arrow

एक कर्मचारीको भागमा ११ शाखासम्म

logo
गंगा पराजुली,
प्रकाशित २०७५ पुष ११ बुधबार
ilam_district_map.png

पशुपतिनगर । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् ।

जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताए। अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो । कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।

दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारी पर्याप्त नहुँदा कामको गति सुस्त छ । सङ्घीय सरकारले २९ कर्मचारी पठाउनुपर्ने भए पनि अहिले १० मात्रै कार्यरत छन् । वडासचिव सबै वडामा नहुँदा जनताको काम गर्न समस्या रहेको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए ।

वडा कार्यालयमा योजना हेर्ने प्राविधिक सहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ को दरबन्दी भए पनि अहिले पाँच कार्यरत छन् । शाखाअनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताए ।

कृषि, पशु, स्वास्थ्य र लेखा शाखामा प्रमुख भए पनि आठ वटा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरी गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । सङ्घीय सरकारबाट २२ कर्मचारी समायोजन भएर आउनुपर्नेमा अहिले आठ जनाले गाउँपालिकाको काम धानिरहेका छन् ।

सबै वडामा वडा सचिव भए पनि प्राविधिक कर्मचारी र शाखाअनुसारको कर्मचारी नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताए । गाउँपालिकामा प्राविधिक कर्मचारी नहुँदा भौतिक पूर्वाधारको योजना कार्यान्वयन र अनुगमनको काम गर्ने नसकिएको बताइएको छ ।

पहाडी क्षेत्रको ठूलो सूर्योदय नगपालिकाको मुख्य प्रशासनिक भवनमा ३९ कर्मचारी आवश्यक छ तर अहिले १५ ले काम गरिरहेको नगरप्रमुख रणबहादुर राईले बताए। आवश्यक कर्मचारी नहुँदा काम गर्न समस्या देखिएको छ नगरप्रमुख राईले भने, “इलामका अन्य स्थानीय तहको तुलनामा कर्मचारी धेरै देखिए पनि ठूलो क्षेत्रफल भएकाले कर्मचारी अभावले पिरोलेको छ ।” १४ वडा रहेको नगरपालिकाको दुई वडा सचिव छैनन् भने प्रमुख प्रशासनिक कार्यालयका धेरै शाखाका प्रमुख नभएको प्रमुख राईले जानकारी दिए।

उत्तरपूर्वी माइजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय चार जनाले धानेको छ । कूल २१ कर्मचारीे दरबन्दी मुख्य प्रशासनिक कार्यालयमा भए पनि अहिले प्रमुख प्रशासकीय अधिकृत, लेखा, प्रशासन प्रमुख र एक प्राविधिक मात्रै छन् । गाउँपालिकाको छ मध्ये चार वडामा मात्रै सचिव छन् । मुख्य प्रशासनिक कार्यालयका शाखा रित्तै रहेको प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताए। केन्द्र र वडा गरी २९ कर्मचारीको दरबन्दी भए पनि अहिले ११ मात्रै कार्यरत हुँदा काम गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए।

इलाम नगरपालिकाको समस्या उस्तै छ । नगरपालिकामा ४२ कर्मचारी आवश्यक भए पनि अहिले सङ्घीय सरकारबाट खटिएका सात मात्रै कमचारी छन् । पुरानो नगरपालिका भएकाले आन्तरिक स्रोतबाट राखिएका कर्मचारीले काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझीले बताए ।

जिल्लाको पश्चिमी देउमाई नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय र वडा कार्यालय सञ्चालनमा ७० कर्मचारी आवश्यक पर्छ । तर अहिले २२ ले मात्रै काम गरिरहेको र आन्तरिक स्रोतबाट अत्यावश्यक कर्मचारी थप गरी काम गरिरहेको नगरप्रमुख सूर्य पोखरेलले बताए ।

इलाममा १० स्थानीय तह छन् । स्थानीय तह गठन भएपछि तत्कालित जिल्ला विकास समिति, जिल्लाका विषयगत कार्यालय र सङ्घ सरकारबाट कर्मचारी खटाएर काम सञ्चालन गरिएको थियो । निर्वाचनबाट जनप्रतिनिधि आएपछि पूर्णरुपमा स्थानीय तह सञ्चालनका कानून निर्माण भए पनि सेवा दिने कर्मचारी अभाव रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । कर्मचारी कम भएर काम गर्न समस्या परेको गुनासो दिनैपिच्छे स्थानीय तहबाट आउने गरेको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताए ।

स्थानीय तहबाट कर्मचारी चाँडो पठाउन पहल गर्नुपर्यो भनेर माग आउने क्रम बढेको जिल्ला समन्वय समितिका प्रमुख बरालले बताए । “हामीले गुनासा सङ्घको सरकारसँग पुर्‍याउने गरेको र त्यहाँबाट माघ १५ सम्म कर्मचारी व्यवस्थापन गरिसक्ने आश्वासन पाएका छौँ,” उनले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ