arrow

अस्पतालमा रगत अभाव

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
blood-donation.jpg

बेत्रावती । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रकी प्रमुख लक्ष्मी श्रेष्ठले बताइन् ।  

“गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रगत अत्यावश्यक हुन्छ, रगत गर्भवतीका आफन्तले नै खोज्नुपर्ने बाध्यता छ,” उनले भनिन् । श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा सामान्यतया दैनिक १० जनासम्म सुत्केरी हुने गर्छन् । 

अधिकांशको शल्यक्रिया गरी बच्चा जन्माउने गरिएको डा मधुकर दाहालले बताए । “सुत्केरीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गर्न हतारिनु पर्छ, रगत अभावले झन समस्या हुन्छ”, उनले भने । सुत्केरी गराउन आउनेलाई पहिला नै रगतको जोहो गर्न आग्रह गर्ने गरिएको डा दाहाल बताउँछन् । 

दुर्घटनाका घाइतेलाई उपचार गर्न सधैँ रगत अभाव हुने गरेको छ । जिल्ला अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र सञ्चालन गरेको छ ।

केन्द्रले आवश्यक रगत रक्तदान कार्यक्रम तथा दातालाई सम्पर्क गरी सङ्कलन गर्दै आए पनि पछिल्लो समय रक्तदान कार्यक्रम नहँुदा रगत अभाव भएको हो । 

केन्द्र प्रमुख श्रेष्ठका अनुसार हरेक महीना कुन संस्थाले रक्तदान गर्ने, कुन समूहको रगत कुन दाताबाट सङ्कलन गर्ने भनेर तालीका बनाए पनि त्यो कार्यान्वयन नहुँदा रगत अभाव भएको हो ।

केन्द्रसँग भएका एक हजारभन्दा बढी रक्तदाताको सम्पर्क विवरणबाट रगत सङ्कलनका लागि सहजीकरण गरिँदै आएको छ । 

दाताबाट सङ्कलन गरेको रगतलाई रक्त सञ्चार केन्द्रले स्वास्थ्य जाँच तथा परीक्षणका लागि रु ८०० शुल्क लिई उपलब्ध गराउने गरेको छ ।

केन्द्रमा रगत अभाव हुँदा यहाँका बिरामीका लागि नेपाली सेनाको श्रीनाथ गण देवीघाटमा कार्यरत सैनिक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीबाट रगत सङ्कलन गरिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ