arrow

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

logo
प्रकाशित २०७५ असोज २५ बिहिबार
suki.jpg

याङ्गुन ।  म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ ।  म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

म्यानमारमा भएको यस घटनालाई प्रेस स्वतन्त्रता विपरित भएको भन्दै देशभित्र र बाहिर व्यापक विरोध भएको समाचारमा जनाइएको छ । अधिकारवादीहरूले पक्राउ गरिएकालाई तत्काल विना शर्त रिहा गर्नुपर्ने माग गर्दै सरकार र सरोकारवालाहरूलाई दबाब दिएका छन् ।

पक्राउ पर्नेमा इलेभन मिडिया ग्रुपका पत्रकारहरू रहेका छन् । उनीहरूले शृङ्खलाबद्ध रूपमा सरकारका कमीकमजोरी र पत्रकारिता क्षेत्रमाथि भएका हस्तक्षेपको विपक्षमा लेख्दै आएका थिए ।

इलेभन मिडियाका कार्यकारी सम्पादकद्वय क्याब जाब लिन र नायी मिन र प्रमुख समाचारदाता फ्यो वाई बिनलाई प्रहरीले पक्राउ गरेको हो ।

यही सोमबार प्रकाशित एउटा लेखका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको पत्रकारहरूको पक्षका वकिल क्यी मयीन्टले एएफपीलाई जानकारी दिए।

यसअघि म्यानमारको एक अदालतले दुई पत्रकारलाई सात वर्षको जेल सजाय तोकेको थियो । राज्यको कानून उलङ्घन गरेको भन्दै उनीहरूलाई सजायको आदेश दिएको थियो ।

अदालतले सजाय दिएका ती पत्रकारहरूले रोहिङ्ग्या शर्णार्थीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरूले रोहिङ्ग्याहरूको सामूहिक हत्याबारे अनुसन्धानमूलक समाचार प्रकाशन गरेका थिए ।

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेत्री सुकीको समर्थनमा भएका पछिल्ला गतिविधिले विश्वभरी नै उहाँका आलोचक बढ्दै गएका छन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ