arrow

‘निर्मला प्रकरणका दोषी र अपराधीहरु छिट्टै कानुनको कठघरामा आउँछन्’

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
badal1.JPG

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तिव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

उनले सरकारले बलात्कारीहरुलाई पनि कारबाही गरिरहेको बताए । उनले भने,‘तपाई अहिले जेलमा गएर हेर्नुभयो भने त्यहाँ बलात्कारीहरुको संख्या ठूलो छ । जबरजस्ती करणी गर्ने, बलात्कार गर्नेहरु, व्यभिचार गर्नेहरुको संख्या ठूलो मात्रामा छ । बलात्कारीहरुलाई कारबाही भैरहेको छ । जहाँसम्म निर्मला प्रकरणको कुरा हो, त्यो विषयहरुलाई कानुनको कठघरामा ल्याउने प्रक्रिया जारी छ । दोषी र अपराधीहरु कानुनको कठघरामा छिट्टै आउँछन् ।’

सिण्डिकेट अन्त्य भएन ?, कालोबजारीहरुलई कारबाही भएन ? महँगी ह्वात्तै बढेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘सिण्डिेकट अन्त्य भैसकेको छ । अब त्यसलाई व्यवस्थापन गर्ने काम बाँकी छ । र, त्यो चलिरहेको छ । अब छिट्टै यातायातमा भएको बेथिति, अराजकतालाई व्यवस्थित गरिनेछ । सिण्डिकेट कानुनतः अन्त्य भैसकेको छ । अब चाहीँ फेरी कसैले यातायातको क्षेत्रमा सिण्डिकेट लाद्न सक्दैन् ।’

मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने,‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र, उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’

सडक दुर्घटनाहरु दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भने,‘यो दुर्घट्ना हुनुको पछाडि ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहीँ खोट छ की, सडक निर्माण गर्न दिईरहेको बेला कहीँ कतै त्रुटिहरु भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरुरी छ । सडकहरुको अवस्थाबारे निर्माण व्यवसायीहरुको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रुपमा अब सच्याउनुपर्छ ।’

मन्त्री थापाले तिहारको शुभकामना दिँदै भने,‘सम्पूर्ण देशवासीहरुको सुख, समृद्धिको कामना गर्न चाहन्छु । राष्ट्रले राखेको लक्ष्यपनि त्यही हो । हामी यतिवेला समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छौं । तिहार र आउने पर्वहरुले नेपाल र नेपालीहरुलाई सुखी बनाउन योगदान गरोस् । म यही कामना गर्न चाहन्छु ।’

त्यस्तै उनले तिहारको क्रममा देउसी–भैलो चलिरहेको बताउँदै भने,‘यसले देशको संस्कृतिलाई संरक्षण र प्रर्वद्धन गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। हाम्रो देशको संस्कृति र पहिचान सम्र्वद्धन होस् भन्नेपनि शुभकामना दिन चाहन्छु ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ