arrow

धनगढी उप–महानगरले फोहोर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाउन सकेन

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष १३ शुक्रबार
dhangadi-waist.jpg

धनगढी। एसियाली विकास बैंकको अनुदानमा सुदूरपश्चिम प्रदेशका ४ वटा नगरपालिकामा लागु भएको क्षेत्रीय सहरी विकास आयोजनाले निर्माण गर्ने पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको धनगढीले भने अझै पनि फोहोरमैला व्यवस्थापनका लागि जग्गाको टुङ्गो लगाउन सकेको छैन।

आयोजनाले गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गाको टुङ्गो लगाएको छ। सडक लगायत अन्य पूर्वाधारमा लगानी गर्ने एडिबीले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि स्थान छनोट पहिलो सर्तका रुपमा अगाडि सारेको थियो।

गोदावरी नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रका लागि वडा नम्बर ३ चौकिडाँडास्थित चौकिडाँडा महिला सामुदायिक वनको तीन हेक्टर जमिन छनोट गरिएको नगरपालिकाले जानकारी दिएको छ।

सामुदायिक वन परिसरमा पर्ने नदी किनारको खाली जग्गालाई सदुपयोग गर्दै फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने सहमति वनसँग भएको गोदावारी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले जानकारी दिए। उनका अनुसार गोदावरी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्रको टुङ्गो लागेसँगै अन्य पूर्वाधार विकास  निर्माणका लागि बाटो खुलेको उनले बताए।

फोहोरमैला व्यवस्थापन केन्द्रमा एकीकृत प्रणालीमार्फत फोहोर व्यवस्थापन गरिने क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर अभय भण्डारीले बताए। घरघरबाट फोहोर संङ्कलन गरी कुहिने फोहोरबाट जैविक मल तयार पारिने, सिसाका बोतललाई निर्मलीकरण गरी पुनः प्रयोग योग्य बनाइने  र फोहरलाई मात्रै डम्पिङ गरी व्यवस्थापन गर्ने  इन्जिनियर भण्डारीले बताए। 

त्यसैगरी कार्यालयले  फोहोरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा उपलब्ध गराएको सामुदायिक वनसँग सम्झौता पनि गरेको कार्यालयले जनाएको छ। सामुदायिक वनका अध्यक्ष प्रेमराज भण्डारीले वन क्षेत्र आसपास बसोबास गर्ने उपभोक्तालाई प्राथमिकतामा राखी सडक निर्माण गर्ने र  वन क्षेत्रभित्र पर्ने नदी किनारमा तटबन्धन  निमार्ण गर्ने, सामुदायिक वनका उपभोक्तालाई रोजगारी उपलब्ध गराउने, वन क्षेत्रमा पार्क निर्माण गरी पर्यटक आगमनमा सहयोग गर्ने विषयमा सहमति भएको अध्यक्ष भण्डारीले जानकारी दिए।

क्षेत्रीय सहरी विकास आयोजनाद्वारा सञ्चालन हुने पुर्वाधार विकासका कामले तिब्रता पाउने गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायतले बताइन्। उनका अनुसार  आयोजनाले विभिन्न चार क्षेत्रमा अध्ययन कार्य थालनी गरेको र गोदावरी नगरपालिकाको भवन निर्माण, व्यवस्थित सडक ढल–निकास, फोहोरमैला व्यवस्थान, शुद्ध खानेपानी लगायतका कार्यमा उक्त परियोजनाले काम गर्ने उपमेयर कडायतले  बताईन।

नगरपालिकाको तेघरीमा नगरपालिकाको अत्याधुनिक सुविधा सम्पन्न भवनको नक्साङ्कन कार्य सम्पन्न हुने वित्तीकै भवन निर्माणका कार्यलाई अगाडी बढाएने उनले बताईन्। नगरपालिकाभित्र व्यवस्थित बसोबास, १६ किलोमिटर पक्की सडक, व्यवस्थित नाली निर्माण लगायतका कार्यको अध्ययन पनि सुरु भएको छ।परियोजनाले निर्माण गर्ने सडक नगरपालिकाभित्र १६ मिटर चौडाइका हुनेछन् भने उक्त सडकमा पर्ने करिब २ सय १६ घर भत्काइने छ।

अनुदानमा यस नगरपालिकामा झण्डै १ अर्ब ४ करोडको लगानी रहेको छ। क्षेत्रीय सहरी विकास कार्यक्रम सञ्चालन हुने शुक्लाफाँटा नगरपालिका, भिमदत्त नगरपालिकामा पनि फोहोरमैला व्यवस्थापनका लागि जग्गा छनोटको प्रक्रिया सकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ