arrow

छठ पूजासँगै रुप फेरिएको कमलपोखरी, बुधबार दिनभर सफाई अभियान 

logo
प्रकाशित २०७५ कार्तिक २८ बुधबार
chhat-kamalpokhari.jpg

काठमाडौं । छठ पूजा गर्न थालेसँगै काठमाडौँका कतिपय ठाउँहरुको रुप फेरिएको छ । विशेष गरेर नदी तथा पोखरीहरुको संरक्षण र सरसफाईमा छठ पूजाले सहयोग गरेको पाइएको छ । 

काठमाडौमा सबैभन्दा धेरै जनाको उपस्थितिमा छठ पूजा गरिने काठमाडौ क्षेत्र नं. चार अन्तर्गतमा पर्ने कमलपोखरी छठका कारण संरक्षण पाएको राम्रो उदाहारण हो ।  

फोहोर र अव्यवस्थित रुपमा रहेको पोखरीलाई सफा र व्यवस्थित गरेर छठ मनाउन सुरु गरेसँगै अहिले कमल पोखरीको मुहार फेरिएको छ । 

विगमा फोहोर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय विताउने 
ठाउँको रुपमा विकसित भएको छ । 

सरसफाई र संरक्षण पाएको कमलपोखरीमा अहिले दैनिक सयौँ जना घुमघामका लागि आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् । 

कमलपोखरीको संरक्षण र प्रवद्र्धनका लागि काठमाडौ क्षेत्र नं. चारका सासद गगनकुमार थापाको नेतृत्वदायी भूमीका रहेको स्थानीय बासिन्दाको भनाई छ । 

थापाकै सक्रियतामा छठ पर्व मनाउन थालिएको र बर्षेनी लाखौँ रुपैया बजेट पारेर कमलपोखरीको सरसफाई, मर्मत, संरक्षण र प्रवद्र्धन गरिदै लगिएको छठ पूजा समितिका अध्यक्ष राजेन्द्र सिंहले बताए । सांसद थापाकै सक्रियतामा कमलपोखरी संरक्षण गुरुयोजना पनि बनाइएको छ ।  

विसं २०६३ पछि काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा गर्न थालिएको छठ पूजा आठ बर्ष अगाडी देखि कमलपोखरीमा पनि गर्न थालिएको हो । 

सुरुदेखि नै छठ पूजाका लागि तत्कालिन राष्ट्रपति र उपराष्ट्रपतिको सहभागीता रहँदै आएको कमलपोखरीमा अन्य ठाउँमा भन्दा भव्य पूजा र सहभागीता हुने गरेको छ । 

संस्कृतिविद् धिरेन्द्र प्रेमर्षीले काठमाडौमा विभिन्न ठाउँमा गरिने छठ पूजा मध्ये कमल पोखरीमा गरिने छठ पूजा बढी व्यवस्थित र आकर्षक हुने गरेको बताए ।

यसपटकको छठ पूजामा सहभागीहरुले पनि कमलपोखरी पहिला भन्दा अहिले धेरै व्यवस्थित र आकर्षक हुदै गएको बताएका छन् ।  

त्यस क्षेत्रका संघीय सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए । 

शुरुआतका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए । 

नेपाली पर्वमा एकार्कालाई ग्रहण गर्ने वातावरण बढ्दै गएको र राष्ट्रपति सहभागी हुँदा कमलपोखरीको गरिमा झन् बढेको उनले बताए । 

कमलपोखरीमा अपरान्ह ४ पछि सुरु भएको छठ पूजामा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, काठमाडौ क्षेत्र नं. चारका सांसद थापा, प्रदेश सांसद नरोत्तम बैद्यलगायत सहभागी भएका थिए ।

कमलपोखरीमा मंगलबार बेलुका आठबजे कुटुम्ब संस्कृतिक समूहद्वारा छठ सम्वन्धी विषेश सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । 

क्षेत्र नं. चार अन्तर्गतकै गुहेश्वरीमा हुने छठ पूजामा पनि राष्ट्रपति भण्डारी, सांसद थापासहितको उल्लेख्य सहभागीता रहेको थियो । 

दुवै ठाँउमा बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पूजा सकिएको छ भने बुधबार दिउँसो सरसफाई कार्यक्रम हुने भएको छ । 

काठमाडौका नदी तथा पोखरीका किनारमा आजदेखि सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

सफाइमा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापा, गुह्येश्वरी विनायक युवा क्लबका सदस्य, सफाइ अभियानकर्मी लगायतको सहभागिता रहने पुडासैनीले बताए ।


चार दिनसम्म निरन्तर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा सफाइ अभियान चलाइने अध्यक्ष पुडासैनीको भनाई छ । 

विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ उपत्यकालगायत पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ