arrow

तपाईको खल्तीमा छ सुनको खानी

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
gold-bbc.jpg

काठमाडौं । तपाइँको खल्तीमा सुनको खजाना छ भन्दा तपाइँलाई विश्वास लाग्ला ? पक्कै पनि लाग्दैन । यद्यपि यो साँचो कुरा हो । मानिसहरुको मोबाइललगायतका विद्युतीय सामग्रीहरुमा सुन पाइन्छ । यद्यपि उक्त सामग्रीहरुबाट सुन चाँदीजस्ता धातुहरु निकाल्नका लागि ठुलै मिहिनेत गर्नुपर्ने हुन्छ । मोबाइल फोन, ट्याबलेट र ल्यापटपजस्ता एक टन विद्युतीय फोहोरबाट करिब ३५० ग्राम सुन निकाल्न सकिन्छ । यस किसिमका सामग्रीहरुबाट निकालिएको सुन सन् २०२० मा हुने ओलम्पिक खेलका लागि प्रयोग गर्ने तयारी गरिएको छ । २०२० को ओलम्पिकमा प्रयोग हुने सबै मेडलहरु अर्बान माइनिङ्गबाट पाइएका धातुहरुबाट तयार गर्ने तयारी गरिएको छ । यो ओलम्पिकमा करिब ५००० मेडलहरु प्रदान गरिनेछ ।

यस्तोमा आयोजक टोली विद्युतीय फोहोरबाट स्वर्ण, रजत र कास्य पदक तयार गर्ने दिशामा अघि बढेका छन् । यसको अर्थ विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको मेडल फोहोरबाट बन्ने भएको छ ।

फोहोरमा मूल्यवान् धातु
प्रयोगपछि फालिने विद्युतीय सामग्रीहरु संसारभर व्यापक मात्रामा बढ्दो क्रममा छ । यो निकै खतरानक फोहोर हो  तर यसमा मूल्यवान् धातुको खजाना पनि हुने गर्छ । जापानको ओलम्पिक आयोजक समितिले काम नलाग्ने विद्युतीय सामग्रीहरु दान गर्नका लागि आग्रह गरेको छ ।

जापानले यो योजना गएको अप्रिल महिनाबाट सुरु गरेको थियो । आयोजकहरुले अहिलेसम्म विद्युतीय फोहोरहरुबाट १६.५ किलो सुन र १८ सय किलो चाँदी निकालिसकेका छन् । त्यसका साथै २७ सय किलो काँस भने हासिल भइसकेको छ । ओलम्पिक आयोजन समितिका प्रवक्ता मासा टकायाले अहिलेसम्म आवश्यक सुनको ५४.५ प्रतिशत र चाँदीको ४३.९ प्रतिशत हासिल भइसकेको जानकारी दिए ।
जापानले ल्याएको यो निकै महत्वपूर्ण योजनाले विश्वभर बढिरहेको विद्युतीय फोहोरबाट बच्ने एक तरिका पनि देखाएको छ ।

बढ्दो क्रममा विद्युतीय फोहोर
संयुक्त राष्ट्रसंघको विवरण हेर्ने हो भने २०१६ सम्ममा विश्वभर करिब ४ चरोड ५० लाख टन विद्युतीय फोहोर निस्किएको छ । यस किसिमको फोहोर वार्षिक ३–४ प्रतिशतको दरले बढ्दै गएको पाइन्छ । सन् २०२१ सम्ममा विद्युतीय फोहोर ५ करोड २० लाख टन पुग्ने अनुमान गरिएको छ । यसमा धेरैजसो विद्युतीय फोहोर संकलन केन्द्रमा नपुग्नु भने टाउको दुखाइको विषय बन्ने गरेको छ ।
राष्ट्रसंघको विवरणअनुसार अहिलेसम्म २० प्रतिशत विद्युतीय सामग्रीहरु पुनः प्रयोगमा ल्याइने गरिएको छ । यस किसिमका विद्युतीय फोहोरले माटो तथा पानीलाई निकै विषालु बनाउने गर्छ । यद्यपि जापानले भने यस किसिमका फोहोरहरुमा पनि निकै मूल्यवान् धातुहरु पाउन सकिन्छ भन्ने कुराको प्रमाण पेश गरेको छ ।

जापानले सुरु गरेको यस किसिमको कार्यको विश्वभरका विश्लेषकहरुले पनि प्रशंसा गरेका छन् । यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि ३० प्रतिशत चाँदी फालिएका ऐना, ट्यांका र एक्स–रे प्लेटबाट निकालिएको थियो ।

जापानमा के हुँदैछ विशेष ?
२०२० मा जापानमा हुने ओलम्पिक दुई महत्वजपूर्ण कुराले विशेष हुनेछ । पहिलो त यो ओलम्पिकमा प्रयोग हुने सबै मेडलहरु प्रयोग भइसकेका सामग्रीहरुबाट निकालिनेछ । दोस्रो महत्वपूर्ण कुरा आयोजन समितिलाई विद्युतीय फोहोर केवल जापानी नागरिकले मात्र दान गर्न सक्नेछन् ।

गएको जुन महिनासम्म जापानको विद्युतीय पसलमा ४३ करोड २० लाख काम नलाग्ने मोबाइल फोनहरु जम्मा गरिएको थियो । साथै त्यसमा नगर निकाय संस्थाले ३४ हजार टन साना विद्युतीय सामग्रीहरु जम्मा गरेका थिए । ३५–४० मोबाइल फोनबाट एक ग्राम सुन निकाल्न सकिन्छ । इन्टरनेशनल ओलम्पिक कमिटिका अनुसार स्वर्णपदकमा कम्तीमा ६ ग्राम सुन हुनु जरुरी हुन्छ । बाँकी मेडल चाँदीको हुन्छ । अहिलेसम्म जापानले जम्मा गरेको विद्युतीय फोहोर समग्र विद्युतीय फोहोरको केवल ३ प्रतिशत हो । जापानमा करिब २० लाख टन विद्युतीय फोहोर हुनसक्ने अनुमान गरिएको छ ।

विश्वभर बढिरहेको विद्युतीय फोहोरबाट पार पाउनका लागि जापानको सुरु गरेको योजना निकै महत्वपूर्ण देखिन्छ । यस्तोमा अन्य मुलुकहरुले पनि जापानबाट पाठ सिकेर अघि बढ्ने हो भने आगामी दिनमा विद्युतीय फोहोरको मार केही कम गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ