arrow

पशुपतिमा दीपदान गर्ने भक्तजनको भीड

logo
रासस,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौं। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा महादीपदान गर्ने भक्तजनको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महादीपदान गर्ने भक्तजन आफ्नो स्थान सुरक्षित गरेर बसेका थिए। बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले भक्तजन ठाउँ ओगट्न बिहानैदेखि आएका हुन्।

यस वर्ष बाला चतुर्दशीमा पशुपति आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए। आज राति महादीपदान गर्ने र भोलि बिहान शतबीज छर्ने भक्तजनका लागि सुरक्षा लगायत प्रबन्ध गरिएको पनि कोषले जनाएको छ।

त्रयोदशीका दिन दीपदान गरी चतुर्दशीका दिन बिहान धानको सय गेडा पशुपति क्षेत्रको मृगस्थलीमा छरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ। पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजन दिवङ्गत पितृका नाममा बत्ती बालेर बसेका छन्। आज दीपदान गर्नेले बिहानैदेखि स्नान गरी व्रत बसेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ