arrow

मेयर विद्यासुन्दरको दाबी : ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

‘काठमाडौंमा मोनोरेल चलाएरै छाड्छु’

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
bidhyasundar-shakya.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समिक्षा गर्नुपर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर शाक्यले सडकको पूर्ननिर्माण भैसकेको पनि जनाए । उनले भने,‘यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं । महानगरले जिम्मा पाएको सहायक सडकहरु बनाउने काम लगभग पूरा भएको छ । सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनुपर्दैन् ।’ उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भैसकेको दाबी गरे ।

उनले पूर्ननिर्माणसम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको २-४ वटा कामहरु बाँकी रहेको सुनाए । उनले भने,‘धरहराको काम सुरु भैसकेको छ । दरबार हाईस्कुल पूर्ननिर्माण सुरु भैसक्यो । रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ । काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ। विवादको कारण काम सुरु हुन नसकेको हो ।’

मेलम्ची खानेपानी परियोजनाको काम र सडक विस्तारको कामले गर्दा काम गर्न केही अप्ठ्यारो भएको उनले गुनासो सुनाए । उनले भने,‘जोरपाटीमा फोहोर थुप्रियो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सितापाईलाको सडक हिलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सानेपाका सडक धुलाम्य भयो भनेपनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, त्यहाँ नगरपालिकाहरु छन् नि । सडक विस्तारको कामले काठमाडौं धुलोमैलो भएको छ । हामीले काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं। मेलम्चीले आफ्नो काम तत्काल सम्पन्न नगर्दा त्यसको प्रत्यक्ष असर काठमाडौं महानगरलाई परिरहेको छ।’

उनले काठमाडौंका सम्पदा पूर्ननिर्माणमा महानगरले कुनै कसर बाँकी नराखेको पनि सुनाए । उनले भने,‘काष्ठमण्डप, धरहरा र रानीपोखरीको निर्माण काम छिटो सुरु हुन्छ । यी सम्पदाहरु छिटो बनिदियोस भनेर आवाज उठिरहेको छ।’ प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामपनि काठमाडौं महानगरले गरिरहेको बताउँदै उनले यसको लागि सरकारले आफूहरुलाई धन्यवाद दिनुपर्ने धारणा राखे । उनले भने,‘फोहोर मैलाको सवालमा अर्को वर्षासम्म काठमाडौं हिलो नहुनेगरि हामीले काम गरिरहेका छौं । सुरुका केही दिन र केही समय धेरै अन्यौल भयो ।’

काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई भन्नु स्वभाविक भएको उल्लेख गर्दै उनले भने,‘जो सँग आश छ, जसलाई विश्वास गरिन्छ, उसैले भन्ने हो । तर, काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै हाईन, प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको छ । उहाँहरुले गर्नुपर्ने दायित्व पूरा गरिरहेका छौं । अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होईन, काठमाडौं जिल्लाको १८ वटा नगरपालिकाहरुको फोहोर जान्छ । काभ्रेको फोहोर त्यहाँ जान्छ। धादिङको फोहोर त्यहाँ जान्छ । के सबैको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मेयरको हो र ? होईन नि।  तर, नहुँदा नहुँदैपनि काठमाडौं महानगरपालिका पूरानो र धार्मिक सोच भएको सहर, राजनीतिक सहर भएको नाताले प्रदेश र संघीय सरकारले गर्नुपर्ने काम हामीले गर्दै आईरहेका छौं ।’

काठमाडौं महानगरले फोहोरको व्यवस्थापन गर्न छोडिदिने हो भने सिँगो काठमाडौं उपत्यका दुर्गन्धित हुने उनको भनाई छ । उनले थपे,‘उपत्यकामात्रै होईन, काभ्रे, नुवाकोट र धादिङपनि दुर्गन्धित हुन्छ । हामी त्यसको भएको हेर्न चाहँदैनौं । हामी गाली खाएरपनि आफ्नो दायित्व पूरा गर्न चाहन्छौं । लामो समयपछि हामीले उपत्यका नगरपालिका फोरम गठन गरेका छौं । अब उपत्यकाको फोहोर व्यवस्थापन, सडक व्यवस्थापन र उपत्यकाका साझा नदिहरुको व्यवस्थापनलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्छ भनेर हामीले फोरम बनाईसकेका छौं ।’

सम्बन्धित मन्त्रालयका सचिवहरुसँग लामो छलफलपछि बञ्चरे डाँडो कसले बनाउने ? सेन्ट्रल ल्याण्डफिल्ड कसले बनाउने ? भन्नेबारे टुँगो लागिसकेको पनि उनले जनाए । उनले भने,‘त्यसको लागि हामीले तीन वटा निर्णय गरेका छौं । पहिलो निर्णय भनेको बञ्चरे डाँडो नै अन्तिम गन्तव्य हो । सिसडोलमा अहिले हामी फोहोर फाल्न सक्दैनौं । बढिमा तीन महिनापछि अब त्यो फोहोर बञ्चरे डाँडोमा लैजानुपर्छ । त्यसको लागि चाहिने बाटो, पूर्वाधारहरु नेपाल सरकारले बनाउनुपर्छ भनेर हामीले भनेका थियौं । अहिले धमाधम डिपिआरको काम भैरहेको छ ।’

त्यस्तै उनले तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको सडक कसले बनाउने भन्नेबारे पनि आफूहरुले छलफल गरिसकेको बताए । उनले भने,‘कमसेकम अब यो बाटो दुई लेनको बनाउनुपर्छ । यसबारेमा पनि हामीले निर्णय लिईसकेका छौं । यो बनाउने जिम्मा पनि संघीय सरकारले लिईसकेको छ । अर्को भनेको बालाजुदेखि तिनपिप्लेसम्मको पासाङ ल्हामु राजमार्ग बनाउने कुरा हो । अब कार्यान्वयन सुरु हुन्छ।’

काठमाडौं महानगरले बजेट बनाउँदा जथाभावी कर उठाउन लागेको भनेर भ्रम फैलाईएकोप्रति आक्रोश पोख्दै उनले भने,‘हामीले करको दर भन्दापनि करको दायरा बढाएका छौं । कर भन्ने कुरा करले तिर्ने होईन, कर त रहर तिर्ने हो । नैसर्गिक अधिकारयुक्त अधिकारका काम गर्न सबै दस्तुत हामीले मिनाहा गरेका छौं ।’ यसबारेमा आफूहरुले जनतामा सूचना प्रवाह गर्न विभिन्न पत्रपत्रिकाहरुमा सूचना प्रकाशित गरेको उनले जनाए ।

हालै सम्पन्न नगरसभाको निर्णयले पूर्ननिर्माणको लागि मापदण्ड संशोधन गरेको पनि उनले सुनाए । यद्धपी संशोधित मापदण्डमा आफूहरुले स्मारक संरक्षणभित्रलाई भने नछोएको स्पष्ट पारे । उनले भने,‘त्यो बाहेकका क्षेत्रलाई मात्रै हामीले छोएका छौं । धेरै जसो बनेका घरहरु अहिलेपनि कञ्चा छन् । अढाई तलाको नक्शा पास गरेर ७ तलाको घर बनाईएका छन् । यस्ता घर भत्काएका हौं । हामीले अहिले ७ र ८ तलासम्म बनाउन पाईनेगरि मापदण्ड बनाएका छौं ।’

त्यस्तै उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भैसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने,‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।’ शाक्यले महानगरले चाँडै काठमाडौंका विभिन्न ठाउँहरु खासगरी नाकाहरुमा पार्किङ भवन बनाउनेपनि तयारी गरिरहेको जनाए । उनले भने,‘यसको लागि ठेक्का प्रक्रिया सुरु भैसकेको छ ।’ महानगरले जिआईएस डाटा कलेक्शनको लागि २२ करोड रुपैयाँ विनियोजन गरिसकेको पनि शाक्यले बताए ।
काठमाडौंलाई स्वच्छ, धुवाँ र धुलोमुक्त सहर बनाउनको लागि महानगरले जेट र ब्रुमरजस्ता आवश्यक उपकरण खरिद भैसकेको जनाउँदै उनले भने,‘अहिले ५ वटा ब्रुमर आउने प्रक्रियामा छन् । अहिले मासिक २५ करोड रुपैयाँ सफाईका कर्मचारीको लागि खर्च भैरहेको छ। तर, पनि काठमाडौं सफा भैरहेको छैन् ।’

आपराधिक घट्ना घट्न नदिनको लागि नेपाल प्रहरीसँगको सहकार्यमा काठमाडौं महानगरले सिसे क्यामेराको व्यवस्थापन गर्ने पनि उनले जनाए ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनबारे काठमाडौं महानगरलगायत उपत्यकाका नगरपालिकाहरु र लगानी बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भोलि नै गर्ने भनिएको छ ? के सहमति भएकै हो त? भनेर सोधिएको प्रश्नमा उनले भने,‘अहिले हामीसँग एक हजार ६ जना फोहोरसम्बन्धी कर्मचारीहरु छन् । उनीहरुको उचित व्यवस्थापन हुनुपर्छ भनेर हामीले माग गरेका छौं । नत्र भोलि समस्या हुनसक्छ । हामीसँग भएका जेट तथा ब्रमुर मेसिनहरु छन् । उहाँहरुले हाम्रो उपकरण किन्नुपर्छ । यदि नकिन्ने हो भने लिजमा लैजानुपर्छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ