arrow

सरकारलाई च्यालेन्ज दिँदै विप्लव सार्वजनिक हुँदै 

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
biplab-maobadi.jpeg

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दैछ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा १ लाख बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन । केही दिनअघि नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

आमसभाका लागि प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्चा, पम्प्लेट वितरण, माइकिङलगायतका कामहरु भइरहेको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

उनले भने– ‘पर्चा, पम्पप्लेट वितरण भइरहेको छ । खुलामञ्चमा कार्यक्रम हुन्छ । तयारी सबै करिब करिब पूरा भएको छ । युवाहरु समेत कार्यक्रमको सुरक्षाका लागि परिचालन गर्छौं ।’

दलाल सत्ताको विरोध, वैज्ञानिक राज्यसत्ताको स्थापना र वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल हुने क्रान्तिकारीका महासचिब शाहीले बताए ।

नेकपाले मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ । सो सभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगरलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हौं, वैज्ञानिक समाजवादका लागि संघर्ष गरौं भन्ने उद्देश्यका साथ सभाको आयोजना गर्न लागिएको हो । पार्टी पुनःस्थापना भएको अवसरमा जनसभा गर्न लागेको बताइएको छ ।

सो पार्टीले एकीकृत जनक्रान्तिको लक्ष्य राखेको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई कडा निगरानीका रुपमा राखेको छ । केही समय अघि सो पार्टीका केन्द्रीय स्तरका अधिकांश नेतालाई प्रहरीले चन्दा असुली गरेको आरोपमा पक्राउ गरेको थियो ।

सरकारद्वारा गठित वार्ता समितिले वार्ताको लागि भन्दै विप्लवका नेताहरुलाई नपक्रन आग्रह गरेपछि नेकपाका प्रवक्ता प्रकाण्डलगायतका नेताहरु रिहा भएका थिए । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ