arrow

पाटन दरवारको भीमसेन मन्दिर पुनःनिर्माणको शुभारम्भ 

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
patan-punanirman.jpg

ललितपुर । ललितपुरको पाटन दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनःनिर्माणको शुभारम्भ भएको छ । भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समाजको क्रियाशीलतामा सोमबारबाट पुनःनिर्माण शुभारम्भ भएको हो । 

पाटन दरवार क्षेत्रको उत्तरी भागमा रहेको उक्त भिमसेन मन्दिर २०७२ साल बैशाख १२ गतेको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको छ । 

पुनःनिर्माणका लागि सोमबार क्षमा पुजा सहित गाईको पुच्छरमा बांधिएको डोरीले भीमसेन मन्दिरको छानाको झिगटी निकालेर मन्दिरको काम नलाग्ने भाग भत्काउन सुरु गरिएको छ । 

भीमसेन मन्दिर पुनः निर्माण सरोकार समितिका संयोजक तथा उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जनले भने, ‘भीमसेनलाई व्यापारीहरुले आरध्यदेवको रुपमा मान्दै पुज्ने गरेका छन् । हाम्रो आरध्यदेवको मन्दिर हामी आफै बनाउँछौं, फेरी हाम्रा पूर्वजहरुले छोडेर गएको सम्पदाको संरक्षण र पुनःनिर्माण गर्नु हाम्रो दायित्व हो। हामी यसलाई पुनःनिर्माण गरेर जोगाएर राख्छौं।’

पाटनका स्थानीय केशवकृष्ण श्रेष्ठ र नारायण कृष्ण श्रेष्ठले वताए अनुसार लिच्छिविकालीन राजा मानदेवको पालमा दोलखाको भीमसेन ललितपुरमा घुम्न आउँदा प्रजाको घरमा बसी प्रजालाई अधिक दर्शन दिँदा भीमसेनलाई पुजा गरेर राखेको र पछि राजालाई यस कुराको जाहेर गरी जग्गाको व्यवस्था गरेर मन्दिर बनाई स्थापना गरी राखिएको थियो ।

पाटन दरवार क्षेत्रमा रहेको ऐतिहासिक महत्वको भीमसेन मन्दिर मल्ल राजा श्री निवास मल्लको पालमा एक तल्ला मात्रै थियो। राजा श्रीनिवास मल्लले माटाका मुर्ति बनाई चित्रकारद्धारा रंगरोगन गराई ३ तल्लाको मन्दिर बनाई नेपाल सम्बत् ८०१ मार्ग शुक्ल षष्ठीका दिन सुनको ५ हजार गजुर राखी ध्वजा पतका समेत चढाएका थिए।

पछि श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले श्री भीमसेनको उग्र रुपको ढलौटको मुर्ति बनाई देशमा हिले जात्रा गरी गण सहित नेपाल सम्वत् ८२१ मा हालको भीमसेन मन्दिर स्थापना गरिएको हो । 

भीमसेन मन्दिर पुनःनिर्माणका लागि ललितपुर महानगरपालिकाले पुरातत्व विभागसंग स्वीकृतिका लागि पहल समेत गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले भीमसेन मन्दिर पुनः निर्माणका लागि ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा सरोकार समाज गठन भएको र सम्पदाको महत्वको संरक्षण गर्दै मन्दिर पुनःनिर्माणका लागि उक्त सरोकार समाजलाई महानगरपालिकाले सक्दो सहयोग गर्ने बताए। 

मेयर महर्जनले भने, ‘यो मन्दिर पुनःनिर्माणले पूर्णता नपाएसम्म हामी समन्वय गर्नेछौं। मन्दिर बनाउने विशेषज्ञले दिएको सुझाव र सल्लाह अनुसार मन्दिरको संरचना मजबुत पार्नका लागि लागि पर्नेछौं।’

केही महिना अगाडि मात्रै विश्व हस्तकला परिषदले पाटन दरवार क्षेत्रलाई विश्वको ३५ औं कला नगरी घोषणा गरेको छ । विश्व सम्पदा सूचीमा रहेको पाटन दरवार क्षेत्रको पुनः निर्माणका लागि ललितपुर महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले अत्यन्तै चासो र चिन्ता व्यक्त गर्दै विभिन्न सरकारी निकायहरुसंग समन्वय, सहकार्य र पहल गर्दै आइरहेका छन् ।  

ललितपुर महानगरपालिकाकै पहलमा उद्योग वाणिज्य संघ ललितपुर र स्थानीय जातीय संघसंस्थाहरु समेतको सहभागितामा ‘भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समाज’ गठन भएको हो । 

पुरातात्विक महत्वको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ललितपुर महानगरपालिका, भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति, उद्योग वाणिज्य संघ, ललितपुर, काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्ट, उपत्यका संरक्षण कोष लगायतका निकायहरुले तत्काल कार्य प्रारम्भ गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई अनुरोध गरेका थिए । 

सोही अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ललितपुर महानगरपालिकाले सिफारिस गरेअनुसार भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समाजमार्फत नै पुनःनिर्माण गर्नका लागि स्वीकृति दिएको छ । 

ललितपुर महानगरपालिकाका मेयर महर्जनले पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणका लागि टेण्डर प्रणालीबाट गर्दा समस्या उत्पन्न हुने र पुरातात्विक इतिहासको संरक्षण हुन नसक्ने उल्लेख गर्दै आएका छन्। मेयर महर्जन भन्छन्, ‘पुरातात्विक महत्वको यस्तो सम्पदा टेण्डरमार्फत निर्माणका लागि दिँदा गुणस्तरहीन हुन्छ।’ 

मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक सहयोग काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टले उपलब्ध गराउने भएको छ । भीमसेन मन्दिर पुनः निर्माणका लागि भारतीय अनुदान सहयोग उपलब्ध हुने भनिएको सो उपलब्ध नभएका कारण अन्यौलमा परेको थियो । 

यसरी सम्पदा क्षेत्रको पुनःनिर्माणमा अन्यौलता देखिंदा स्थानीयहरु सरोकार समाज गठन गरी आर्थिक संकलन गरेरै सम्पदा क्षेत्रको पुनःनिर्माण गर्ने तयारीका साथ उद्योग बाणिज्य संघमा आबद्ध व्यवसायीहरु लागि परेका छन् । 

भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिको पहलमा काठमाण्डौ भ्याली प्रिजर्भेशन ट्रष्टले उपलब्ध गराएको लागत इष्टमेट अनुसार उक्त भीमसेन मन्दिर निर्माण सम्पन्न गर्नका लागि चार करोड ९१ लाख रुपैयाँको लागत लाग्ने अनुमान छ । 

यो लागत मन्दिरको टुप्पोमा राख्ने सुनको गजुर बाहेकको रकम हो । मन्दिर पुनः निर्माणको काम तत्कालै सुरु गर्नका लागि उद्योग बाणिज्य संघ ललितपुरले १० लाख रुपैयाँ छुट्याएर राखेको पनि संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी गराए । 

पुरातात्विक महत्वको सम्पदा क्षेत्रको भीमसेन मन्दिर पुनःनिर्माणका लागि ललितपुर महानगरपालिकाले समेत सक्दो आर्थिक सहयोग जुटाउने प्रतिवद्धता मेयर महर्जनले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ