arrow

चिकित्सा शिक्षा विधेयकबारे गगन थापाको फरक मतमाथि छलफल हुँदै

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
Parliament_building.png

काठमाडौं । संघीय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकका बारेमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि बुधबार पनि छलफल हुने भएको छ ।
 
गत सोमबार बसेको बैठकमा समितिका सदस्य एवम् कांग्रेस नेता गगनकुमार थापाले उपसमितिको प्रतिवेदनमा राखेको फरक मतमा केन्द्रित भएको थियो ।

विधेयकलाई सहमतिमा टुंग्याउन थप गृहकार्य आवश्यक भएको भन्दै समितिको बैठक बुधबार बस्नेगरी टुंग्याइएको थियो । बैठक बिहान १०ः३० बजे बस्ने तय गरिएको छ । 

लामो समय समिति अन्तर्गतको उपसमितिमा सहमतिका लागि छलफल भए पनि गत आइतबार मत विभाजनको प्रक्रिया अपनाई बहुमतका आधारमा प्रतिवेदन पारित गरी समिति समक्ष प्रस्तुत गरिएको थियो । 

सो क्रममा सत्तापक्षीय सांसदहरूले उपत्यका बाहिर मेडिकल कलेजको सम्बन्धनलगायत विषयमा चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीसित सरकारले गरेको सम्झौताविपरीतको अडान कायम राखेर बहुमतको बलमा प्रतिवेदन पास गर्न खोजेपछि सांसद थापाले फरक मत राखेका छन् । 
 
उनको फरक मतलाई प्रतिवेदनमा फरक मतकै रूपमा राखी समिति समक्ष प्रस्तुत गरिएको छ । उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सोमबार १० भन्दा बढी सांसदले आफ्नो धारणा राखेका थिए । 

सत्तापक्षीय सांसदहरू सरकार र डा केसीबीचको सहमति प्रतिकूल हुने गरी आएको उपसमितिको प्रतिवेदनलाई हुबहु पास गर्ने पक्षमा देखिएका छन् भने थापासहित सत्तापक्षीय ३ सांसदले सरकारले डा केसीसित गरेको सम्झौता र सो सम्झौताका आधारमा नेकपाकै सचेतक देव गुरुङले विधेयकमाथि हालेको संशोधन प्रस्तावअनुरूप पास गर्नुपर्ने पक्षमा छन् ।
 
गगन थापाले राखेको फरक मतमा विधेयकको प्रस्तावनामा माथेमा आयोगको नाम जस्ताको तस्तै राख्नुपर्ने उल्लेख छ । 

त्यसैगरी उपत्यकाबाहिरको हकमा नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन दिने विषयमा अहिलेका विश्वविद्यालयले सम्बन्धन दिन नहुने उनको मत छ । साथै, चिकित्साशिक्षा विश्वविद्यालय खोल्ने कुरा विधेयकमा राखिरहनु नपर्ने मत उनले राखेका छन् ।

त्यसैगरी, १० वर्षपछि सबै मेडिकल कलेज सेवामूलक हुनुपर्ने र यसबीचमा खुल्ने कलेजका हकमा खुलेकै दिनदेखि सेवामूलक हुनुपर्ने व्यवस्था गर्न उनले माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ