावले गर्दा यसकिसिमको बस ल्याउन लागेको हो । उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्न सकिएमा केही समयपछि उपत्यका बाहिर पनि बस सञ्चालन गर्न सकिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ