arrow

अमेरिकामा नेपाली भाषाको कक्षा ‘नाङसाल’ संचालन 

logo
प्रकाशित २०७५ कार्तिक १ बिहिबार
tamang-samaj-america1.jpg

न्युयोर्क । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा ‘नाङसाल’ संचालनमा ल्याएको छ । 

अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष(भूषा, संस्कार(संस्कृति सिकाउने मुख्य उद्धेश्यका साथ नेपाली भाषाको कक्षा ‘नाङसाल’ संचालनमा ल्याईएको हो ।

तामाङ समाज अमेरिकाले नेपाली समुदायको बालबालिकाहरूलाई नेपाली भाषा, रितिथिति, संस्कार संस्कृति, भेषभुषा आदिको संरक्षण, सम्बर्द्धन र बिकास गर्दै पछिल्लो पुस्तालाई सिकाउँदै हस्तान्तरण गर्ने मुख्य लक्ष्य र उद्धेश्यका साथ ‘नाङसाल’ नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो । 

हरेक आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा कक्षा संचालन गरिएको र छिट्टै तामाङ भाषा र अंग्रेजी भाषाको कक्षा संचालनको लागि गृहकार्य गरिरहेको छ । 

विद्यार्थीहरूलाई संयोजन गर्ने र नेपाली भाषाको कक्षा संचालन गर्ने काम बाल बिभागका संयोजक रेणु वाइबा तामाङ र कोषाध्यक्ष फुरु लामा तामाङले गरेका छन् । 

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल, सभ्य र स्वास्थ्य समाजको परिकल्पना सहितको शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको काम गर्न थालेको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङ्ले बताइन् । 

तामाङ समाज अमेरिकाको कार्यालयमा नेपाली भाषाको कक्षा संचालन भईरहेको हुँदा अमेरिकामा रहेका सबै अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई नेपाली भाषाको कक्षामा सहभागी गराई दिनुहुन हार्दिक अनुरोध समेत गरेका छन् । 

हरेक आइतबार बिहान १० देखि १२ बजेसम्म ३९–३० ५८ स्ट्रीट, तामाङ समाज अमेरिकाको कार्यालयमा कक्षा संचालन हुनेछ । 

तामाङ समाज अमेरिकाले भव्यरूपमा ल्होछार मनाउने
यसैबीच तामाङ समाज अमेरिकाले आउँदै  गरेको “२८५५ औं फा ल्हो” सोनाम ल्होछार भब्यताका साथ मनाउने भएको छ ।

अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाको कार्यालयमा बसेको कार्यसमितिको बैठकले २ फेब्रुवारी २०१९ शनिबार दिन फाइभ स्टार ब्यांकेट १३–०५ फोर्टी थ्री एभ लङ आइल्याण्ड सिटी न्यूयोर्कमा “२८५५ औं फा ल्हो ” सोनाम ल्होछार भब्यताका साथ मनाउने निर्णय गरेको हो । 

तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ  २८५५ सोनाम ल्होछारलाई मौलिक परम्परा एवं सन्देशमुलक तरिकाबाट मनाउने भएको छ ।

ल्होछारको लागि स्थान तय भैसकेको र अन्य तयारीअघि बढिरहेको तामाङ समाज अमेरिकाले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ