arrow

गणेशमानको त्याग सहीरुपमा पुस्तान्तरण भएन : नेता निधि

logo
प्रकाशित २०७५ कार्तिक २२ बिहिबार
nidhi.JPG

काठमाडौँ ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्यागका बारेमा सहीरुपमा पुस्तान्तरण हुन नसकेको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका र बिपी सङ्ग्रहालय समितिले बिहिबार यहाँ संयुक्त रुपमा आयोजना गरेको गणेशमान सिंहको १०४औँ जन्मजयन्ती एवम् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पदभन्दा प्रजातन्त्र ठूलो हो भन्ने सन्देश प्रवाह हुन नसकेको बताए ।

सर्वोच्च नेता सिंहकै कुशलताले ३० वर्षपछि प्रजातन्त्र पुनःस्थापना भएकाले भावी पुस्तालाई यसको सही जानकारी दिनुपर्ने नेता निधिको भनाइ थियो ।

सत्तापक्षको अरुचिले प्रदेश पङ्गु भई सङ्घीयता धरापमा परेको नेता निधिको आरोप थियो । कार्यक्रममा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल आदिवासी जनजाति सङ्घका अध्यक्ष आइवी गुरुङ, गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारी, कलाकार श्रीकृष्ण सिम्खडा, कांग्रेस नेताहरु विमल ठकुरी, भुवन लामा, श्रीकृष्णराज थापा, शङ्करकुमार श्रेष्ठ, मनोजकुमार ढुङ्गाना, डा ध्रुव शर्मा मुडवरी र सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेललगायतले सर्वोच्च नेता सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरे ।

नेता सिंहलाई २०१७ पुस १ गतेको कूपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा गएका नेतालाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनिएको थियो ।

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय हाल पुनःनिर्माण भइरहेको छ । सो अवसरमा नेता निधिले गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीलाई दोसल्ला ओढाइ सम्मान गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ