arrow

महाकाली अञ्चल अस्पतालमा ४ नयाँ विशेषज्ञ डाक्टर नियुक्त

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७२ फागुन १८ मंगलबार
mahakai-zone-hospital.jpg.jpeg
महेन्द्रनगर। दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर पठाउन नसकेको स्वास्थ्य मन्त्रालयले महाकाली अञ्चल अस्पतालमा ४ जना नयाँ विशेषज्ञ डाक्टर पठाएको छ । मन्त्रालयले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सविना खड्का, बालरोग विशेषज्ञ डा. सुसन भट्टराई, हाड तथा जोर्नी रोग विशेषज्ञ डा. अर्जुनप्रसाद डुम्रेलाई महाकाली अञ्चल अस्पतालको स्थायी दरबन्दीमा पठाएको हो।
 
महाकाली अञ्चल अस्पतालका शाखा अधिकृत शिवसिंह भण्डारीका अनुसार अप्रेसन सेवाका लागि १ जना सर्जन आउने प्रक्रियामा रहेका छन् । ‘३ जना विशेषज्ञ डाक्टर अस्पतालमा पुगिसकेका छन् भने १ जना सर्जन आउने निश्चित भएको छ,’ भण्डारीले भने । महाकाली अञ्चल अस्पतालमा विगत ५–६ वर्षदेखि अत्यावश्यक विशेषज्ञ सेवा उपलब्ध हुन सकेको थिएन ।
 
अस्पताल विकास समितिको लगातारको माग र स्वास्थ्य मन्त्री रामजनम चौधरीको सकारात्मक पहलबाट विशेषज्ञ डाक्टर महेन्द्रनगर आएका महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । ‘स्वास्थ्यमन्त्री रामजनम चौधरीले केही महिनाअघि अस्पतालको निरीक्षण समेत गर्नुभएको थियो,’ तिवारीले भने, ‘त्यतिबेला हामीले विशेषज्ञ डाक्टरको माग गरेका थियौं ।’ अस्पताल विकास समितिले विगतका स्वास्थ्यमन्त्रीलाई विशेषज्ञ डाक्टर पठाइदिन आग्रह गर्ने गरेको भएपनि मागको सुनुवाई हुने गरेको थिएन । कञ्चनपुरमा बढी प्रभाव भएका काँग्रेस, एमाले र एकीकृत माओवादीको सरकार र स्वास्थ्यमन्त्री हुँदा महाकाली अञ्चल अस्पतालले विशेषज्ञ डाक्टर पाउन नसकेको अवस्थामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका स्वास्थ्यमन्त्री हुँदा अस्पतालले विशेषज्ञ डाक्टर पाएको हो । महाकाली अञ्चल अस्पतालको व्यवस्थापन सुधार्न र दरबन्दी अनुसारका डाक्टर ल्याउन नागरिक स्तरबाट पहल भएपनि त्यो पहल निष्प्रभावी भएको थियो । 
 
‘अञ्चल अस्पतालमा अझैं २–३ जना विशेषज्ञ डाक्टर थप्ने विषयमा स्वास्थ्यमन्त्रीसँग कुराकानी भएको छ,’ मेडिकल सुपरिन्टेन्डेन्ट तिवारीले भने, ‘अब अस्पतालको सेवा सुधार र व्यवस्थापनमा ध्यान दिन्छौं ।’ विशेषज्ञ सेवा दिन आवश्यक पर्ने उपकरण अस्पतालमा भएपनि केही अपुग भएको उपकरण व्यवस्थापन गर्न अस्पतालले ध्यान दिने तिवारीले बताए । विशेषज्ञ डाक्टरले शुक्रबार बाहेक दैनिक १० बजेदेखि ३ बजेसम्म सरकारी अस्पतालमा सेवा दिनुपर्ने प्रावधान रहेको छ । त्यसबाहेक बिहान र साँझ डाक्टरहरु निजी मेडिकलमा सेवा दिन पाउँछन् ।
 
नयाँ आएका विशेषज्ञ डाक्टर बाहेक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट तथा एमडिजिपी डा. श्रीराम तिवारी, मेडिकल अधिकृत डा.रामविहारी चौधरी र डा. मोहम्मद नसरुल अन्सारी कार्यरत छन् । चौधरी र अन्सारी अस्पताल विकास समितिले सेवासुविधा दिने गरी कार्यरत छन् । नेपाल सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा पढेका डा. हरि शर्मा र योगेश भट्ट चिकित्सक परिचालन निर्देशिका अनुरुप २ वर्षका लागि अस्पतालमा कार्यरत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ