arrow

सफल भयो रामपुरको आकाशमा पाराग्लाइडिङ, २०२० मा प्रतियोगिता 

‘चरा जस्तै आकाशमा उडेर रमाइलो गरायो, नसोचेको पनि हुने रैछ’

logo
सीता डोटेल,
प्रकाशित २०७५ माघ १ मंगलबार
paragliding.jpg

पाल्पा । रामपुरमा जारी दोस्रो महोत्सवको अवसर पारेर पहिलो पटक परीक्षणका क्रममा रामपुरको खुला आकाशमा पाराग्लाइडिङ उडाइएको छ । पाल्पाको पुर्व भेगमा नै पहिलो पटक सोमबार पाराग्लाइडिङ उडाइएको नेपालका सफल पाराग्लाइडर सानुबाबु सुनुवारले बताए ।
 
सुनुवारले नेपालका ८ हजारमाथिका हिमाल क्षेत्रमा सहजै पाराग्लाइडिङ उडाएका छन् । गिनिज बुकमा नाम लेखाउन सफल अन्तर्राष्ट्रिय साहसिक व्यक्ति सानुबाबु सुनुवारको नेतृत्वमा १६ पाराग्लाइडिङ उडान सफलतापुर्वक गराइएको छ । 

देशका विभिन्न २६ जिल्लामा पाराग्लाईडिङ उडान गरिसकेको बताउँदै सुनुवारले रामपुर ७ बाहुनडाँडा र निस्दी १ सिलुवा लोस्दीबाट सहजै उडान गर्न सकिने बताए । 

‘आज सफल परिक्षण गरेका छौं’, उनले भने ‘बाहुनडाँडाबाट १ हजार ५० को मिटरबाट उडान गरी कालीगण्डकी भेगमा सहजै घुम्न सकिने छ नयाँ ठाउँको खोजी गरिरहेका छौं’ उनले भने, ‘भौगोलिक हिसाबले अत्यन्तै सम्भावना भएको यहाँका २ ठाउँबाट एकै दिन पाराग्लाईडिङ उडाउन सफल छौ, यहाँको संभावना निकै राम्रो छ ।’

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गरिसकेपछि थापालाई लिएर उडान भरेका सुनुवारले पाल्पाको डाँडाबाट उडेर हिमालका ३ चुचुरा र तराईका फाँट सहजै देख्न सकिएकाले पर्यटकीय संभावनाले भरिएको बताए । 

परिक्षणका क्रममा बाहुनडाँडा र सिलुवा लोस्दीबाट एकै दिन  १६ वटा प्याराग्लाईडिङ्ग उडान गरिएको हो । पहिलो उडान रामपुर बाहुनडाँडाबाट किसानबारी खेलमैदान र लोस्दीबाट उडान गरिएको पाराग्लाइडिङ रामपुर ५ ठुलोटारमा सफल अबतरण गरेको थियो । 

पाराग्लाईडिङको संभावना भएर प्रक्रिया अघि बढाउदा समेत धेरैले हल्ला भनेर उडाउने गर्दथे पाराग्लाइडिङबाट अबतरण गर्दै थापाले भने–अब सफल प्राविधिकले संभावनाको ढोका खोलिसकेको छ, अब हामी नियमित उडानको लागि अगाडी बढ्नेछौं पर्यटक प्रबद्र्धनमा राम्रो भुमिका खेल्दछ । 

पाराग्लाइडिङको हवको रुपमा रामपुरको विकास गर्ने उनको भनाई छ । कलाकारको प्रस्तुतिमा झुमेका दर्शकसामु पाराग्लाइडिङबाट पुष्षवृृष्टि गरेपछि दर्शकहरु घाटी तन्काएर आकाशमा हेरिरहेको देखिन्थे । 

एकैचोटि ३–४ वटा पाराग्लाईडिङबाट मेला स्थलमा पुष्पगुच्छा अर्पण गर्दा रामपुुरका नागरिक दंग देखिन्थे । ‘चरा जस्तै आकाशमा उडेर रमाइलो गरायो, नसोचेको पनि हुने रैछ’ रामपुर ५ का बुद्धिप्रकाश रेग्मीले भने । 

मेलाको चौथो दिन शुरु गरिएको पाराग्लाइडिङमा निशुल्क घुमफिरको व्यवस्था मिलाईएको थियो । कुशल पाराग्लाइडिङ सानुबाबु सुनुवारले आउदो सन् २०२० को कात्तिक महिनामा रामपुरको यही क्षेत्रमा अन्तराष्ट्रिय पाराग्लाईडिङ प्रतियोगिता राख्ने घोषणा गरे  रामपुर उपत्यकाको विकास र चारै तिर पहाडी भुभाग बिचको समथर भागले पाराग्लाईडिङको राम्रो संभावना देखेर नै यहाँ फेरि अन्य देशका पाराग्लाईडिङको जमघट गराउन यो सोच आएको बताए । 

रामपुर क्षेत्रको पर्यटकीय विकासका लागि मेलाको अबसरमा पाराग्लाइडिङ ल्याएको र यसले थप संभावनालाई सहज बनाएको उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ