arrow

सन्दीपको राष्ट्रिय कीर्तिमान : नेपाल ‘बी’ को उपाधिसहित दोस्रो चरणमा प्रवेश

logo
कुमार चौलागाई,
प्रकाशित २०७५ असोज २६ शुक्रबार
nepal-cricket11.jpg

काठमाडौँ ।  आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ ।

छनोटको अन्तिम खेलमा सिङ्गापुरसँग प्रतिष्पर्धा गरिरहेको नेपालले वर्षाका कारण खेल रद्द भएपछि रन रेटका आधारमा उपाधि जितेको हो ।

मलेशियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल मैदान आज सिङ्गापुरले दिएको ८२ रनको लक्ष्यका साथ मैदान उत्रेको नेपालले मात्र तीन बल खेलेर एक विकेट गुमाउँदै एक रन बनाउँदा पानी परेर खेल रद्द भएपछि नेपाललाई विजेता घोषणा गरिएको थियो ।

सिङ्गापुर र नेपालको समान छ खेलबाट समान ११÷११ अङ्क भए पनि नेपाल रन रेटका आधारमा अघि भएपछि उपाधि जितेको हो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनाएको थियो ।

सिङ्गापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले ३ चौका प्रहार गरे । त्यसैगरी मनप्रीत सिङ र सिद्वान्तले समान १०÷१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । त्यस्तै सोमपाल कामी र करत्रण केसीले दुई÷दुई विकेट झारे भने ललित राजवंशी र वसन्त रेग्मीले एक÷एक विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो ।

यसअघिका खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटका आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै आएको थियो ।

नेपालले टी–२० मा सिङ्गापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसिसी टी–२० अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जित निकालेको थियो ।

गत महीना मलेसियामा भएको ५० ओभरको खेलमा पनि नेपालले सिङ्गापुरलाई ४ विकेटले हराएको थियो । यस छनोटबाट नेपाल, सिङ्गापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

अब एशिया छनोटमा छ टोलीले खेल्नेछन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोल गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिष्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।


नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने नेपालका लागि एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एशिया क्षेत्र छनोट समूह ’बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।

सन्दीपले आज सिङ्गापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । सन्दीप प्रतियोगिताको सुरुवाती पाँच खेलमा २० विकेट लिएर कीर्तिमान नजिक पुगेका थिए ।

यसअघि सिनियरस्तरमा एकै प्रतियोगितामा बढी विकेट लिने कीर्तिमान वसन्त रेग्मी र विनोद दासको संयुक्तनाममा थियो । वसन्तले सन् २०१२ मा भएको आइसिसी डिभिजन–४ क्रिकेट प्रतियोगितामा २१ विकेट लिँदै विनोद दासको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए । विनोदले सन् २००५ को एसिसी ‘फास्ट ट्रयाक कन्ट्रिज’ प्रतियोगितामा नेपालका लागि २१ विकेट लिएका थिए ।

प्रतियोगितामा सन्दीपले सिङ्गापुरविरुद्ध चार, चीनविरुद्ध तीन, भुटानविरूद्ध तीन, थाइल्यान्डविरुद्ध पाँच, मलेसियाविरुद्ध पाँच र म्यानमारविरुद्ध चार विकेट लिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ