arrow

सबै वडामा हेलिप्याड निर्माण

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
Helicopter-on-helipad.jpg

जाजरकोट । सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ ।

जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको छ । झाडापखाला, भाइरल ज्वरो, मौसमी फ्लु जस्ता रोग यही बारेकोट गाउँपालिकाबाट शुरु भएको थियो । अत्यन्तै चिसो र पाटन क्षेत्रबाट नजिक रहेको यो गाउँपालिका अन्य स्थानीय तह भन्दा फरक रहेको छ ।

औषधि, खाद्यान्न, अन्य दैनिक उपभोग्य सामग्री पठाउन यहाँका स्थानीय खच्चड, घोडा र स्थानीयवासी आफैले बोक्नुपर्ने अवस्था छ । टेलिफोनको राम्रो पहुँच भएको बारेकोट गाउँपालिकामा सहज रुपमा सेवा प्रवाह गर्नसमेत मुस्किल परेको गाउँपालिकाका अध्यक्ष शााहले बताए ।
 
विभिन्न खालका समस्या हवाईमार्गबाट सहज रुपमाहल गर्नका लागि प्रत्येक वडामा हेलिप्याड निर्माण गरिएको शाहको भनाइ छ । यो भन्दा अगाडि विभिन्न समयमा रोग फैलिँदा औषधि आपूर्ति गर्नका लागि लिइएको हेलिकप्टर बस्ने ठाउँ नहुँदा समस्या भएको थियो । सडक सञ्जालसँग नजोडिएको यो गाउँपालिकामा जान र आउन मात्र सदरमुकामबाट दुई दिन भन्दा बढी लाग्ने गर्दछ ।

बिरामीलाई उपचारका लागि सदरमुकाममा ल्याउन वा देशका अन्य ठाउँमा लिनका लागि धेरै दिन लाग्ने भएकाले हवाई मार्ग प्रयोग गरी छिटो उपचारका लागि सहज हुने गाउँपालिकाले अपेक्षा लिएको छ ।  वर्षेनी खाद्यान्न अभाव हुने यो क्षेत्रमा खाद्यान्न आपूर्तिका लागि पनि हवाई मार्गबाट सहज हुने गाउँपालिकाले बताएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ