arrow

महिला समुहले उत्पादन गर्दै दुनाटपरी

logo
सीता डोटेल,
प्रकाशित २०७५ मंसिर १२ बुधबार
duna_tapari.jpg

पाल्पा ।  बनमा गएर सालको पात टिपेर ल्याउने र लाफा बनाएर समुहमा दिने गर्छिन रामपुर ४ की सीता मल्ल । गाउँमा आफ्नै समुहले दुनाटपरी उद्योग सञ्चालन गरेपछि सीता जस्तै गाउँका धेरै महिलाहरु घर नजिकैको बनमा सालका पात टिप्नमा व्यस्त रहन्छन् । घाँस दाउरा गर्न जादा ल्याएको पातको मुठो दिउँसो फुर्सदको समयमा लाफा बनाएर उनीहरु समुहले चलाएको उद्योगमा लैजान्छन् ।

 रामपुर नगरपालिका ४ को चेतनामुलक आमा समुहले कासजरीमा दुना टपरी उद्योग सञ्चालन गरेको हो । साना उद्योगबाट महिलालाई आत्मनिर्भर गराउन सकिने र पहाडी यस क्षेत्रमा संभावना भएकाले पनि दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको आमा समुहकी अध्यक्ष शोभा कुमारी खड्काले बताइन् ।

समुहले ३ लाख ५० हजारको लगानीमा पातबाट दुनाटपरी बनाउने २ वटा मेसिन खरिद गरेर उद्योग सञ्चालनमा ल्याएको हो । रामपुर नगरपालिकाको २ लाख आर्थिक सहयोग र समुहको कोष गरि ५ लाख लागतको उद्योग सञ्चालनको लागि भवन पनि बनाएको छ । अहिले त्यही भवनमा समुहमा आबद्ध दिदीबहिनी जम्मा भएर दुनाटपरी बनाउन व्यस्त हुन्छन् ।

 छिमेकी गाउँक महिलाहरु समेत बनबाट पात ल्याएर लाफा बनाई समुहलाई बेच्ने गरेको स्थानीय सञ्जु मल्लले बताइन् । बिहान–साँझ घरको काम गरेपनि दिउँसो फुर्सदका बेला अहिले पात टिप्ने गरेका छौ,मल्लले भनिन्–यसले महिलालाई आयआर्जनमा सघाउ पुर्‍याएको छ । हात–हातमा मोवाइल बोकेर व्यस्त हुने, टिभी हेर्दै गफ गरेर समय बिताउने दिदीबहिनी अहिले व्यस्त हुनुभएको छ समुहकी पुर्व अध्यक्ष सिमादेवी रानाले भनिन् । बिहे तथा पुजा कार्यमा अर्डर बढी भएको बेला समुहका सदस्यले सघाउने गरेका छन् ।

समुहले ३ महिना देखि अर्डर अनुसारको टपरी उत्पादन गरि बिक्री गर्दै आएको छ । पहाडी जिल्ला पाल्पा र यस क्षेत्र वरपर सालका जङ्गल भएकाले पनि यसको संभावना बलियो बनेको छ । वन संग नजिकै रहेकाले आमा समुहको माग अनुसार नगरमा नमुना उद्योगका रुपमा टपरी उद्योग सञ्चालनमा सहयोग गरेको रामपुर नगरपालिकाले जनाएको छ । रामपुर नगर क्षेत्रमा शहरीकरण बढिरहेको बेला दुनाटपरी उद्योग सञ्चालन निकै राम्रो भएको वडाध्यक्ष एक बहादुर नेपालीले बताए । यसले प्लाष्टिकमुक्त नगर बनाउन सहयोग गर्ने लक्ष्य लिएको नेपालीले बताए ।

समुहले उद्योगमा एक जनालाई रोजगारी समेत दिएको छ । माग बढी भएकोमा समयमा समुहका सदस्यहरुले आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्दै आएका छन् । पहिले बानी थिएन, अहिले बजार क्षेत्रमा र बनमा पात टिपेर दुनाटपरी खुट्न समय निकाल्न नसक्नेहरुले दुनाटपरीको अर्डर गर्नुहुन्छ, अध्यक्ष खड्काले भनिन्–घरमा हुने शुभकार्य, विवाह, व्रतबन्ध लगायतका कार्यमा दुनाटपरीको माग आउन थालेको छ ।

समुहले उद्योगबाट उत्पादित एक सय टपरी २ सय ५० रुपँयाका दरले र १ सय २० दुना एक सय रुपैयाँका दरले बिक्री गर्दै आएको छ । समुहले कच्चा पदार्थको रुपमा खरिद गर्ने ठूलो लाफा एक रुपैयाँ र सानो लाफा पचास पैसाको दरले खरिद गर्दै आएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ