arrow

स्वदेशी अर्थतन्त्र नराम्ररी प्रभावितः चाडपर्वमा भारतीय बजारमा घुइँचो, नेपाली बजार सुनसान 

logo
दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ असोज २५ बिहिबार
bazar-sunsan.jpg

पुनर्वास । नेपालीहरूको महान् चाड वडादशैँ  तिहार नजिकिएसंगै कञ्चनपुरको दक्षिणी क्षेत्रका सीमा पारीका भारतीय बजारहरुमा नेपाली ग्राहकहरू किनमेलका लागि जानेको घुँइचो लाग्न  थालेपछि नेपाली बजार सुनसान देखिँदा स्वदेशी अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ । 

 दक्षिणी सीमान्त भारतीय बजारहरुमा  खाद्यान्न , लत्ताकपडा तथा पुजापाठका सर सामानहरू  किनमेलका लागि नेपाली उपभोक्ता बसहि, मिलन बजार, सम्पुर्णनगर, खजुरीया लगायतका भारतीय बजारहरुमा किनमेलका लागि जानेको संख्या बढ्न थालेपछि दैनिक करोडौं पुँजी बिदेसिँदा नेपाली अर्थतन्त्र संकटमा पुग्ने अबस्था देखिएको हो । 

दशैं तिहारलाई लक्षित गरी नेपाली उपभोक्ता भारतीय बजारहरुमा किनमेलका लागि जानेको संख्या बढेपछि पुनर्वासका आईबिआरडी, प्रतिभा नगर टाउन बजार बेलौरी नगरपालिकाका गोकुलपुर , बेलौरी र कलकत्ता लगायतका नेपाली बजार यतिबेला सुनसान हुन पुगेका छन् ।
 
स्थानिय नेपाली ग्राहकहरू सस्तो दररेटमा सामान पाउने विश्वासले भारतीय बजारमा गएता पनि वास्तविकता त्यस्तो नभएको र भारतीयहरूले गुणस्तरहीन  खाद्य तथा  पेय पदार्थ बेच्ने गरेको आईबिआरडीका  व्यापारी सत्यदेवी चापागाईँले बताइन् ।  

त्यसैगरी स्थानिय प्रशासनले अबैध खुला भारतीय नाकाहरू कडाईका साथ  बन्द नगरे केही दिनपछि नेपाली बजार बन्द हुने अवस्थामा पुग्न सक्ने बताउँछन् अर्का व्यापारी नवराज लामिछाने । 

पुनर्वासमा भारतसँग जोडिएको कुनै पनि बाटो बैधानिक नरहेता पनि अहिले भारतीय बजारमा सामान किनमेलका लागि नेपालीहरूको घुईँचो लाग्ने गरेको छ । अहिले भारतीय बजारबाट चामल,  तरकारी तथा फलफूल ,तेल, मसाला, अण्डा, ब्रोईलर कुखुरा, पेय पदार्थ, कस्मेटिक सामग्री तथा लत्ता कपडाको आयात ह्वात्तै बढेको छ।  

भारतीय बसही र मिलन बजारमा नेपाली ग्राहकको भिडले साईकल पार्किङ्ग गर्ने ठाउँ समेत पाइँदैन। यसरी घरायसी सरसामानका साथै अबैध मालसमान भारतबाट नेपाल आयात हुँदा समेत स्थानिय सरकार चुप बसेको समाजसेवी सुकमाया मोक्तान बताउछिन् । 

केन्द्र सरकारले बेवास्ता गरेपनि यहाँको स्थनिय निकाय र प्रदेश सरकारले  समयमै सिमा नाका ब्यवस्थापन गर्नु पर्ने समाजसेवी सुकमायाको भनाई छ।
विशेषगरी चाडपर्वका बेला भारतीय बजारमा गुणस्तरहिन सामान पाइने हुनाले नेपाली ग्राहकलाई सचेत रहन शिक्षक टेकबहादुर बिश्वकर्मा आग्रह गर्छन् । 

सकभर स्वदेशी उत्पादन र नेपाली बजारबाटै सम्पूर्ण सामान खरिद गर्दा ग्राहक र व्यापारी दुबैलाई सन्तुष्टि मिल्ने उनी बताउँछन् । भारतीय बजारमा गुणस्तरहिन सामान सस्तोमा बिक्रि हुने हुँदा भारतीय बजारसँग यहाँका ब्यापारीहरूले प्रतिस्पर्धा गर्न नसक्नुले नेपाली बजारमा ग्राहकको आकर्षण घट्दै गएको एक अर्का व्यापारी जीतबहादुर तमाङ्ग बताउँछन् । 

सरोकारवालाले यसप्रति गम्भीर भएर सोच्नु पर्ने पनि उनी बताउँछन् । चाड पर्वका बेला यसरी पुनर्वासका स्थानिय बजार एकाएक सुनसान हुँदै गएपछि  व्यापारीमा निरासा छाएको छ । 

निराकरणका लागि उपभोक्ता र स्थानिय प्रशासन पनि सचेत हुनु पर्ने देखिन्छ । विशेष गरी चाडपर्वका बेला गुणस्तरहीन खाद्यपदार्थको बिक्रि बितरण हुनसक्ने भएकाले यस प्रति सबैले चासो देखाउन जरूरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ